कर्णालीमा अन्तर्राष्ट्रिय विमानस्थलको योजना असफल हवाई सेवालाई व्यवस्थित बनाउन प्रादेशिक विमानस्थल

सुर्खेत : सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने चर्चा चलेको झण्डै एक दश बित्यो । वर्षाैको प्रयासपछि २०७३ साल कात्तिकमा भेरीगंगा नगरपालिकामा अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउन सम्भाव्यता अध्ययन पनि सुरु भयो । काठमाडौंस्थित टिएइसी कन्सल्ट्यान्ट, इन्जिनियरिङ एण्ड एजुकेशनल सर्भिसेज र एनोट एण्ड आर्किटेक्टले विमानस्थल निर्माणका लागि भौगर्भिक तथा सम्भाव्यता अध्ययन ग¥र्यो ।

समितिको प्रतिवेदनका आधारमा २०७५ जेठमा तत्कालिन पर्यटन मन्त्री रविन्द्र अधिकारी विमानस्थलको स्थलगत अध्ययन गर्न सुर्खेत आए । कर्णालीको विकासका लागि अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक भएको बताउँदै उनले यहाँका राजनीतिक दल र सरोकारवालासँग छलफल पनि गरे । छलफलपछि कम्तीमा एकसय सिटे जहाज उडान तथा अवतरण गर्न सकिने गरी विमानस्थल बनाउने प्रतिबद्धतासमेत जनाए ।

मन्त्रीको सक्रियता र प्रतिबद्धतापछि सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थल बन्नेमा स्थानीय ढुक्क थिए । तर मन्त्रीको दुःखद निधनपछि विमानस्थल बनाउने सपना पनि तुहिएको छ । संयोगवस यसअघि भेरीगंगा १० मदानेचौरमा विमानस्थल बनाउने योजना पनि असफल भयो । सम्भाव्यता अध्ययन टोलिले अन्तिम समयमा आएर मदानेचौरमा विमानस्थल बनाउन नसकिने निष्कर्णसँगै सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थलको सपना सदाका लागि अन्त्य भएको छ ।

जहाज किन्ने योजना पनि अन्यौलमै

कर्णाली प्रदेश सरकारले आफ्नै एयरलाईन्स सञ्चालन गर्ने योजना ल्याए पनि हाल यो योजना अन्यौलमै छ । दुर्गमका गर्भवती, सुत्केरी र दुर्घटनाका घाइतेलगायतका आपतकालिन उद्दारका लागि सरकारले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा ‘कर्णाली एयरलाईन्स’ सञ्चालन गर्ने योजना सार्वजनिक गरेको थियो ।

तर आर्थिक वर्षको ६ महिना वितिसक्दा पनि एयरलाइन्स सञ्चालनबारे ठोस पहल हुन सकेको छैन । यद्यपी प्रदेश सरकारले भने सार्वजनिक नीजि साझेदारी विधेक संसदबाट पास भएपछि लगानी कर्ता खोजेर एयरलाईन्स सञ्चालन गर्ने जनाएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले संसदबाट विधेक पारित भएपछि लगानी कर्ता खोजेर कर्णाली एयरलाईन्स कम्पनी सञ्चालन गर्न सकिने बताए ।

कर्णालीमा सडकको पहुँच र यातायात सेवा भरपर्दो नभएकोले निजी क्षेत्रसँगको सहकार्यमा एयरलाईन्स सञ्चालन गर्न आवश्यक रहेको उनको भनाइ छ । एयरलाईन्सबाटै नागरिकलाई यातायात सुविधा सहज रुपले दिन सकिने प्रदेश सरकारको योजना भए पनि कार्यान्वयनमा चुनौती छ । निजी क्षेत्र र पूर्वाधार कोषको बजेटबाट जहाज र हेलिकप्टर खरिद गर्ने सरकारको योजना कार्यान्वयन भएमा कर्णाली प्रदेशका विभिन्न जिल्लाका स्थानीयलाई प्रदेश राजधानी आउजाउमा सहज हुने देखिन्छ ।

https://www.youtube.com/watch?v=WUVZ0zB6GKU

विकल्पमा प्रादेशिक विमानस्थल

सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सपना अन्त्य भएपछि यतिखेर प्रादेशिक विमानस्थल बनाउने योजना अघि सारिएको छ । भेरीगंगा नगरपालिका १० र ११ को सिमानामा पर्ने पाण्डोलमा प्रादेशिक विमानस्थल बन्ने भएको हो ।

