खेलकुद सामाजिक एकता र सम्भावनाको आधार हो : मन्त्री भण्डारी

गाेल्डेन बुढा
जुम्ला ,२२ बैशाख ।
कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कर्णाली प्रदेशमा खेलकुद क्षेत्रको सम्भावना अत्यन्तै उज्ज्वल रहेको बताएका छन्। उनले खेलकुदलाई मनोरञ्जन वा प्रतिस्पर्धाको माध्यम मात्र नभई सामाजिक एकता, अनुशासन, व्यक्तित्व विकास र समुदायबीचको सम्बन्ध विस्तार गर्ने प्रभावकारी साधनका रूपमा व्याख्या गरे।जुम्लाको हिमा गाउँपालिका–३ स्थित ओदी गाउँमा आयोजना गरिएको १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको औपचारिक उद्घाटन गर्दै मन्त्री भण्डारीले कर्णालीका युवाहरूमा रहेको प्राकृतिक प्रतिभा, क्षमता र मेहनतले उनीहरूलाई राष्ट्रिय तथा अन्तरप्रदेशीय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने विश्वास व्यक्त गरे।

उनले खेलाडीहरूलाई आत्मविश्वास, अनुशासन र निरन्तर अभ्यासमार्फत उच्च स्तरको प्रदर्शन गर्न आग्रह गरे।मन्त्री भण्डारीले कर्णालीका खेलाडीहरूमा प्रतिस्पर्धात्मक क्षमता पर्याप्त रहेको उल्लेख गर्दै राज्यले खेल पूर्वाधार विकासमा अझै ठोस लगानी बढाउनुपर्ने आवश्यकता औँल्याए। “खेलकुदले व्यक्तिको मात्र होइन, समाजकै सोच परिवर्तन गर्छ,” भन्दै उनले खेल क्षेत्रलाई समृद्ध कर्णाली निर्माणको महत्वपूर्ण आधारका रूपमा लिनुपर्ने धारणा राखे।उनले युवाहरूलाई विदेश पलायनको मानसिकताबाट बाहिर निस्केर आफ्नै देशभित्र उपलब्ध अवसर पहिचान गर्न आग्रह गरे। उत्पादन, खेलकुद, कृषि तथा उद्यमशीलतामा जोड दिएर स्थानीय स्तरमै भविष्य निर्माण गर्न सकिने उनको भनाइ थियो।

जुम्लाबाट छनोट हुने टोलीले कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै गौरवपूर्ण प्रदर्शन गर्ने विश्वास पनि उनले व्यक्त गरे।कार्यक्रममा हिमा गाउँपालिकाका अध्यक्ष तथा राष्ट्रिय गाउँपालिका महासंघका केन्द्रीय उपाध्यक्ष लक्ष्मणबहादुर शाहीले प्रतियोगितामा सहभागी खेलाडीहरूलाई प्रतिस्पर्धालाई मर्यादित, अनुशासित र मैत्रीपूर्ण बनाउन आग्रह गरे। उनले खेलकुद विकासका लागि आवश्यक पूर्वाधार,विशेषगरी खेलमैदान, सडक सञ्जाल र आधारभूत सुविधामा प्रदेश तथा संघीय सरकारको ध्यान अझै केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याए।यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले खेलकुदलाई स्वास्थ्य, मानसिक विकास र राष्ट्र निर्माणसँग प्रत्यक्ष जोडिएको क्षेत्रका रूपमा व्याख्या गरे। उनले विद्यार्थीहरूलाई परम्परागत पेशा मात्र होइन, खेलाडी, उद्यमी तथा कृषक बन्ने दिशामा पनि सोच विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए।त्यसैगरी, हिमा गाउँपालिकाकी उपाध्यक्ष सुर्पुना शाहीले प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई शुभकामना दिँदै यस प्रकारका कार्यक्रमले उनीहरूको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्। यता जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख कबिदत्त न्यौपानेले खेलकुद विकास बिना समग्र सामाजिक तथा आर्थिक विकास सम्भव नहुने उल्लेख गर्दै खेललाई राष्ट्रिय पहिचान र प्रतिष्ठासँग जोडिएको क्षेत्रका रूपमा चित्रण गरे।हिमा गाउँपालिकाको ओदी गाउँमा सुरु भएको उक्त जिल्ला स्तरीय प्रतियोगितामा जुम्लाका आठ स्थानीय तहमध्ये ६ स्थानीय तहको सहभागिता रहेको छ। गुठीचौर गाउँपालिका र चन्दननाथ नगरपालिकाले यस वर्षको प्रतियोगितामा सहभागिता जनाएका छैनन्। जुम्लामा एक नगरपालिका र सात गाउँपालिका छन्।






