सुशासनयुक्त नगर हाम्रो अभियान : चन्द्रप्रकाश घर्ती

जाजरकोटको भेरी नगरपालिकामा विकास निर्माणका गतिविधि तीव्र रुपले सञ्चालन भइरहेका छन् । नगरपालिकामा आवश्यक पूर्वाधार विकास गरी समृद्ध नगर निर्माण गर्ने यहाँका जनप्रतिनिधिको योजना छ । नगरपालिकालाई चाँडै विकास गरी नागरिकलाई पनि आर्थिक रुपले आत्मनिर्भर बनाउन सुशासनयुक्त नगर निर्माणमा लागेको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए । प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको साराशं ।

चन्द्रप्रकाश घर्ती मेयर, (भेरी नगरपालिका, जाजरकोट)

तपाइँ निर्वाचित हुनुपूर्व र अहिलेको विकास अवस्थामा के फरक छ ?

म निर्वाचित भएर आउनुपूर्व र अहिलेको नगरपालिकाको विकासे अवस्थालाई तुलना गर्दा धेरै परिवर्तन भएको छ । म निर्वाचित हुदाँ यहाँ शुन्यबाटै काम सुरु गर्नुप¥यो । पहिलको तुलनामा हाल यहाँका जनताको क्षमता विकास तथा सकारात्मक सोचाइमासमेत परिवर्तन आएको छ ।

सोहीअनुसार ऐन कानून तथा नीति निर्माण गर्दै अघि बढेका छांै । भौतिक पुर्वाधारका क्षेत्रमा १३ वटै वडासम्म सडक पु¥याएका छौं । शिक्षा, स्वास्थ्यका क्षेत्रमा पनि आवश्यक भौतिक संरचना निर्माणमा जोड दिएका छौं । खानेपानीको अवस्था सुध्रिएको छ । हरेकवर्ष कार्यक्रम कार्यन्वयनको अवस्थामा पनि सुधार आउँदै गएको छ ।
यसवर्ष चालु आवका कार्यक्रम चैत्र मसान्तमै सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेका छौं ।

योजनामा पारदर्शिता कायम गर्न के कस्ता प्रयास भएका छन् ?

सबैभन्दा पहिले हामी सबैले सुशासनको पालना गर्न जरुरी छ । असल शासकीय पद्धति भनेको पनि सुशासन हो । त्यसैले मैले हरेक योजना तथा कार्यक्रममा पारदर्शिता र सुशासन कायम गर्ने प्रयासको थालनी गरेको छु ।

कानूनको शासन, विकेन्द्रीकरण, पारदर्शिता, उत्तरदायित्व, जनसहभागिता, लैंगिक समता र आधारभूत मानवअधिकारको सिद्धान्त कायम गर्न सुशासनयुक्त नगर निर्माण गर्न खोज्दैछु । जसकारण आफुले तिरेको कर, दस्तुर तथा शुल्क अनि आफ्नो ठाउँको विकासका लागि प्राप्त स्रोत साधनको सही रुपमा उपयोग भयो वा भएन भन्ने कुरा नागरिकले सजिलै पाउने छन् ।

त्यसैले सुशासनयुक्त नगर बनेमा मात्रै दैनिक प्रशासनिक सेवा प्रवाह तथा विकास निर्माण लगायत नगरपालिकाबाट सञ्चालन हुने हरेक क्रियाकलापहरुमा पारदर्शिता कायम हुन्छ । हामीले सकेसम्म हरेक योजनामा पारदर्शिता कायम गर्न खोजेका छौं ।

विकास निर्माणमा उपभोक्ता र ठेकेदारको लापारवाही कत्तिको छ ?

