सम्पादकीय : पीडितलाई न्याय देऊ

सडक विकासको पहिलो आधार हो । एक हिसावलेभन्दा सडकले नै विकासका मुलहरु फुटाउँछन् । सडककै कारण गाउँको उत्पादन शहरमा पुग्छ । सडक पुगेपछि नागरिकको दैनिकी पनि सहज र सरल बन्छ ।

गाउँमा सडक पुगेसँगै नागरिकहरु सहजताका लागि यातायातका साधान प्रयोग गर्दछन् । तर हिजोआज यही सडक र सवारी साधान मृत्युको कारण बन्न थालेको छ । बढ्दो सहरीकरण र असावधानीले दिनप्रतिदिन दुर्घटना बढीरहेको छ । दुर्घटनाले कति नागरिक अंगभङ भएका छन् त कति मृत्युको मुखमा पुगेका छन् ।

उसो त सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले चेकजाँचमा कढाई गर्दै आएका छन् । तर पनि दुर्घटना न्यूनिकरण भएका छैनन् । साँघुरो सडक र चालकको लाप्रवाहीले अधिकाँस दुर्घटना भएका छन् । मोटरसाइकलदेखि विकास निर्माणमा प्रयोग गरिने ठूला सवारीसाधानको दुर्घटना नभएको दिन नै छैन ।

यस्तै सवारी दुर्घटना मध्ये पछिल्लो समय टिप्परले देशभर आतंकको रुप लिन थालेको छ । टिप्परले मंगलबारमात्रै वीरेन्द्रनगरमा भयानक घटना घट्यो । निर्माण सामग्री लिएर मंगलगढीचौकतर्फ आइरहेकोे भे १ ख २२४२ नम्बरको टिप्पर भे ६ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कदर दिँदा महावै गाउँपालिका– ३ सिमखेत केशवबहादुर सिंहको घटनास्थलमै मृत्यु भयो ।

सिंहको मृत्युपछि उनका आफन्त र स्थानीयले बजार बन्द गराए । चालकलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै दिनभर प्रदर्शन गरे । क्षतिपूर्ति नपाएसम्म शव नउठाउने अगाड लिए । तर प्रशासनले बल प्रयोग गरेर शवलाई प्रदेश अस्पतालको शववाहान कक्षमा पु¥यो । जबरजस्ती शव उठाएको भन्दै पीडितपक्षले आन्दोलनको आँधीभेरी सिर्जना गरे । ठाउँठाउँमा सार्वजनिक संचरनाहरुमा तोडफोड भयो ।

आन्दोलनले उग्र रुप लिन थालेपछि प्रशासनले कफ्र्यू लगायो । बिहीबारसम्म पनि पीडितका माग पुरा भएनन् । मृतकका आफन्तहरुले दोषीलाई कारबाही र पीडितलाई उचित क्षतिपूर्ति नपाएसम्म आन्दोलन चारी राख्ने बताउँदै आएका छन् । प्रशासनले पीडितका मागहरुलाई सम्बोधन गर्न नसकेको भन्दै आज सुर्खेतमा यातायात बन्दको आव्हान गरिएको छ । दुर्घटना आफैमा दुःखद विषय हो ।

तर दुर्घटनापछिको हिंसाले थप क्षति पु¥याउनु हुैदन । मृतकका आफन्तहरुले क्षतिपूर्तिको माग राख्दै गरिने आन्दोलन गर्नु एक हिसावले स्वाभावित छ । किनकी आन्दोलन नगर्दासम्म मागको सुनुवाई नगर्ने परम्परानै बनिसकेको छ । आन्दोलनकारी पनि थप घटना हुन नदिन सचेत हुनु पर्दछ । यस्तो समयमा प्रशासनले उचित निर्णय लिन पर्दछ । किनकी घटनापछि हुने हिंसात्मक द्वन्दले कसैलाई फाइदा पुग्दैन ।

कलिलै उमेरमा आफन्त गुमाउँदा आफन्तहरु शोकमा छन् । यो बेला सबैको ध्यान पीडितलाई न्याय दिलाउनुमा केन्द्रीत हुनुपर्छ । पीडितको घाउमा मलमपट्टी लगाउने गरी प्रशासन र पीडतक लचिलो बन्नुपर्छ । समग्रमा थप घटना हुन नदिन बेलैमा पीडितका मागहरुलाई सम्बोधन गरौं । कानून अनुसार मृतकका आफन्तहरुलाई क्षतिपूर्ति देऊ । दोषीलाई कानूनी कारबाही गर र पीडितलाई न्याय देऊ ।

तपाईको प्रतिक्रिया