कर्णालीमा पुँजीगत खर्च १० प्रतिशत मात्रै

सुर्खेत, २६ बैशाख ।
चालू आर्थिक वर्ष सकिन दुई महिना मात्रै बाँकी रहँदा कर्णाली प्रदेश सरकारले विकास बजेट १० प्रतिशत मात्रै खर्च गर्न सकेको छ । सबैभन्दा धेरै बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आर्थिक मामिला तथा योजना मन्त्रालयको विकास खर्च न्यून छ । प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म प्रदेश सरकारले पुँजीगततर्फ ९.६२ प्रतिशत र चालुतर्फ २०.१७ प्रतिशत रकम खर्च गरेको छ ।

प्रदेश सरकारले चालू आवका लागि कुल ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार बजेट ल्याएको थियो । तीमध्ये चार अर्ब ७३ करोड ५४ लाख ७८ हजार रुपैयाँ मात्रै खर्च भएको छ। पुँजीगततर्फको २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार रुपैयाँमध्येबाट दुई अर्ब ६ करोड ७१ लाख ६६ हजार रुपैयाँ र चालुतर्फको १३ अर्ब पाँच करोड ९६ लाख ५३ हजार रुपैयाँमध्ये दुई अर्ब ६३ करोड ४२ लाख १७ हजार रुपैयाँ खर्च गरेको छ ।

सबैभन्दा धेरै विकास बजेट रहेको भौतिक पूर्वाधार मन्त्रालयले जम्मा बजेटको १२.८० प्रतिशत खर्च गरेको छ । भौतिक पूर्वाधारले चालुतर्फ १६ करोड तीन लाख ९८ हजार रुपैयाँ खर्च गरेको छ भने पुँजीगततर्फ एक अर्ब २० करोड ९८ लाख ८६ हजार रुपैयाँ खर्च गरेको छ ।  यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जम्मा बजेटको झन्डै ४२ प्रतिशत बजेट खर्च गरेको छ ।

आन्तरिकले चालुतर्फ २७ करोड ९६ लाख एक हजार खर्च गरेको छ भने पुँजीगततर्फ एक करोड १५ लाख दुई हजार मात्रै खर्चिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चैत मसान्तसम्म पुँजीगततर्फ सात करोड ९७ लाख ४७ हजार रुपैयाँ खर्च गरेको छ भने चालुतर्फ ६ करोड १३ लाख ६२ हजार रुपैयाँ खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले चालुतर्फ तीन करोड ७८ लाख ५३ हजार रुपैयाँ खर्च गरेको छ भने पुँजीगततर्फ जम्मा ३८ लाख ८५ हजार रुपैयाँ मात्रै खर्च गरेको छ ।

उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालु खर्चतर्फ २९ करोड ३८ लाख ७० हजार रुपैयाँ खर्चिएको छ भने पुँजीगततर्फ १३ करोड ८६ लाख ९७ हजार रुपैयाँ खर्च गरेको छ । यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालू आर्थिक वर्षको चैत मसान्तसम्म चालुतर्फ ४० करोड १० लाख ९२ हजार रुपैयाँ खर्च गरेको छ भने पुँजीगततर्फ २० करोड ३१ लाख ११ हजार रुपैयाँ खर्च गरेको छ । (नागरिक अनलाइनबाट साभार)

तपाईको प्रतिक्रिया