राजापुरमा मानव बेचबिखन विरुद्ध शिक्षक, अभिभावक र बालबालिकालाई अभिमुखीकरण

८, भदौ २०८२
बर्दिया ।बर्दियाको राजापुरमा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र बालक्लबका बालबालिकालाई लक्षित गरी मानव बेचबिखन विरुद्ध अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत राजापुर–३ स्थित जनचेतना माध्यमिक विद्यालय मंगलपुरमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा सहभागीलाई बाल अधिकार, बाल संरक्षण, समावेशी सिकाइ वातावरण निर्माण तथा मानव बेचबिखनविरुद्ध सचेतना सम्बन्धी जानकारी दिइएको थियो। बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीका अनुसार विद्यालय समुदायलाई सचेत र संवेदनशील बनाउँदै बालमैत्री, सुरक्षित र समावेशी सिकाइ वातावरण निर्माणका साथै मानव बेचबिखनजस्ता अपराध रोकथाममा सामूहिक प्रतिबद्धता जगाउनु कार्यक्रमको उद्देश्य रहेको छ।
सुरक्षा परियोजनाका कार्यक्रम संयोजक इश्वर बिकले बालबालिकाको मौलिक अधिकार, विद्यालयमा बाल संरक्षणका आधारहरू, समावेशी सिकाइको आवश्यकता तथा मानव बेचबिखन रोकथामका उपायबारे जानकारी गराउँदै कार्यक्रमको सहजीकरण गर्नुभयो। कार्यक्रम परियोजनाकी फिल्ड सुपरभाइजर प्रमिषा थारुले सञ्चालन गर्नुभएको थियो।
विद्यालयका निमित्त प्रधानाध्यापक सुबास खत्रीले विद्यालयलाई बालमैत्री, सुरक्षित र समावेशी बनाउनका लागि निरन्तर प्रयास भइरहेको उल्लेख गर्दै विद्यालयले बाल संरक्षण नीति तयार गरी कार्यान्वयन गरिरहेको तथा गुनासो सुनुवाई कार्यविधि अनुसार पनि काम भइरहेको जानकारी दिनुभयो।
यसरी अभिमुखीकरणमार्फत विद्यालय समुदायलाई सचेत बनाउनु मानव बेचबिखन रोकथाम र बाल संरक्षणमा महत्वपूर्ण कदम मानिएको छ।






