धानमा मल अभाव, बाँकेका किसान रातभर लाइनमै बस्न बाध्य

बाँके ,५ भदौं ।
धान खेतीको मुख्य समयमा बाँकेमा रासायनिक मलको चरम अभाव भएपछि किसानहरू सहकारी धाउँदै रातभर लाइनमै बस्न बाध्य भएका छन् । कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत बाँकेमा मल आपूर्ति हुँदै आएको भए पनि किसानको मागअनुसार आपूर्ति नहुँदा समस्या गहिरिएको हो ।
कृषि सामग्री कम्पनीका अनुसार गत आर्थिक वर्षमा करिब ८ हजार २४ मेट्रिक टन युरिया, डीएपी र पोटास बिक्री भएपनि चालु आर्थिक वर्षको साउन महिनामा जम्मा ६०० मेट्रिक टन मात्र वितरण भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख पुष्पराज श्रेष्ठले मागको आधा मात्र आपूर्ति भएकाले वितरणमा समस्या देखिएको बताए। उनका अनुसार थप मल भदौ दोस्रो साताभित्र आउनेछ ।
यता साल्ट ट्रेडिङ नेपालगञ्जले करिब ७ हजार बोरा मल ल्याएर सहकारीमार्फत वितरण गरेको भए पनि सहकारीहरूले पाएको परिमाण मागको २०–३० प्रतिशत मात्र भएको गुनासो गरेका छन् । कान्तिपोखरी कृषि सहकारीका अध्यक्ष रमजार अली इद्रीसीका अनुसार किसानलाई आवश्यक परिमाण धान्न नसक्दा असन्तोष बढेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका वडा अध्यक्ष दीपककुमार बर्माले विगतमा भारतबाट पनि मल ल्याउने गरिएको तर यस वर्ष भारतीय पक्षले नाकामा कडाई गर्दा थप अभाव भएको बताए । केही पालिकाले विकल्पका रुपमा निजी कम्पनीमार्फत मल वितरण थाले पनि पर्याप्त हुन सकेको छैन । धानमा मल हाल्ने उपयुक्त समय सकिन लाग्दा आवश्यक मल नपाएको किसानको गुनासो बढ्दै गएको छ ।






