डाक्टर बन्ने सपना थियो तर व्यवसायमै रमाएँ : सैयदअन्वर अली

र्घाखाँचीमा जन्मिएका सैयदअन्वर अलीको सपना डाक्टर बन्ने थियो । उनका बुवा (सफी मियाँ) व्यापार गर्थे । तर छोरालाई त्यही व्यापारबाट जम्मा गरेको रकमबाट डाक्टर पढाउने चाहना थियो । किनकी व्यापारमा आफूले झेलिरहेको दुःख छोराले सम्हाल्न नपरोस् भन्ने चाहना थियो उनका बुवाको । व्यापारबाट राम्रो आम्दानी नभएको ज्ञान सैयदअन्वरले पनि बुझिसकेका थिए । ऋण काढेर पढ्नुभन्दा चाटर्ड एकाउन्ट पढ्ने सपना बुने । उनले आर्जेको ज्ञान आज सुर्खेतका सयौं व्यापारीहरुलाई बाँडिरहेका छन् । नयाँ व्यवसाय गर्दा गर्नुपर्ने तयारीहरु उनले सिकाइरहेका छन् । प्रस्तुत छ, आजको जम्काभेटमा उनीसँग गरिएको कुराकानीको साराशं :
सैयदअन्वर अली प्रवन्ध निर्देशक,
आइडियल सोलुशन एण्ड कन्सल्टेन्ट प्रालि

बुवा जहाँ जान्थे, त्यहीँ पढाइ

अर्घाखाँचीको पाणिनी गाउँपालिका–४ अरभोकामा जन्मिएका सैयदअन्वर अली तीन कक्षासम्म सरस्वती प्राथमिक विद्यालयमा अक्षर चिने । बुवा व्यापारको गर्ने भएकाले उनी पनि बुवासँगै तीन कक्षाको पढाइ सकेर सल्यान आए ।

चार र पाँच कक्षा उनले सल्यानमा पढे । सल्यानमा भनेजस्तो व्यापार नभएपछि दैलेखको चुप्रा उनको परिवार पुग्यो । चुप्राको त्रिवेणि संगम माध्यमिक विद्यालयमा आठ कक्षासम्म पढे । बुवा व्यापारको शिलशिलामा जहाँजहाँ पुग्थे, उनैको साथमा लागेर सैयदले पढ्नुपथ्र्यो । बाँकी १० कक्षासम्मको पढाइ उनले वीरेन्द्रनगरको जन माविमा पूरा गरे ।

उच्च शिक्षाका लागि काठमाडौं हानिदासम्म पनि डाक्टर नै पढ्ने चाहना उनमा थियो । उनले काठमाडौंको खोपो कलेजमा उच्च शिक्षा पढ्दा डाक्टर अध्ययन गर्न लाग्ने खर्च थाहा पाएपछि सदाका लागि डाक्टर बन्ने सपना अन्त्य गरे । भारतको दिल्ली विश्वविद्यालयबाट स्नातक सकेका उनले इन्धिरा गान्धी ओपन विश्वविद्यालयबाट एकाउन्ट विषयमा स्नातकोत्तर पूरा गरे ।

विदेश जाने योजना अधुरै

शालिन स्वभावका सैयदको अर्घाखाँचीदेखी दिल्लीसम्म पुग्दा परिवारलाई आर्थिक बोझ बोकाउनु हुँदैन भन्ने मान्यता थियो । बुवाले गरेको दुःख अनि परिवारमा आमा र चार बाहिनीलाई हेर्नुपर्ने दायित्व उनको बुवाको काँधमा थियो । उनी भारत गएपछि पढ्दापढ्दै लेखासम्वन्धी काम गरेर बाँकी समय पढाइ पूरा गर्थे ।

कमाउँदै पढ्दै गरेका उनी विदेश जाने योजनामा थिए । पढाइ सकिएपछि सन् २०१३ मा उनी सुर्खेत फर्के । सुर्खेतमा बुवाले गरिरहेको फेन्सी व्यवसाय ऋणमा डुवेको थियो । ‘झण्डै ६० लाख ऋण लागेको थियो, यस्तो अवस्थामा विदेश जानु ठिक हुँदैन भन्ने लाग्यो’ सैयदले भने, ‘आर्थिक अवस्थाकै कारण डाक्टर पढ्न सकिन, ऋण लागेको बेला झन् ऋण थपेर विदेश जानुभन्दा व्यवसायलाई सुधार गर्ने उदेश्यले व्यापारमै लागे ।’

आइडियल सोलुशनको जन्म

मास्टर सम्मको पढाइ पूरा गरेपछि उनले नयाँ सोचका साथ सुर्खेतमा नयाँ काम गर्ने निधो गरे । विस्तारै व्यवसायी कारोबार बढ्दै गरेको सुर्खेतमा आइडियल सोलुशन एण्ड कन्सल्टेन्ट प्रालि सञ्चालन गरे । व्यवासय सम्बन्धी परामर्श दिने उदेश्यले खोलेको आइडियल सोलुशन शुरुमा स्थापित हुनै गाह्रो थियो ।

