नगरलाई शैक्षिक हवको रुपमा विकास गर्दैछौं मेयर : गोर्खबहादुर केसी

नगरपालिका नै भए पनि विकासको गति विस्तारै अगाडि बढ्दै छ । कर्णाली प्रदेशको रुकुमपश्चिमस्थित आठविसकोट नगरपालिका । जिल्लाकै नमूना नगर निर्माण गर्ने अभियानमा यहाँका जनप्रतिनिधिहरु छन् । भौतिक विकास निर्माण र सामाजिक सुधारमार्फत नगरलाई समृद्ध बनाइने जनप्रतिनिधिको भनाइ छ । निर्वाचित भएपछि हालसम्म जनप्रतिनिधिले के काम गरे ? काम गर्दा कस्ता चुनौती आइलागे ? अबको योजना के छ ? यही विषयमा केन्द्रीत रहेर हामीले मेयर गोर्खबहादुर केसीसँग कुराकानी गरेका छौं । प्रस्तुत छ, कुराकानीको शासांस :
गोर्खबहादुर केसी
(मेयर, आठविसकोट नगरपालिका)

साढे दुई वर्षको अवधिमा के के काम गर्नुभयो नी ?

हामी निर्वाचित भएको अब बैशाखमा तीन वर्ष पुग्दैछ । पहिलो वर्षमा हामी केही अलमलमा परेका थियौं । काम गर्ने इच्छा भए पनि कानुनी जटिलता र अनुभवको कमीले काममा तीव्रता दिन सकेनौं । तर विस्तारै कामले गति लिएको छ । हामीले विकास निर्माणलाई तीव्रता दिएका छौं । शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, कृषि, उधोग, सरसफाइ तथा वातावरण संरक्षणमा काम गरेका छौं ।

नगरभित्र सडक विस्तारको काम भइरहेको छ । पहिले ६ वटा वडामा सडक पुगेको थिएन । अहिले सबै वडामा सडक पुगेको छ । हामीसँग कोल र पानी घट्ट बाहेक अरु उधोग नै थिएनन् । अब प्लाइउडदेखि साबुन र गार्मेन्टसम्मका १० वटा आधारभूत उधोगहरु सञ्चालनमा आउँदैछन् । यसरी एउटा दुर्गम र पिछडिएको नगरपालिका बेजोड विकासको गतिमा छ ।

नगरको शैक्षिक विकासमा कस्ता काम भइरहेका छन् त ?

हामी आउनुभन्दा पहिला शिक्षाको अवस्था कमजोर थियो । विद्यार्थीको उपस्थिति हुने दर बर्षमा एक सय १३ दिन र उतिर्णदर दुई प्रतिशत मात्रै थियो । अहिले यसको दर बढेको छ । विद्यालयका भौतिक संरचनासमेत निर्माण गरेका छौं । यस्तै गुणस्तरीय शिक्षा प्रदान गर्न करारमा शिक्षक पनि भर्ना गरेका छौं ।

विद्यालय मर्ज अभियान जारी छ । हामी आफैले स्थापनाका लागि अनुमति दिएको नमूना माध्यामिक विद्यालयका विद्यार्थी यसवर्ष पहिलो पटक एसइइमा सहभागि हँुदैछन् । समग्रमा नगरमा शिक्षाको भौतिक विकास र शैक्षिक गुणस्तर बढाउने प्रयासहरु जारी छन् । नगरलाई शैक्षिक हवको रुपमा विकास गर्ने छौं ।

नगरभित्र स्वास्थ्य क्षेत्रको सुधारका लागि के गर्दै हुनुहुन्छ ?

हनगरपालिकामा अहिले स्वास्थ्य सेवालाई प्रभावकारी र गुणस्तर बनाउन लागि परेका छौं । विगतमा पाँच वटा स्वास्थ्य चौकीले मात्रै स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने बाध्यता थियो । अहिले हामीसँग २० वटा स्वास्थ्य संस्था र एउटा २५ शैयाको नगर अस्पतालसमेत छ । यस्तै विद्युतको समस्यालेसमेत स्वास्थ्य सेवा प्रवाहमा समस्या परेपछि आगामी दसैंसम्म नगरपालिकामा विधुत ल्याउँदैछाै‌ँ ।

यहाँहरुले प्राथमिकता दिएका योजनाहरु के के छन् ?

