युवालाई विकास निर्माणमा जोड्दै स्थानीय सरकार

स्थानीय सरकार गठन भएपछि कर्णालीका स्थानीय तहले युवाहरुलाई स्वरोजगार बनाउन थालेका छन् । सार्वजनिक विकास निर्माणमा खटाएर युवालाई रोजगारी उपलब्ध गराउने स्थानीय तहबीच प्रतिस्पर्धा नै छ । स्वरोजगार कार्यक्रम अन्तर्गत स्थानीले गाउँमै काम पाएका छन् । यसले विगतमा कामका लागि भारत जानेहरु हिजोआज गाउँमै रोकिएका छन् ।

 

सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ११ रामघाटका रंगे सार्की विहान पाँच बजे नै उठ्छन् । सात बजे नै घरधन्दा सक्छन् । आठ नबज्दै उनी गंैटी र कोदालो काँधमा बोकेर घरबाट निस्कन्छन् । झण्डै १२ बजेसम्म नगरपभित्र भत्किएका सडक र बाटो मर्मत गर्छन् । फोहोर र माटोले पुरिएका सडकका नालाहरु पनि सफा गर्छन् ।

१२ बजेपछि खाना खान घरपुग्छन् । तर एक नबज्दै उनी पुनः काममे फर्किन्छन् । करिव पाँच बजेसम्म काममै व्यस्त हुन्छन् । भोलीपल्ट पुनः उसैगरी उनको दिनचर्या सुरु गर्छन् । विगतका वर्षमा उनी रोजगारीका लागि भारतका विभिन्न सहरमा भौंतारिन्थे । तर अचेल उनी घरमै परिवारसँग बसेर रोजगारीमा व्यस्त छन् । ‘नगरपालिकाले रोजगारी दिएपछि कालापहाड जाने बाटो बन्द भयो’ सार्की भन्छन्, ‘आँगनमै रोजगारी पाएपछि घरधन्दा भ्याउन र पैसा कमाउन सजिलो भएको छ ।’

सार्की मात्रै होइन, उनका दौतरीहरुले पनि हिजोआज गाउँमै रोजगारी पाएका छन् । ‘पहिला पुरुषले मात्रै सडकको काम गर्न सक्छन् भन्थे, तर नगरपालिकाले महिलाहरुलाई पनि रोजगारी दियो’ भेरीगंगा–११ रामघाटकी धनसरा कामी भन्छन्, ‘गाउँकै दाजुभाईसँग काम गर्छौं, ज्यालामा पनि विभेद गरिएको छैन ।’ रंगे र धनसरा मात्रै होइन, भेरीगंगा ११ का आठ जनाले आउँदो असारसम्मका लागि रोजगारी पाएका छन् ।

भेरीगंगा नगरपालिकाका इन्जिनियर विजयकुमार खत्रीले उनीहरुलाई स्वरोजगार बनाउन नगरपालिकाले काम दिएको बताए । भेरीगंगाको राताचौरदेखि रामघाटसम्म र वडा नम्बर ३ बाट ४ नम्बर वडासम्म जोड्ने सडकको मर्मत र नालाहरुको सरसफाइका लागि उनीहरुलाई खटाइएको छ । त्यस्तै यो नगरपालिकाले चालु आर्थिक वर्ष भित्रमै विकास निर्माणमा युवाहरुलाई खटाउने जनाएको छ ।

स्थानीय सरकार गठन भएपछि कर्णालीका स्थानीय तहले युवाहरुलाई स्वरोजगार बनाउन थालेका छन् । विभिन्न सार्वजनिक काममा खटाएर युवालाई रोजगार उपलब्ध गराउने स्थानीय तहबिच प्रतिस्पर्धा नै छ । स्थानीय तहको स्वरोजगार कार्यक्रम अन्तर्गत स्थानीले गाउँमै काम पाएका छन् । यसले विगतमा कामका लागि भारत जानेहरु हिजोआज गाउँमै रोकिएका छन् । स्थानीय तहले नै विकास कार्यदल र निर्माण कार्यदल गठन गरेर युवाहरुलाई विकास निर्माणमा लगाइरहेका छन् । यसबापत उनीहरुलाई तलव पनि उपलब्ध गराइन्छ् । यसले एकारित स्थानीयले रोजगारी पाएका छन् भने अर्कोतर्फ गाउँमा विकास पनि भइरहेको छ ।

४७ जना युवालाई रोजगारी

सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले युवाहरुलाई गाउँमै रोजगारी दिएको छ । नगरभित्रका विभिन्न पाँच वटा सडकको मर्मतसुधाका लागि ४७ जना युवालाई रोजगारी दिइएको नगरप्रमुख गोविन्दकुमार पुनले जानकारी दिए ।

