अब गाडी फिर्ता गरौं : प्रतिपक्ष दलका नेता शाही

सुर्खेत, २३ जेष्ठ ।
नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश सभाको बैठकमा गाडी फिर्ताको प्रस्ताव गरेका छन् । उनले सांसद र मन्त्रीहरुले चढ्दै आएका महँगा गाडी फिर्ता गर्नुपर्ने प्रस्ताव गरेका हुन् । कर्णालीको आर्थिक अवस्था कमजोर रहेको र नागरिकको दयनीय अवस्था रहेकाले आफूले पनि गाडी फिर्ता गर्ने घोषणा गरे ।

बिहीवार प्रदेश सभाको बैठकमा बोल्दै नेता शाहीले कोरोना महामारीमा नागरिक भोक र रोगसँग लडिरहँदा आफूहरुले महँगा गाडी चढ्न नसुहाउँने बताए । साथै उनले महँगा गाडीको साटो आवश्यक भएकाहरुलाई मोटरसाइकल चढ्न र पैदल नै हिँड्नुपर्ने बताए । यसले कर्णालीमा नयाँ सुरुवात र संस्कारको विकास हुने उनको भनाइ छ ।

उनले भने,‘गरिब प्रदेशकाले गाडी चढेको भन्दै आलोचना भयो, यस्तो आलोचना सहेर कहिलेसम्म बस्ने ? बरु अब गाडी नै नचढौं । मन्त्रीलाई भने सस्तो खालका गाडी चढन दिउँ । तर महँगा गाडी कोही पनि प्रयोग नगरौं ।’  उनले संसदीय समितिका अध्यक्षलाई भने अब गाडीको साटो एक÷एक मोटरसाईकल दिनुपर्ने बताए । सोही क्रममा आफूले चढ्ने गाडी फिर्ता गर्ने घोषणा गर्दै नेता शाहीले थपे, ‘जनता भोकभोकै बसेका छन्, यो संसदमा भएको एसी भोलीबाटै झिकौं, पंखा लगाएर बसौं । ती सबै विक्री गरौं । मन्त्रीहरुको सोफामा पनि कार्यविधि बनाऔं । महँगा झिकौं, सस्तो राखौं ।’

यस्तै बिहीवारको बैठकमा विशेष समयमा उठेका प्रश्नहरुको जवाफ दिँदै आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले ग्रिन जोनमा रहेको कर्णाली अहिले उच्च जोखिममा परेको बताए । कमजोर स्वास्थ्य संरचना र जनशक्ति रहेको प्रदेशमा कोरोनाको संक्रमण बढ्दै गएकाले त्यसको रोकथामका लागि सबैका साथ आवश्यक रहेको उल्लेख गरे ।

क्वारेन्टाइनलाई व्यवस्थित गर्न वन्दावन्दीले मापदण्ड पूरा गर्न चुनौती थपिएको मन्त्री भण्डारीले उल्लेख गरे । पालिकाहरुलाई क्वारेन्टाइन व्यवस्थापनका लागि बजेट पठाइसकिएकाले थप बजेट पठाउने तयारी भइरहेको मन्त्री भण्डारीको भनाइ छ । संसदको अर्को बैठक जेठ २८ गते बस्नेछ ।

तपाईको प्रतिक्रिया