क्वारेन्टाईनको क्षमता बढाइने, २४ घण्टा गाडी रोक्ने कार्यको विरोध

सल्यान, ८ जेठ ।
कोरोना भाइरस रोकथाम र नियन्त्रण तथा उपचारलाई अझै प्रभावकारी बनाउन सल्यानको कपुरकोटमा सर्वपक्षिय बैठक सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा जनप्रतिनिधी, राजनितिक दल, उद्योगी, ब्यापारी, सुरक्षाकर्मी, संचारकर्मी, नागरिक समाजका प्रतिनिधीहरुको विचमा वृहत छलफल भएको छ ।

बैठकले कपुरकोट ३ मा संचालनमा रहेको क्वारेनटाईनको क्षमता बढाएर ५० बेडको बनाउने निर्णय गरेको गाउँपालिकाका अध्यक्षको सचिवालयले जनाएको छ । साथै कपुरकोट नाकामा आएर अलपत्र तथा समस्यामा परेका मानिसको ब्यवस्थापनका लागि कालिका मावि कपुरकोटको पुरानो भवनलाई मर्मत गर्ने र यसका लागि जिल्ला प्रशासन कार्यालयसंग समन्वय र सहयोग माग गर्ने निर्णय भएको सचिवालयका नासु शंकर केसीले जानकारि दिए ।

बैठकले पिसिआर विधिबाट कोरोना भाइरस भएनभएको पत्ता लगाउनका लागि चाहिने भिटिएम खरिद गर्ने निर्णय पनि गरेको छ । बैठकमा गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले कोरोना भाइरस विरुद्ध लड्न र संक्रमण भित्रन नदिनका लागि गाउँपालिकाले सबै पक्षसंग समन्वय र सहकार्य गरेर अघि बढ्ने बताएका थिए । नेकपा कपुरकोटका अध्यक्ष घनश्याम शर्मा, नेपालि काग्रेसका सभापति तथा वडा नं. ३ का वडा अध्यक्ष मिन बहादुर सेन, काँग्रेसका दुर्गा गिरी, विष्णु शर्मा, यज्ञ बोहोरा, शिक्षक महासंघ सल्यानका अध्यक्ष मधुसुदन गिरी, प्रहरी चौकी कपुरकोटका इन्चार्ज दत्त बहादुर मल्ल, कपुरकोट बजार ब्यवस्थापन समितिका अध्यक्ष रुपक बुढा, उद्योग वाणिज्य संघ सल्यानका सदस्य कमल घर्ती, पत्रकार सन्तोष घर्ती लगायतले कोरोका संक्रमण रोक्न सचेतना र बजेट सहितको योजना तयार गरी अघि बढ्नुपर्ने बताएका थिए । साथै उनीहरुले अहिले कपुरकोटमा २४ घण्टा सवारी साधन रोकिरहेको हुँदा यसले संक्रमणको जोखिम बढाएको भन्दै यो निर्णय तत्काल हटाउनुपर्ने माग गरेका थिए ।

गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारी, ६ वटै वडाका वडाध्यक्षहरु, स्वास्थ्य शाखा संयोजक अरुण दाहाल, स्वास्थयकर्मी लगाएतले कोरोना विरुद्धको अभियानलाई कसरि प्रभावकारि बनाउन सकिन्छ भन्ने बारेमा आआफ्नो धारणा राखेका थिए । त्यसैविच गाउँपालिकाले कोरोना भित्रन नदिन शिक्षकरुको पनि थप साथ लिने भएको छ । जसका लागि अध्यक्ष सेनले विहिबार शिक्षक संग संगठन, विद्यालयका प्रधानाध्यापकहरुसंग छलफल गर्न लागिएको जनाएका छन् । त्यस्तै कपुरकोटमा किसानहरुले उत्पादन गरेको ताजा तरकारी तथा फलफुललाई कसरी निकासी गर्ने भन्ने सन्दर्भमा शुक्रबार किसान अगुवा, ब्यापारी र सरोकारवालासंग छलफल हुने भएको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया