सम्पादकीय : नाकामा निगरानी

कोरोनाको संक्रमणबाट नेपाल अछुतो रहन सकेन । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाको संक्रमण देशभित्र पनि फैलिएको छ । सुरुमा विदेशबाट आएकाहरुमा मात्र संक्रमण पुष्टी भएको थियो । तर सुदुरपश्चिमको कैलालीमा देशभित्रै पनि संक्रमण भएको छ । यो घटना बाहिर आएसँगै देशभर थप त्रास छाएको छ । स्वदेशभित्र पनि संक्रमण एक व्यक्तिबाट अर्कोमा सरेपछि त्रास बढेको हो । चिकित्सक र विज्ञहरुले पनि अब सुदुरपश्चिम नै कोरोना संक्रमणको केन्द्र हुनसक्ने चेतावनी दिएका छन् । यदी सुदुरपश्चिममा संक्रमण फैलिएको खण्डमा त्यसलाई समयमै नियन्त्रण्मा लिन नसकेमा त्यसको असर कर्णालीमा पनि पर्ने देखिन्छ । सुदुरपश्चिमसँग सिमाना जोडिएका कारण पनि कर्णालीमा संक्रमण भित्रिन सक्ने जोखिम बढी छ । यही त्रास र पूर्वतयारी स्वरुप सुदुरपश्चिमसँग जोडिएका कर्णालीका नाकाहरु बन्द गरिएका छन् । यतिले मात्र पर्याप्त नहुन सक्छ ।

सुदुरपश्चिमसँग सिमाना जोडिएका कर्णालीका सुर्खेत, दैलेख, कालिकोट लगायतका जिल्लामा स्थानीय तहले नाका बन्द गरेका छन् । कर्णाली नदीमाथि रहेका पुलमा स्थानीय तहले ताला नै लगाएका छन् । मानिसहरुको आउजाउ हुने र कोरोनाको संक्रमण भित्रिने जोखिम रहेको भन्दै डुंगा चलाउन पनि रोक लगाइएको छ । कतिपय स्थानीय तहले नाकामा सुरक्षाकर्मी पनि परिचालन गरेका छन् । कालिकोटका केही स्थानीय तहले नाकामा स्थानीय युवाहरु खटाएका छन् । यसले संक्रमण देखा परेको सुदुरपश्चिमबाट मानिसहरुको आवतजावत रोक्नेछ । अर्कोतर्फ लकडाउन र प्रशासनलाई छलेर आउने मानिसहरु पनि अब नाकामा सहज पहुँच पाउने छैनन् । तर पुल र डुंगा बन्द गर्दैमा मानिसहरुको आउजाउ रोकिएला त ? स्थानीय तहले मानिसहरुको आउजाउ रोक्न सक्लान् त ? यो चुनौती भने थपिएको छ । कोरोनाको संक्रमण रोक्ने उक्तम उपाय भनेकै मानिसहरुको सम्पर्क हुन नदिनु नै हो । अर्थात मानिसहरुको आउजाउ र भीडभाड रोक्न सकेमा कोरोनाको संक्रमणबाट जोगिन सकिन्छ । तर पनि मानिसहरु अहिले पनि अटेर गरेर आउजाउ गर्न छाडेका छैनन् । संक्रमण भएको स्थानबाट मानिसहरुलाई भित्रिन नदिनु मुख्य चुनौती हो । यस्तै त्यस्ता शंकास्पदहरुको नजिक नजानु अर्को सावधानी हो ।

संक्रमणबाट जोगिन नाका बन्द गर्नु सकारात्मक हो । तर यसको प्रभावकारीता कतिको हुन्छ भन्नेमा भर पर्दछ । लोकप्रिय निर्णय गरेर मात्र हुँदैन । त्यसलाई कार्यान्वयन पनि गर्न सक्नु पर्दछ । यसका लागि अब बन्द गरिएका नाकामा निगरानी बढाउन आवश्यक छ । नदीमा डुंगा संचालन गरेर पनि मान्छेहरु आउजाउ गर्न सक्छन् । यसको रेखदेख कसले गर्ने ? यसतर्फ पनि सम्वन्धित निकायले बेलैमा सोच्न आवश्यक छ । सुरक्षाकर्मी र युवाहरुले नाकामा निगरानी गर्ने भनिएको छ । त्यसले मात्र प्रभावकारी हुन सक्दैन । यसकारण स्थानीय नागरिकले पनि आफ्नो सुरक्षाका लागि चनाखो हुनुपर्ने बेला आएको छ । बाहिरबाट आउने र बाहिर जान खोज्नेलाई स्थानीयले नै निगरानी गर्न सकेमा यो प्रभावकारी र दिगो हुनसक्छ । यसतर्फ पनि सरोकारवालाहरुको ध्यान जाओस् ।

तपाईको प्रतिक्रिया