‘¥यावथ्री आयोजनाबाट पूर्वाधारको बजेटले ४७ जनालाई रोजगारी दिएका छौंँ’ नगरप्रमुख पुन भन्छन्, ‘आयोजनाबाट एकातिर युवाले गाउँमै रोजगारी पाएका छन् भने अर्काेतर्फ सडकको मर्मत सुधार भएको छ ।’ काममा खटाउन नगरले फरक–फरक सडक तोकिदिएको छ ।

नगरले सल्लीबजार–बामे–औलवेसी सडक, नाथेखोला–जामुने–बाँझकोट सडक, सालचौर–निगालचुला सडक, सल्लिवजार–आँपखोली–मैदुपोखरी कृषि सडक र बालुवासँग्रही–बावियाचौर–जामिरे सडक खण्डको मर्मत तथा सुधारमा युवाहरुलाई खटाएको हो ।

यस्तै दैलेखको चामुन्डाविन्द्रासैनी नगरपालिकाले पनि पाँच सय युवालाई रोजगारी दिने तयारी तयारी गरेको छ । विभिन्न रोजगारमूलक कार्यक्रम र विकास निर्माणमा सहभागी गराउने नगरपालिकाले जनाएको छ । चालु आर्थिक वर्षभित्रमा पाँचसय युवालाई रोजगारी दिनेगरी कार्यविधि तयार पारेको जनाइएको छ ।

मेयर रोजगार कार्यक्रम

जुम्लाको चन्दननाथ गाउँपालिकाले युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न मेयर रोजगार कार्यक्रम सुरु गरेको छ । नगरपालिकाले युवाहरुलाई स्वरोजगार बनाउन एकसय युवाहरुलाई मोटरसाइकल मर्मत तालिम सुरु गरेको छ ।

‘युवाहरुलाई स्वरोजगार बनाउन ६ महिना मोटरसाइकल मर्मत तालिम सुरु गरेका छौँ’ प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम देवकोटाले भने, ‘तालिम पश्चात युवाहरु आफैले व्यवसाय सुरु गर्नुपर्नेछ ।’ प्रत्येक वडाबाट दश जना युवाहरु छनौट गरेर तालिम दिइरहेको छ ।

कात्र्तिकबाट सुरु भएको तालिम चैत्र मसान्तसम्म सकिनेछ । तालिम लिएका युवाहरुलाई सीटीएभीटीएले योग्यताको प्रमाणपत्रसमेत उपलब्ध गराउने छ । उनीहरुले तालिमपछि अनिवार्य रुपमा व्यवसाय गर्ने नगरपालिकाको भनाइ छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले पनि महिलाहरुलाई उद्यमी बनाउन विभिन्न तालिमहरु प्रदान गरिरहेको छ ।

गाउँमै रोजगार बैंक

दैलेखको भगवतीमाई गाउँपालिकाले पनि एकसय ४० जना युवालाई गाउँमै रोजगारी दिएको छ । रोजगार बैंक स्थापना गरी प्रत्येक वडामा २० जना युवालाई रोजगारी दिएको हो । रोजगारमा जोडिएका युवाहरुले दैनिक ज्यालादारीमा पारिश्रमिक पाउँदै आएका छन् ।

युवाहरुलाई विकास निर्माणमा सहभागी गराउने र विदेश पलायन हुनबाट रोक्ने उद्देश्यले रोजगार बैंकबाट युवाहरुलाई रोजगारी दिइएको गाउँपालिकाका उपाध्यक्ष चन्द्र रेग्मीले जानकारी दिइन् । ‘चालु आर्थिक वर्षमा एक करोड ५० लाख बजेटमा युवा रोजगार कार्यक्रम सुरु गरेका हौं’ रेग्मी भन्छिन्, ‘उपभोक्ता समिति र डोजर प्रयोग गरेर हुने ठेक्का पट्टा रोकिएका छन् ।’

सात वटा वडा रहेको गाउँपालिमा उपभोक्ता समितिबाट हुने सम्पूर्ण कामहरु युवाहरुले गर्दै आएका छन् । ‘प्रत्येक वडाका २० जना युवामध्ये एक जनालाई टोली नेता बनाएका छौँ, काम सम्पन्न भएपछि अनुगमन गरेर भुक्तानी दिन्छौँ’ उपाध्यक्ष रेग्मी थप्छिन्, ‘युवाहरुले गौरव गर्न लायक काम गरेका छन्, यो कार्यक्रमले अर्काे वर्षपनि निरन्तरता पाउँछ ।’ डोजर विस्थापित गर्दै युवालाई गाउँमै रोजगारी दिन कार्यक्रम सुरु गरिएको उनको भनाइ छ । युवाहरुलाई विकास निर्माणमा सहभागी गराउँदा दु्रत गतिमा काम सम्पन्न हुने गाउँपालिकाको अपेक्षा छ ।

तपाईको प्रतिक्रिया