विकास निर्माणमा उपभोक्ता र ठेकेदारको लापरवाही पहिलेको तुलनामा अहिले कम छ । तर पुरै रोकिएको छैन ।  उपभोक्ता समितिमा बस्ने व्यक्तिहरुको पुरातन सोच र प्रवृति कायम छ । उपभोक्ता समितिमा बस्दा काम नगरी खान पाइन्छ भन्ने सोचाइ छ ।

यसले विकास निर्माणका योजनामा असर पुगेको छ । उपभोक्ता समितिमार्फत काम गर्दा बजेटमा पारदर्शि हुन्न भन्ने सोचाइ पनि हट्दै छ । उपभोक्ता समितिका योजनामा अनियमितता र विवादका कारण उनीहरुमाथि पनि आरोप बढ्दै गएको हो ।

यस्तै ठेकेदारले ठेक्का लिएका योजनाहरु समयमै काम नगर्ने, काम गरे पनि स्टेटमेटअनुसार काम नगर्ने, योजना नै अलपत्र छोडिदिने, घटाघट प्रक्रियाबाट निकै घटेर ठेक्का लिने जस्ता कारणले विकास निर्माणमा उपभोक्ता समिति र ठेकेदार उस्तै उस्तै देखिन्छन् । त्यसैले जबसम्म उपभोक्ता समिति र ठेकेदार सच्चिदैनन् तबसम्म तीव्र विकासको पनि अपेक्षा गर्न सकिदैन ।

कृषि र मासुजन्य क्षेत्रमा नगरपालिका आत्मनिर्भर छ त ?

कृषिजन्य वस्तुमा हामी धानमा मात्रै आत्मनिर्भर छैनौं । तरकारी, फलफुल, मकै, गहुँ निर्यात गर्ने अवस्थामा छौं । कृषि क्षेत्रका संम्भावना र अवसरका आधारमा केही नयाँ कार्यक्रम सञ्चालन गरिरहेकोले केही वर्षभित्र हामी कृषिमा पनि आत्मनिर्भर हुन्छौं ।

तर मासुजन्य चिजमा हामी आत्मनिर्भर नै छौं । बोईलर र खसिबोकाको व्यवसायिक पालनले नगरपालिका मासुमा पूर्ण आत्मनिर्भर बन्दै गएको हो । नगरवासी पनि जेमा फाईदा हुन्छ, त्यही व्यवसाय अपनाउन थालेपछि मासु उत्पादन बढेको छ । व्यवसायिक खेतिले युवालाई स्वरोजगार बनाएको छ । त

र कामका लागि भारत छिर्ने युवाहरुको संख्या अझै घटेको छैन । स्थानीय स्तरमा आत्मनिर्भर बन्ने धेरै सम्भावना भए पनि यहाँका सम्भावना नदेखेर काम खोज्दै कालापहाड छिर्नेकोे संख्या घटेको छैन ।

स्वास्थ्य संस्थामा औषधि अभावको समस्या अन्त्य भयो ?

खासै पहिलेजस्तो स्वास्थ्य संस्थामा सिटामोट समेत नपाईने अवस्था छैन । हामीले सिजनल रुपमा आवश्यक पर्ने औषधि र जनशक्ति व्यवस्थापनमा छलफल गरी सोहीअनुसार व्यवस्था गरिरहेका छाै‌ । हामीले कतिपय स्वास्थ्य संस्थाका लागि औषधि आफै खरीद गरेर पनि वितरण गरेका छौं ।

कतिपय स्वास्थ्यचौकीका लागि जिल्ला अस्पतालबाट पनि औषधि भित्रिने गरेको छ । यस्तै प्रदेश सरकारले समेत पटकपटक औषधि उपलब्ध गराउँदै आएको पाईन्छ । कहिलेकाँही कुनै स्वास्थ्यचौकीमा सिटामोलसमेत छैन, भन्ने गुनासो आउँछ । तर यस्तो अवस्था पहिले थियो । अहिले छैन । आगामी दिनमा पनि स्वास्थ्यचौकीमा सिटामोल नै नहुने समस्या आउन दिने छैनौं ।

सबै नगरबासीले विद्युत बाल्न कहिले पाउछन् ?

