१० लाख ५० हजार नगद चोरीको आरोपमा नाबालक पक्राउ

सुर्खेत : १० लाख ५० हजार नगद चोरेको आरोपमा एक नाबालकलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–६ खोक्रेलाईनमा बस्ने नेपाल बार एसोसियसनका अध्यक्ष नन्दराम भण्डारीको घरबाट चोरी गरेको आरोपमा प्रहरीले नाबालकलाई पक्राउ गरेको हो ।

घरमा कोही नभएको अवस्थामा घरको पछाडिको ढोकाबाट भित्र पसेर दराजको लक खोली दराजभित्र रहेको नगद १० लाख ५० हजार रुपैयाँ चोरी गरेको जाहेरीका आधारमा नाबालकलाई पक्राउ गरिएको सुर्खेतका प्रहरी नायब उपरीक्षक (डीएसपी) रवि रावलले बताए । ‘हामीले घटना भएको १२ घण्टाभित्रै शंकास्पद नाबालकलाई गिरफ्तार गर्न सफल भएका छौं,’ डीएसपी रावलले भने, ‘नगद १ लाख २० हजार रुपैयाँसहित नाबालकलाई नियन्त्रणमा लिएका हौं ।

नाबालकले ३ लाख रुपैयाँ आफूले लगेको र अन्य व्यक्तिको पनि संलग्नता रहेको बताएका छन् ।’ चोरीमा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको डीएसपी रावलले बताए । पक्राउ परेका नाबालकको नाम भने प्रहरीले गोप्य राखेको छ । यसैबीच, प्रहरीले झण्डै सात ग्राम लागूऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

‘आइतवार राति साढे १० बजे वीरेन्द्रनगर–११ सुब्बाकुना चेकपोष्टमा सवारीसाधन चेकजाँच गर्ने क्रममा नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको बा ५ ख ५९९४ नम्बरको फोर्स गाडीलाई चेकजाँच गर्दा गाडीको अगाडिको सिसाको तल कालो प्लास्टिकमा बेरेर लुकाइछिपाई राखेको दुई प्याकेट लागूऔषध जस्तो देखिने धुलो फेला पारेको उनले जनाए ।

https://www.youtube.com/watch?v=IYS1rXK9bJA

गाडीमा सवार एक यात्रु, गाडी चालक, सहचालक र फोर्स गाडी समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेका प्रहरीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ । गाडी चालक भेरीगंगा नगरपालिका–१ का सन्देश कसेरा, वीननपा–९ लाटिकोईलीका सहचालक विनोद गुरुङ र सोही स्थानका दिनेश खड्का प्रहरीको नियन्त्रणमा छन् ।

तपाईको प्रतिक्रिया