कर्णालीमा कोरोना रोकथाम : दुर्गममा छैनन् विशेषज्ञ डाक्टर

सुर्खेत, ४ बैशाख ।
कर्णालीमा कोरोना भाइसरको संक्रमण रोक्न विभिन्न प्रयासहरु जारी छन् । प्रदेश सरकार र स्थानीय तहले संक्रमण रोक्ने पूर्वतयारी अपनाइरहँदा दुर्गममा भने औषधि र स्वास्थ्यकर्मीको पीरलो कायमै छ । प्रदेश सरकारले हेलिकोप्टरबाट औषधि बाँडे पनि दुर्गममा स्वास्थ्यकर्मीको अभाव कायमै छ । दुर्गममा पर्याप्त औषधि र विशेषज्ञ डाक्टर उपलब्ध नहुँदा सर्वसाधारण त्रसित बनिरहेका छन् ।

भौगोलिक विकटताका कारण दुर्गममा सामान्य रोगले पनि महामारी लिने गर्दछ । केही वर्षअघि जाजरकोटमा पर्याप्त औषधि र स्वास्थ्यकर्मी नहुँदा महामारी फैलिएको थियो । औषधि र उपचार नपाएरै सामान्य रोगले महामारीको रुप लिने कर्णालीमा यसपाली पनि दुर्गममा आवश्यक औषधि र डाक्टरको व्यवस्थापन हुन सकेको छैन । प्रदेशका हिमाली र दुर्गम जिल्लामा अहिले पनि आवश्यक विशेषज्ञ डाक्टर छैनन् । सदरमुकाममा केही मात्रामा औषधि भए पनि दुर्गममा सामान्य औषधिसमेत नपाउने अवस्था छ ।

सचेतनामुलक कार्यक्रम संचालन गरिए पनि आवश्यक औषधि र डाक्टरको व्यवस्थापनमा प्रदेश र स्थानीय सरकार चुकेका छन् । जसकाकारण संक्रमण फैलिएको खण्डमा दुर्गमका नागरिकले सहजै उपचार पाउने अवस्था छैन । जिल्ला अस्पतालमा केही औषधि उपलब्ध भए पनि दरबन्दी अनुसारका डाक्टर भने छैनन् । बिरामीले सामान्य चेकजाँचमै चित्त बुझाउनुपर्ने बाध्यता छ । डोल्पा अस्पतालमा चारजना विशेषज्ञ डाक्टर र पाँचजना नर्सको दरबन्दी छ । तर हाल यहाँ करारका डाक्टर र दुईजना नर्सले मात्र धानिरहेका छन् ।

मुगुमा पनि पर्याप्त डाक्टर छैनन् । जिल्ला अस्पतालमा चार जना विशेषज्ञसहित १० जना डाक्टरको दरबन्दी छ । तर हाल यहाँ एकजना पनि विशेषज्ञ डाक्टर छैनन् । ‘अन्य ६ जना डाक्टरले काम चलाएका छन्’ जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर निर्मल नगरकोटीले भने,‘ हामीकहाँ एकजना पनि विशेषज्ञ डाक्टर छैनन्, स्टोरमा केही औषधि त छ । तर संक्रमण फैलिएको खण्डमा त्यो पर्याप्त नहुन सक्छ ।’ सदरमुकामा केही औषधि भए पनि गाउँमा बिरामीले सामान्य सिटामोल नपाउने अवस्था छ । कर्णालीका कालिकोट र जाजरकोटमा पनि समस्या उस्तै छ । जिल्ला अस्पताल कालिकोटमा दरबन्दी अनुसारका डाक्टर र स्वास्थ्यकर्मी छैनन् ।

जिल्ला अस्पतालका प्रमुख डाक्टर भिष्म पोख्रेलले भने,‘मौसम परिवर्तन हुँदा दैनिक दुईसयसम्म बिरामी उपचारका लागि आउँछन्, तर हामीसँग दक्ष जनशक्तिको अभाव छ । यहाँ आठजना डाक्टरको दरबन्दी छ, तर एक जनाले मात्रसेवा दिनु परेको छ ।’ उनकाअनुसार तीन जना विशेषज्ञ डाक्टरको दरबन्दी पनि हाल रिक्त छ । यसअघि महामारीले आक्रन्त बन्दै आएको जाजरकोटमा पनि आवश्यक डाक्टर छैनन् । अधिकांश स्वास्थ्य संस्थाहरु करारकै कर्मचारीको भरमा छन् । जिल्ला अस्पतालमा ६५ जना स्वास्थ्यकर्मीको दरबन्दी छ । तर हाल यहाँ १८ जनामात्र कार्यरत छन् । स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामा आवश्यक औषधि पनि उपलब्ध छैन ।

दुर्गममा रहेका स्वास्थ्य संस्थामा औषधि र डाक्टरको कमजोर उपलब्धता भइरहँदा कर्णालीको राजधानीमै रहेको प्रदेश अस्पतालमा पनि जनशक्तिको अभाव छ । वीरेन्द्रनगरमा रहेको प्रदेश अस्पतालमा पनि हाल दरबन्दी अनुसारका डाक्टर र स्वास्थ्यकर्मी उपलब्ध छैनन् । प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले भने,‘अस्पतालमा ५० जना विशेषज्ञ डाक्टरको दरबन्दी छ, तर हाल सात जनामात्र कार्यरत छन् । मेडिकल अधिकृतको दरबन्दी २५ जना हो, तर हाल एकजना मात्र कार्यरत छन् ।’ करारमा भर्ना भएका स्वास्थ्यकर्मीको भरमा उपचार गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

जिल्ला अस्पताल दैलेखमा सात जना विशेषज्ञ डाक्टरको दरबन्दी छ । तर हाल अस्पतालमा एकजना मात्रै डाक्टर निरञ्जन पन्त कार्यरत छन् । पाँच जना मेडिकल अधिकृतको दरबन्दी भए पनि सबै रिक्त छन् । अर्कोतर्फ जिल्ला अस्पतालहरुमा आइसोलेशन कक्ष तयार भए पनि उपकरण र डाक्टर नहुँदा जटिलता पैदा भएको छ । तर प्रदेश सरकारले भने आवश्यक औषधि र स्वास्थ्यकर्मीको व्यवस्थापन गरिने जनाएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रिता भण्डारीले भनिन्,‘दुर्गममा औषधि अभाव हुन नदिन हामी सचेत छौं, केन्द्रबाट पनि औषधि मगाएका छौं । आवश्यक स्वास्थ्यकर्मीको व्यवस्थापनको पहल भइरहेको छ, हामी यो विषयमा गम्भिर छौं ।’

तपाईको प्रतिक्रिया