तीन हजार मिटर रनवय बनाउने गरी विमानस्थलको पूर्वसम्भाव्यता अध्ययनसमेत पुरा भइसकेको छ । प्रादेशिक विमानस्थल निर्माणका लागि चालु आर्थिक वर्षमा थप अध्ययनको काम सुरु गरिने सुर्खेत क्षेत्र नम्बर १ का संघीय सांसद ध्रुवकुमार शाहीले बताए । उनका अनुसार वीरेन्द्रनगर भित्र प्रादेशिक विमानस्थल बनाउनका लागि उपयुक्त स्थान नभएपछि भेरीगंगाको पाण्डोल छनोटमा परेको हो ।

विमानस्थल निर्माणका लागि करिव १२ अर्व खर्च लाग्ने उनको भनाइ छ । विमानस्थल निर्माण गर्न लामो समय लाग्ने बताउँदै सांसद शाहीले कुनै अवरोध नआए यसै वर्षभित्र विमानस्थलको काम पनि सुरु हुने जानकारी दिए । सुर्खेतमा क्षेत्रिय विमानस्थल बनाउनका लागि प्रयास गरेको भन्दै सांसद शाहीले दलहरु एकजुट हुननसक्दा कर्णालीमा दीर्घकालिन विमानस्थल बनाउन नसकिएको बताए ।

कर्णालीको विकासका लागि सुर्खेतमा प्रादेशिक विमानस्थल आवश्यक रहेको उल्लेख गर्दै उनले राजनीतिक दलहरु एकजुट भएको खण्डमा यसै वर्षदेखि विमानस्थलको काम सुरु हुने अपेक्षा व्यक्त गरे । कर्णालीमा प्रादेशिक विमानस्थलका लागि पाण्डोल एक मात्रै उपयुक्त विकल्प भएको उनको दावी छ । दीर्घकालिन रुपमा कर्णालीलाई संघीय राजधानीसँग जोड्न र सुर्खेतबाट कर्णालीका सबै जिल्लामा हवाई उडानका लागि पाण्डोलमा प्रादेशिक विमानस्थल बनाउन सबै राजनीतिक दल एकमत हुनुपर्ने उनको जिकिर छ ।

विस्तारमा ६ करोड

भेरीगंगाको पाण्डोलमा प्रादेशिक विमानस्थल बन्न लामो समय लाग्ने भएपछि तत्कालका लागि सुर्खेत विमानस्थल विस्तार हुने भएको छ । ठुला जहाज उडानका लागि योग्य नभए पनि कर्णालीलाई हवाई सेवा मार्फत संघीय राजधानीसँग जोड्न हालका लागि सुर्खेत विमानस्थललाई काम चलाउ विमानस्थलकै रुपमा विस्तार गरिने भएको हो ।

प्रादेशिक विमानस्थल बनाउन डीपीआर निर्माणदेखि लगानी जुटाउदासम्म अल्पकालिन समस्या समाधानका लागि सुर्खेत विमानस्थल विस्तारको योजना ल्याईएको छ । नेपाल नागरिक उड्डय प्राधिकरणले पनि सुर्खेत विमानस्थल विस्तार गरिने जनाएको छ । प्राधिकरणका सूचनाअधिकारी त्रिलोचन पौड्यालका अनुसार सुर्खेत विमानस्थल विस्तारका लागि ६ करोड बढी रुपैयाँ विनियोजन गरिएको छ ।

विमानस्थलको रडनवय, ट्याक्सीवय र एप्रोन ओभरटेक गर्नको लागि विमानस्थल थप मर्मत गरिने छ । जसका लागि चालु आर्थिक वर्षमा ६ करोड १९ लाख ४६ हजार नौं सय तीन रुपैयाँ विनियोजन गरिएको हो । विमानस्थल विस्तारका लागि आवश्यक प्रक्रिया सुरु गरिसकेको प्राधिकरणले जनाएको छ । तर विमानस्थ विस्तारका लागि सुर्खेत नागरिक उड्डयन प्राधिकरणलाई कुनै पनि जानकारी छैन ।

सुर्खेतका कार्यालय प्रमुख उमेशकुमार पन्थीले विमानस्थल विस्ताका लागि केन्द्रबाट कुनै पनि जानकारी नआएको बताए । ‘विमानस्थल विस्तारको लागि हामिलाई कुनै पनि जानकारी आएको छैन’ प्रमुख पन्थीले भने ‘विमानस्थल विस्तारका लागि प्रदेश सरकारले छलफलका लागि बोलाएको थियो । तर हाल के भइरहेको छ, थाँहा छैन ।’

तपाईको प्रतिक्रिया