काेराेनाकाे त्रासले समयमा उपचार नपाउँदा मृत्यु

सुर्खेत, १५ जेष्ठ ।
भारतबाट गाउँ फर्कंदै गरेका सुर्खेतको चिङगाड गाउँपालिका–५ का २२ वर्षीय वीरेन्द्र रोकाय बीच बाटोमै अकस्मात विरामी भए । गाउँ फर्कदै गरेका उनलाई बबईमा विरामले च्याप्दै गयो । प्रत्यक्षदर्शी हरिबहादुर खत्रीका अनुसार भारतबाट आएका कारण न उनले एम्बुलेन्स पाए, न त औषधि उपचार नै । सबैले काेराेनाकै अाश‌का गरे तर उनलाइ काेराेना नभएर अर्कै समस्या रहेछ ।

अन्ततः समयमा उपचार नपाएकै कारण उनको मंगलवार राती मृत्यु भयो । ‘मंगलबार राती कर्णाली प्रदेश भित्रने मुख्य नाका बबईमा करिब सात बजे गाडीमा बान्ता गरेका थिए, हामीले गाडीमा बसेर बान्ता आएको होला भनेर वास्ता गरेनौं, पछि भेरी पुलमा आएपछि छटपटाए’, खत्रीले भने, ‘सुब्बाकुना चेकपोष्टमा पुगेर एम्बुलेन्सलाई फोन गर्दा एम्बुलेन्सले मानेनन्, हामीले फोन गर्दा एम्बुलेन्स आउन नमानेपछि चेकपोष्टका असईसापलाई फोन गर्न आग्रह गर्यौं । असई सापले पनि दुइ वटा एम्बुलेन्सलाई फोन गर्नुभयो, इण्डियाबाट आएको भनेपछि एम्बुलेन्स आउनै मानेनन् ।’ प्रहरीले अनुरोध गर्दासमेत एम्बुलेन्स नआएपछि बसले नै प्रदेश अस्पतालसम्म लगिदिएको थियो ।तर अस्पतालमा पनि जाँच नै गर्न नपाई उनको मृत्यु भयो । मृतकका आफन्तले अस्पताल पुरयाएको दुई घण्टापछि बिरामीको मृत्यु भएको जनाएका छन् ।

खत्रीले भने, ‘अस्पताल ल्याएको बेला बिरामीको मुखबाट फिँज आइरहेको थियो, हामीलाई गेटभित्र नै छिर्न दिइएन, पछि स्कुटरमा आएका डाक्टरले छाती छाम्न लगाए र मृत्यु भइसकेको बताए ।’ यद्यपी प्रदेश अस्पतालले भने स्वास्थ्य चेकजाँच गर्नुअघि नै उनको मृत्यु भइसकेको दाबी गरेको छ । कोरोना आशंका गरिएका मृतक विरेन्द्रको रिपोर्ट भने नेगेटिभ आएको छ ।

तपाईको प्रतिक्रिया