वीरेन्द्रनगरमा २ करोडको कोरोना नियन्त्रण, उपचार कोष स्थापना

सुर्खेत, २४ चैत ।
वीरेन्द्रनगर नगर कार्यपालिकाको सोमबार बसेको बैठकले कोरोना संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष स्थापना गर्ने निर्णय गरेको छ । नगरपालिकाको बाणिज्य बैंक सुर्खेत शाखामा रहेको प्रकोप व्यवस्थापन कोषको खाता नम्बर ४०८०३०५०५०००२ मा रहेको रकम कारोबार गर्ने गरी २ करोडको कोष स्थापना गरिएको हो । कोषमा हाल नगर स्तरिय ठुला ४ वटा आयोजनाहरुबाट प्रति योजना ५० लाख कटौती गरी रकमान्तर गरिएको छ ।

हालसम्म बन्दोबस्त गरिएको राहत खाद्यान्नको लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ् (वा अधिकृत विक्रेता) र अन्य पसलहरुमा समेत गरी ९३ लाख २५ हजार खर्च भैसकेको र भुक्तानी हुन बाँकी रहेको जनाइएको छ । नगरक्षेत्र भित्र अत्यावश्यक खाद्य वस्तु बाहेक तरकारी दुध जस्ता पदार्थहरु अन्य पालिकाबाट आयातमा रोक लगाईएको छ । वडा कार्यालयले ब्यवस्थापन गर्ने गरी क्रमशः वडाहरु र टोलहरु लकडाउन गर्न सकिने ब्यवस्था गरिएको जनाइएको छ ।

नगरपालिका अन्तर्गत कोरोना संक्रमण विरुद्धको ब्यवस्थापनमा खटिने कुनै पदाधिकारीलाई कोरोना संक्रमण भएमा निःशुल्क उपचारको ब्यवस्था गर्ने र कुनै कर्मचारीले ज्यान गुमाउनु परेमा आश्रित परिवारलाई १० लाख रुपैयाँ नगरपालिकाले राहत तथा क्षतिपुर्ति दिने निर्णय भएको छ ।

संघीय तथा प्रदेश सरकारका विभिन्न निकायहरुमा प्रत्यक्ष समन्वयमा कार्य गरिएको र दैनिक राहत विवरण, विदेशबाट आएका होम क्वारेन्टाईनमा बसेकाको विवरण लगायतका प्रगति विवरण पठाउने गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका वडा नम्बर १,२,३,४,५,६,७,८,९,१०,११ र १२ का विभिन्न स्थानहरुमा दमकलद्वारा डिस्ईन्फेक्ट छर्ने कार्य भएको छ । दमकल तथा ट्याङ्कर नपुग्ने वडा तथा टोलहरुमा ट्याङ्कीद्वारा छर्कने कार्य सुरु भएको कार्यवाहक प्रमुख मोहनमाया ढकालले जानकारी दिइन ।

विभिन्न वडाहरुमा बसोबास गर्ने अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरु जो लकडाउनको कारणले दैनिक कार्य गर्न नपाउने अवस्थामा रहेका छन् त्यस्ता परिवार मध्ये करिव ६६०० परिवारलाई खाद्यान्न (दाल,चामल,नुन र तेल) वितरण गर्ने तयारी पूरा गरिएको र हाल सम्म विभिन्न टोलहरुका ३९०५ परिवारलाई त्यस्तो राहत वितरण गरिसकिएको कार्यवाहक प्रमुख ढकालको भनाई छ ।

विदेशबाट हालै आएर विभिन्न वडाहरुमा बसोबास गरेका विभिन्न १९२ जना ब्यक्तिहरुको विवरण तयार गरी मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा पठाईएको र विवरण अपडेटको क्रममा रहेको जनाइएको छ ।

नगरका सबै स्वास्थ्य संस्थाहरुमा न्यूनतम् औषधी र पिपिइ पठाईएको छ । फोहोरमैला ब्यवस्थापन कार्य र स्वास्थ्य संस्थाहरु हरेक दिन खुल्ने ब्यवस्था मिलाईएको छ । यस संकटपूर्ण घडीमा अहोरात्र खटिने कर्मचारीहरुलाई उच्च मनोबलकासाथ कार्य गर्न प्रोत्साहन खर्च (स्तर अनुसार प्रतिदिन ६०० देखि ८०० सम्म) को निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत टीकाराम ढकालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया