सम्पादकीय : चाडपर्व लक्षित सुरक्षामा ध्यान देऊ !
दशैँको चहलपहल सुरु भएसँगै बजारमा चाडपर्व लक्षित किनमेल गर्नेहरुको घुइचो लाग्न थालेको छ । कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतको वीरेन्द्रनगरका मुख्य बजारमा दशैँ–तिहार लगायतका चाडपर्वका लागि किनमेल गर्नेहरुको चहलपहल बढेको छ । बजारमा किनमेल गर्नेहरुको संख्या बढेपछि व्यवसायी पनि उत्साहित छन् । प्रदेश राजधानी भएकाले पनि वीरेन्द्रनगरमा बाह्य जिल्लाका नागरिकको बसोबास धेरै छ । यतिमात्र होइन वीरेन्द्रनगर भित्रने र बाहिरिने यात्रुबाहक सवारीहरुको चहल पहलसमेत बढेको छ । अहिले वीरेन्द्रनगरबाट दैनिक जसो सयौंको संख्यामा यात्रुबाहक सवारीहरु भित्रिने र बाहिरिनेक्रम बढ्दो छ । वीरेन्द्रनगरमा अध्ययन, रोजगारी, व्यापार, व्यवसायका लागि बसोवास गर्नेहरु धमाधम घर फर्किन थालेका छन् । त्यतिकै संख्यामा कर्णाली प्रदेश बाहिरिएकाहरु भित्रिने क्रम पनि बढ्दो छ । चाडपर्व सुरु भएसँगै सुरक्षा चुनौतीसमेत थपिएका छन् । चाडपर्व मनाउन घर फर्किनेहरु बाटोमा लुटिने, चोरी, हुने, ठगिने तथा सडक दुर्घटनमा पर्ने जोखिम उत्तिकै छ । क्षमताभन्दा बढी यात्रु बोक्ने, चालकको लापरवाही र अधिकांश सडकहरु मापदण्ड अनुसारका नहुँदा वर्षेनी कर्णालीमा सडक दुर्घटनामा ठुलो धनजनको क्षति हुने गरेको छ ।
यस तथ्यलाई मध्यनजर गर्दै सुरक्षा निकायले विशेष योजना बनाएर अघि बढ्न आवश्यक छ । चाडपर्वका समयमा हुने विभिन्न खाले अपराधिक तथा अवान्छित गतिविधि रोक्न प्रशासन मात्र नभई आम नागरिक पनि सचेत रहनु पर्दछ । घटना घटेपछि सक्रियता बढाउने नभई घटना घट्नै नदिनतर्फ सुरक्षा निकाय चनाखो हुनुपर्दछ । यस्तो बेलामा यात्रुको भिडभाड हुने भएकाले यातायात व्ययसायीले पैसा कमाउने मात्र नभई सडक सुरक्षाको विषयलाई पहिलो प्राथमिकतामा राख्नु पर्दछ । उनीहरुलाई बिना झन्भट गन्तव्यमा पुर्याई दुर्घटनारहित दसैँ बनाउन यातायात व्यवसायीको भूमिका महत्वपूर्ण छ । विगतका वर्षहरुका कर्णालीमा भएका सडक दुर्घटनाको मुख्य कारण क्षमताभन्दा बढी यात्रु बोक्नुले भएको देखिन्छ । चाडपर्वका समयमा क्षमताभन्दा बढी यात्रु बोक्ने, यात्रुलाई हैरानी दिने, मर्मत नगरिएका सवारी साधन चलाउने, चालकको लापरवाही जस्ता कार्यहरु हुन नदिन स्वयम यातायात व्यवसायी र सुरक्षा निकायले विशेष ध्यान दिन आवश्यक छ । यसमा यात्रु स्वयम पनि सचेत रहन जरुरी छ । चाडपर्वका समयमा बजारमा हुन सक्ने सम्भावित कालोबजारी नियन्त्रण गर्न नियामक निकायले अनुगमनमा सक्रियता बढाउनु पर्छ । आपसी सद्भाव र एकताका प्रतिकका रुपमा मनाइने चाडपर्वहरुमा हर्षोउल्लासमय वातावरण सिर्जना गराउन तपाई हामी सबैको साझा दायित्व हो ।





