काठमाडौं, २१ वैशाख ।
बाँकेको नेपालगञ्जमा ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ६९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ५ पुरुष र ४ महिला छन् । उनीहरु ७ देखि ५८ वर्ष उमेरका छन् ।
१९ वैशाखमा बाँकेका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । शुक्रबार र शनिवार गरी उनको सम्पर्कमा आएका करिब १ सय जनाको स्वाबको नमुनासमेत जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेले संकलन गरेको थियो । मुस्लिम समुदायका ती पुरुष नेपालगञ्जको मस्जिद र मदरसामा नियमित आवतजावत गर्ने व्यक्ति भएको जनाइएको छ । लकडाउनको समयमा पनि उनी नियमित रुपमा मस्जिद र मदरासामा आवत–जावत गर्ने गरेकाले उनीहरुको सम्पर्कमा आएका सबैको खोजी भइरहेको छ ।
त्यसमध्ये ९ जनामा रिपोर्ट पोजेटिभ आएको छ भने अरुको नेगेटिभ आएको छ । उनीहरु सबैलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गरिनेछ । आइतबार नै पर्साको वीरगञ्जमा एक जना संक्रमित भेटिएका थिए । नेपालगञ्ज र वीरगञ्ज गरी आइतबार एकै दिन नेपालमा १० जना कोरोना संक्रमित भेटिएका हुन् । आइतबार थप ९ जनामा संक्रमणको पुष्टि भएपछि नेपालगञ्ज उपमहानगरको वडा नम्बर ८ क्षेत्र सिल गर्ने तयारी गरिएको छ । उनीहरुको सम्पर्कमा आएका अन्य व्यक्तिको पनि खोजी भइरहेको र नमुना संकलन तथा क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
युग संवाददाता । । २१ बैशाख २०७७, आईतवार १७:२६