‘व्यवसाय सञ्चालन गर्दा अध्ययन अत्यावश्यक हो’ सैयद भन्छन्, ‘आफूले कुन ठाउँमा कस्तो व्यवसाय गर्ने र त्यसको फिरहस्ती पहिचान नगरेर सञ्चालन गर्दा प्रतिफल पाउन गाह्रो हुन्छ । त्यस्ता समस्याको समाधान गर्न आइडियल सोलुशन सञ्चालन गरे ।’

विगतकैे शैलीमा व्यापार गर्दा कयौं व्यवसायी धरसायी बनेकाले पूर्ववत् अध्ययन गरेर व्यवसाय सञ्चालन गर्दा प्रतिफल राम्रो हुने भएकाले त्यससम्बन्धी परामर्श आइडियलले दिँदै आएको सैयदको भनाइ छ । सुर्खेतमा पहिलो पटक अनलाइन विलिङ भित्र्याउने काम पनि आइडियल सोलुशले गरेको हो । खानेपानी, बत्ती लगायतको विल अनलाइनबाटै भुक्तानी गर्न इसेवाको डिलर सुर्खेतमा पहिलो पटक ल्याएर स्थापित गरेको सैयदले बताए ।

व्यवसायीका सारथी

शुरुमा आइडियल सोलुशन एक्लै सञ्चालनमा ल्याएका सैयदले सन् २०१५ मा दुई जना साथी थपिए । चाटर्ड एकाउन्ट पढेका सैयदले सोमराज थापा र रोशन सवको साथ पाए ।

लेखा तथा करसम्बन्धी परामर्श, कम्पनी दर्ता प्रक्रियासहित व्यापारिक प्रयोजनका सबै काम गर्ने उदेश्यले सञ्चालनमा ल्याएको आइडियलमा मार्केटिङ्ग र फाइनान्स पढेका साथी थपिएपछि गति लियो । ‘तीनै जनाको सोच एउटै भएकाले हामीले गरेको काम सफल भएको छ’ सैयदले भने, ‘नीतिभन्दा पनि सोच एउटै राख्छौं र फिल्ड पनि फरक–फरक भएकाले हाम्रो यो सम्बन्ध कहिल्यै नटुट्ने गरी मजबुत भइसकेको छ ।’

वीरेन्द्रनगरमा वर्षभरी २७ हजारको कारोवार गर्न नसक्ने केही व्यापरीहरुलाई परामर्शपछि २० करोडको कारोवार गरिराखेको बताएका सैयदले थपे, ‘उहाँहरु अहिले झण्डै वार्षिक आठ लाखसम्म कर तिर्नुहुन्छ, हाम्रो सेवाबाट उहाँहरु पूर्ण सन्तुष्ट हुनुहुन्छ ।’ आइडियलले झण्डै पाँचसय व्यापारीहरुलाई परामर्श दिएको छ भने २० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।

गाडीको डिलर संचालन

आइडियल सोलुशन प्रालि राम्रो बन्दै गएपछि सैयदको टिमले सुर्खेतमा गाडी विक्री गर्ने उदेश्यसहित स्वर्णिम विजनेश कन्सर्ट प्रालिको शुरुवात गरेको छ । गत भदौदेखी जापानीज् निसान मोटर्सका गाडीहरु सुर्खेतमा भित्र्याएको छ । सैयदको टिमले गरेको अध्ययनबाट सुर्खेतमा कार किन्नेहरु थोरै छन् । तर पनि विस्तारै यसप्रति आकर्षण बढ्न सक्ने आँकलन गर्दै शुरुवात गरेको हो ।

वीरेन्द्रनगरको एयरपोर्ट चौकमा कर्णालीकै आधिकारीक डिलर सञ्चालनमा छ । ‘सबै खाले रोडमा गाडीहरु चलाउन मिल्ने खालका नयाँ मोडल गाडीहरु भित्र्याएका छौं’ सैयद भन्छन्, ‘एकसय वर्ष पुरानो गाडी कम्पनी जापानी हो, उसले तयार गरेको हरेक गाडीहरु कम्तीमा २० वर्ष इन्जिन खोल्न नपर्ने भएकाले पनि त्यहीँ कम्पनीको सोरुम सुर्खेतमा भित्र्याएका हौं ।’

राज्यको कर नीतिप्रति सैयद सन्तुष्ट छैनन् । ठूला करदातालाई बनाएको नीतिले साना व्यवसायीलाई निकै समस्या बनाएको उनको तर्क छ । गाडीको तेब्बर कर तिर्दातिर्र्दा पनि बैंकले फाइनान्सको सुविधा दिन छाडेकोमा उनको दुखेसो छ ।

आगामी योजना

साथी र घरपरिवारको पूर्ण समर्थन पाएका सैयदले सैद्धान्तिकभन्दा प्रयोगात्मक ज्ञान बाँड्ने योजनामा छन् । सुर्खेतमै बढीभन्दा बढी रोजगारी दिने उदेश्यले नयाँ सीप र ज्ञान सहितको प्राविधिक शिक्षा सञ्चालनको तयारीमा रहेको उनी बताउँछन् । प्राविधिक शिक्षाले मानिसहरु वेरोजगार नहुने भन्दै उनले सुर्खेतमा यसबारे आफूहरुले अनुसन्धान गरिरहेको बताए ।

तपाईको प्रतिक्रिया