कर्णालीका गाउँगाउँमा आइसोलेसन बेड

सुर्खेत, २१ जेष्ठ ।
कोरोना संक्रमितको उपचारका लागि तत्काल एकहजार आइसोलेसन बेड थप गर्न लागिएको छ । संक्रमित बढी देखिएको दैलेख र सुर्खेत लगायत विभिन्न जिल्लामा एकहजार ६० बेड आइसोलेन तयार गर्न लागिएको हो । जसमा सुर्खेतको गुर्भाकोट नगरपालिकाको मेहलकुना अस्पताल ५० बेड, पञ्चपुरी नगरपालिकाको सालकोट प्राथमिक स्वास्थ्य केन्द्रमा ५०, चौकुने गाउँपालिकामा ३० बेड, चिङ्गाड गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा ५० बेड र मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा ५० बेडको आइसोलेसन कक्ष तयार पार्ने निर्णय गरेको छ । त्यस्तै दैलेखको नारायण नगरपालिकाको नारायण क्पाम्पसमा, ठाँटिकाँध गाउँपालिकाको लकान्द्रा प्राथमिक स्वास्थ्य केन्द्र, आठविस नगरपालिकाको राकम कर्णाली स्वास्थ्य चौकी र दुल्लु नगरपालिकाको दुल्लु अस्पतालमा ५०/५० बेडको क्वारेन्टाइन बनाइने छ ।

दैलेखमा यसअघि नै एकसय १२ बेड आइसोलेसन तयारी भइसकेका छन् । सल्यानमा सबैभन्दा बढी संक्रमित देखिएको बनगाडकुपिन्डे नगरपालिका वडा नं १ को देवस्थलमा एकसय बेडको आइसोसन तयार गर्ने निर्णय गरेको छ । बागचौर नगरपालिका नगरपालिका वडा नं. २ मा ५० र कपुरकोटगाउँपालिका वडा नं. ३ मा पनि ५० बेडको आइसोलेसन तयार पारिने भएको हो । सल्यानमा यसअघि जिल्ला अस्पतालमा पनि २४ बेडको आइसोलेन तयारी भइसकेको छ ।

त्यस्तै जाजरकोटको छेडागाड नगरपालिकाको दशेरा स्वास्थ्यचौकी र नलगाड नगरपालिकाको दल्ली प्राथमिक स्वास्थ्य केन्दमा्र ५०/५० बेडको आइसोलेसन तयार पारिने छ । जाजरकोटको जिल्ला अस्पतालमा १२ बेडको आइसोलेन कक्ष तयारी अवस्थामा छ । हालसम्म संक्रमित नभेटिएका कारण त्यहाँको आइसोलेसन बेड खाली छन् ।

त्यस्तै रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा ५० बेडको आइसोलेन तयार पार्ने निर्णय सरकारले गरेको छ । यसअघि रुकुमपश्चिको चौरजहारी सामुदायिक अस्पतालमा ७६ बेडको आइसोलेसन कक्ष तयार भइसकेको छ । कालिकोटको पचालझरण गाउँपालिकाको राम्नाकोट स्वास्थ्य चौकी, नरहरिनाथ गाउँपालिकाको कुमालगाउँ स्वास्थ्य केन्द्र, तिलागुफा नगरपालिका र रास्कोट नगरपालिकामा ५०/५० बेडको आइसोलेसन तयार गर्ने गर्ने निर्णय गरेको छ । जिल्ला अस्पताल कालिकोटमा १५ बेडको आइसोलेसन छ । तर त्यहाँ १८ जना कोरोना संक्रमित बस्दै आएका छन् ।

त्यस्तै जुम्लाको तातोपानी गाउँपालिका र सिंजा गाउँपालिकामा पनि ५०/५० बेडको आइसोलेसन तयार गरिने छ । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान एकसय २० बेडको आइसोलेसन कक्ष तयारी छ । जसमध्ये १९ जना कोरोना संक्रमति उपचारत छन् । प्रदेश सरकारले एकहजार ६० बेडको आइसोलेसन कक्ष थप गर्ने निर्णयसँगै प्रदेशभर झण्डै १५ सयभन्दा बढी आइसोलेसन बेड हुनेछन् । हाल प्रदेशभर विभिन्न स्थानीय तह र जिल्ला अस्पतालमा गरी पाँचसय ५० बेड आइसोलेसन तयारी अवस्थामा छन् ।

कोरोना जटिल विरामीको उपचारका लागि प्रदेश अस्पतालमा २५, कर्णाली स्वास्थ्य विज्ञापन प्रतिष्ठानमा १० र दैलेखमा ५ बेड गरी कुल ४० बेड आइसीयु कक्ष तयारी अवस्थामा छ । त्यस्ते अति जटिल खालका कोरोना संक्रमितहरुको उपचारका लागि प्रदेश अस्पतालमा आठ, जुम्लामा सात र दैलेखमा दुई वटा भेन्टिलेटर कक्ष रहेका छन् ।

तपाईको प्रतिक्रिया