नगरको मुख्य प्राथमिकतामा शिक्षाको गुणस्तर वृद्धि नै हो । त्यसैले शिक्षामा धेरै लगानी पनि गरेका छौं ।  शिक्षाको विकासले नै नगरको समृद्धिमा टेवा पुग्ने अपेक्षा गरेका छौं । यस्तै स्वास्थ्य, कृषि र सडक पूर्वाधार विकासलाई पनि प्राथमिकता दिएका छाैँ । नगर विकासका लागि आवश्यक योजना बनाउँदा सबै जनप्रतिनिधिको सल्लाह हुन्छ । त्यही अनुसार अरु आवश्यक योजनामा पनि हामी काम गर्दै जानेछौं ।

नगरको विकासमा दाताहरुसँग कतिको समन्वय हुन्छ ?

हाम्रो क्षमताले मात्र नगरलाई समृद्ध बनाउन सकिने अवस्था छैन । हामीसँग स्रोत सिमित मात्र हुन्छ । त्यसकारण पनि दाताहरुको सहयोग आवश्यक हुन्छ । यही मान्यता अनुसार हामीले चिनसँग समझ्दारी गरेका छौं । नगरको विकासका लागि चिनसँग सहकार्य गर्ने पहल भएको छ । हामीले चिनसँग शिक्षा क्षेत्रमा मिलेर काम गर्न चाहेका छौं ।
जसका लागि सुरुमा एउटा विद्यालयको पूर्वाधार बनाउँदै छौं । शिक्षकहरुको तालिम र स्वयंमसेवक शिक्षकहरुको आदानप्रदान गरी चिनीयाँ टोलीसँग शैक्षिक क्षेत्रको विकासका लागि सहकार्य गर्न खोजेका हाैँ ।

जनतासँग गरेको बाचाहरु कति पूरा भए त ?

हामीले निर्वाचनको बेलामा जनतासँग धेरै बाचा गरेका छौं । ति बाचा अनुसार काम पनि भइरहेका छन् । कतिपय काम र योजना कार्यान्वयनकै चरणमा छन् । ति पूरा गर्ने तयारीमा छन् । काम विस्तारै हुँदैछन् । भौतिक विकासको काम भनेको विस्तारै हुने हो ।

बाचा अनुसार विस्तारै उपलब्ध स्रोेत साधनले भ्याएसम्म काम गरिरहेका छौं । जनताले सहजै घरदैलोमा नै सेवा पाएका छन् । बिरामी पर्दा गाउँमै एम्बुलेन्स पुग्छ ।
पीडितले न्यायिक समितिमार्फत न्याय पाउन थालेका छन् ।

जनप्रतिनिधिहरु जनतासँग विस्तारै टाढा हुँदै गएको आरोप छ नी ?

सबै आरोप सत्य हुँदैनन् । अन्य तहमा के भएको छ, त्यो मैले जवाफ दिन सक्दैन । तर मेरो हकमा म जनताकै बिचमा छु । उहाँहरुका गुनासा र अपेक्षाहरु सुनिरहेको छु । निरन्तर नगरकै विकासमा क्रियाशील छु । नगरकै विकासका लागि प्रदेश र संघीय सरकारका निकायमा धाइरहेको छु ।

यसलाई नगरमा बस्दैन वा जनताबाट टाढा गएको भन्न मिल्दैन । नगर विकासका लागि बाहिर जादाँ कार्यालयमै बस्नुपर्छ भन्ने छैन । जनप्रतिनिधि र जनताले यो कुरा बुझ्नुपर्छ । नीति निर्माण, निर्णय, अनुगमन जस्ता कार्यमा जनप्रतिनिधि र कर्मचारीबिचको समन्वय भइरहेको छ ।

अन्तमा, केही भन्न चाहनुहुन्छ ?

काम गर्दा चुनौती धेरै आएका छन् । हामी तिनलाई पन्छाउँदै अगाडी बढिरहेका छौं । बजेट र दक्ष जनशक्तिको अभावले काममा समस्या भएका छन् । विशेष गरी चुनौतीको रुपमा रहेको सार्वजनिक यातायात क्षेत्र हो । यसलाई पनि व्यवस्थित बनाउँदै छौ ।

बजेट र जनशक्तिले भ्यायसम्म अबको मेरो बाँकी रहेको कार्यकालमा समृद्ध नगर निर्माणकै योजनाहरु कार्यान्वयन गर्नेछु । कृषिमा आत्मनिर्भर नगर बनाउने सपना छ । त्यसका लागि अहिल बढी मेहनतका साथ लगानी जुटाउँदैछौ । नगरको समग्र विकासका लागि नगरबासीको पनि साथ चाहिन्छ । नगरको नेतृत्व एक्लैले मात्र सबै प्रयास सफल हुन सक्दैनन् । सबैको साथ र सहयोगको पनि अपेक्षा गरेका छौं ।

तपाईको प्रतिक्रिया