घर भत्किदा दुईको मृत्यु

डोल्पा : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ मा पर्ने रङ्ग गाउँमा घर भत्किदा एकै घरका दुईको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा १२ वर्षीया मञ्जु बुढा र दुई वर्षीया लक्ष्मी बुढा रहेको प्रहरी चौकी त्रिपुराकोटले जानकारी दिएको छ ।

त्यसैगरी, अन्दाजी ३५ वर्षीया आमा रणमती बुढा गम्भीर घाइते भएकी हुन् । घाइते बुढालाई उपचारका लागि गाउँदेखि दुई घण्टाको दूरीमा रहेको बगर बजारस्थित मनिस मेडिकलमा ल्याइएको छ । घुडाभन्दा मूनि च्यापियर घाइते भएकी उनी बेहोस अवस्थामा रहेको र सलाइन पानी दिएर होसमा ल्याउने प्रयास गरिरहेको मेडिकल सञ्चालक गोरबहादुर बिकले जानकारी दिए ।

उनको बाहिर चोट नदेखिएको र होसखुल्ने सम्भावना रहेको बताउँदै होसमा नआएमा तुरुन्तै अन्य अस्पतालमा रिफर गरिने बिकको भनाइ छ ।  शुक्रबार बिहानदेखि निरन्तर परिरहेको वर्षासँगैको हिमपातका कारण घरको माथिल्लो तलाको गाह्रोमा पानी पसेर बन्दै गरेको दुईतले नयाँ घर भत्किएर घटना घटेको मृतकका आफन्त वीरबहादुर बुढाले बताए ।  घटना गएराति दुई बजे घटेको र बाबु बमबहादुर बुढा र छोरा उपेन्द्र बुढा छुट्टै सुतेकाले बाँचेको आफन्त बुढाले बताए। मृतक दुई छोरीसहित पाँचजनाको संख्यामा रहेको बमबहादुरको परिवार भुइतला बनाउने काम सकेर भर्खरै मात्र नयाँ घरमा सरेको थियो ।

https://www.youtube.com/watch?v=WUVZ0zB6GKU

तपाईको प्रतिक्रिया