यसमा हाम्रो पहल जारी छ । हाल १३ वटै वडामा राष्ट्रिय प्रशारण लाईन जोड्न विद्युतका पोल गाड्ने काम भइरहेको छ । त्यस्तै ग्रामीण विद्युत निर्माणमा पनि जुटेका छाैँ ।

केन्द्रिय प्रशारण लाईन विस्तारको काम पनि जारी रहेकाले अबको दुई बर्षभित्र विद्युतयुक्त नगर बन्नेछ । विद्युत नहुदाँ अध्यारोमै बस्नुपर्ने बाध्यता हामी एक÷दुई वर्षमै अन्त्य गर्नेछौं ।

जनप्रतिनिधि र कर्मचारीबिच कत्तिको मनमुटाप हुन्छ ?

यस कुरामा कहिलेकाँही मनमुटाप पनि हुन्छ । भने कहिले सारै मिलेर पनि बस्छाै‌‍‍‍ । तर विकासका हिसाबले राजनिति पुर्वाग्रहभन्दा माथी उठेर काम गर्ने प्रयास गरेका छौं  यो सबैले अनुभव गरेका पनि होलान् । कर्मचारी र जनप्रतिनिधि विकासमा साझा नै छौं ।

जनप्रतिनिधिले काम गर्न सकेनन् भन्ने आरोप छ नी ?

जनताले आरोप लगाउनुभन्दा काम किन भएन र कसरी गर्न सकिन्छ भनेर सकारात्मक सोचाइको विकास गर्नुपर्छ । जानेबुझेकैबाट जनतालाई नगरपालिकामा धेरै बजेट छ, उनीहरु केही गर्दैनन्, तिमिहरुले पाएनौ, भन्ने जस्ता कुरा सुनाई दिदाँ जनताहरुले पनि यथार्थ नबुझेरै बोल्ने बानी बढेको हो ।

जनप्रतिनिधि आफै एक्लैले केही गर्न सक्दैन् । यसका लागि सबै नागरिकको साथ चाहिन्छ । नागरिकले हरेक काममा साथ दिनुपर्छ । आम नागरिक र जनप्रतिनिधिकोबिच नङ मासुको सम्बन्ध कायम राख्यौ भने मात्रै समृद्ध नगर निर्माणका जोड पुग्छ । त्यसैले नागरिकबाट जनप्रतिनिधिले सधै‌ रचनात्मक सुझाव, सल्लाह र सहकार्यको अपेक्षा गरेका छन् ।

अन्तमा, केही भन्न चाहनुहुन्छ ?

विकासका लागि गर्नुपर्ने काम त कहिल्यै अन्त्य हुँदैन । यसमा समय र आवश्यकता अनुसार काम गर्दै जानुपर्छ । पहिलो कुरा नागरिकका आधारभुत आवश्यकतासँग जोडिने सबै क्षेत्रमा सुधार ल्याउने काम जारी रहनेछ ।

स्वास्थ्य, शिक्षा, खानेपानी, विद्युत, यातायात लगायतका क्षेत्रमा आवश्यक पूर्वाधार विकास पहिलो प्राथमिकतामै छन् । तर मेरो कार्यकालमा सुशासनको अभ्यास गरेर सुशासनयुक्त नगर बनाउने छु । जसलेगर्दा पछि आउने जनप्रतिनिधिलाई पनि काम गर्न सहज हुनेछ । नगर विकासका लागि मेरा सकारात्मक गतिविधि म नगर प्रमुख हुदाँ र नहुदाँ पनि जारी राख्नेछु ।

त्यसैले नागरिकले पनि अधिकार माग्नुका साथै कर्तव्य पनि पालना गरिदिउन । सधैं हाम्रो स्थानीय सरकार र जनप्रतिनिधि खराब भनेर मात्रै हुदैन । त्यसैले सोच परीवर्तन गरौ । नागरिकको साथ बटुल्दै नगर विकासमा तत्पर रहने छाैँ ।

तपाईको प्रतिक्रिया