सम्पादकीय : दोषीलाई कानुनी दायरामा ल्याउ !

जिल्ला प्रहरी कार्यालय सुर्खेतले जेन–जी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नमाथी एक्सन लिन सुरु गरेको छ । भदौ २३ र २४ गते सुर्खेत जिल्लाका विभिन्न स्थानमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आमसर्वसाधारणमा त्रास सिर्जना हुने किसिमका अन्य विविध घटनाहरुसँग सम्बन्धित तस्विर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरु उपलब्ध गराउन सुर्खेत प्रहरीले अनुरोध गरेको छ । इमेलमार्फत यस्ता गतिविधिमा संलग्नहरुको सुराक प्रहरीलाई दिन सकिन्छ ।

निजी तथा सार्वजनिक सम्पत्तिमाथी तोडफोड, आगजनी र लुटपाट मच्चाउनेहरुलाई कानूनी दायरामा ल्याएर कसुरअनुसार कारवाही हुने प्रहरीले जनाएको छ । सामाजिक सञ्जाल बन्द तथा भ्रष्टाचार र अनियमिताको विरुद्धमा जेन–जीहरूले २३ भदौदेखि थालेको आन्दोलनमा सरकारले अत्याधिक बल प्रयोग गरेर सोही दिन १९ जनाको मृत्यु भएको थियो । त्यसको बदला लिन दोस्रो दिन (२३ भदौं) सडकमा उत्रिएको जेन–जी समूहले कर्णालीका महत्वपूर्ण सरकारी निकायका दस्तावेजहरू ध्वस्त बनाएको थियो । यसका साथै विभिन्न सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको निजी सम्पत्तिमा पनि अराजक युवाहरुको हुलले व्यापक क्षतिसँगै लुटपाट गरेको थियो । आन्दोलनका नाममा अराजक युवाहरुको हुलले सार्वजनिक तथा निजी सम्पत्तिमा क्षतिसँगै गरेको लुटपाटको घटना कुनै पनि हालतमा छम्य छैन ।
यसरी छानीछानी सेवा प्रवाहका दृष्टिकोणले महत्वपूर्ण सरकारी निकाय र व्यक्तिका घरलाई निशाना बनाएर लुटिनु निन्दनिय कार्य हो । व्यक्तिगत रिसवीका कारण आगजनी गर्ने र गर्न उक्साउने व्यक्तिहरु तत्काल कानूनी दायरामा आउनु पर्दछ । सुर्खेत प्रहरीले घटना भएको एक सातामा संलग्नहरुको सुराक उपलब्ध गराउन गरेको आग्रहले अराजकतामा रमाउनेहरु कानुनी दायरामा आउने आशा पलाएको छ । तर, प्रहरीले भोलीका दिनमा यस विषयलाई कत्तिको चासोको रुपमा लिन्छ, त्यो हेर्न भने बाँकी छ । जेन–जी आन्दोलनका क्रममा रक्षात्मक बनेको सुरक्षा निकायकै कारण वीरेन्द्रनगरमा यो तहको घटना पहिलो पटक घटेको हो ।
सुरुवाती चरणबाटै नियन्त्रणमा लिन सकिने भिडबाट भागेको सुरक्षा निकायका कारण राज्यले मात्र होइन आमनागरिकले समेत ठुलो क्षति व्यहोर्नु परेको छ । सार्वजनिक तथा निजी सम्पत्तिको सुरक्षा गर्नु प्रहरीको पहिलो दायित्व हुनुपर्ने हो । तर, जेन–जी आन्दोलनका क्रममा सुरक्षा निकाय यसबाट पूर्णरुपमा बिमुख बनेको छ । यसले नागरिक तहमा प्रहरीको भूमिकाप्रति सङ्का उत्पन्न गराएको छ । यसको समिक्षा इतिहाँसले गर्दै गर्ला तत्कालका लागि जेन–जी आन्दोलनका नाममा लुट मच्चाउनमा संलग्न मतियारहरुलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गर्नु पर्दछ । अर्को महत्वपूर्ण विषय जेन–जी आन्दोलनबाट पाठ सिकेर प्रहरीले आफुलाई नागरिकको जिउधनको सुरक्षामा केन्द्रित गराउन आवश्यक छ । प्रहरीप्रति नागरिकको ठुलो भरोसा छ ।

यसर्थ, अपराधिक गविधिमा संलग्नको तत्काल खोजी गरी कानूनी दायरामा ल्याएमात्रै प्रहरीप्रतिको विश्वसनियता थप बढ्ने छ । अराजकतामा रमाउन खोज्नेहरुलाई बेलैमा सबक सिकाउन सके मात्रै नागरिकले कानूनी राज्यको अनुभुति गर्न पाउने छन् । यसमा हामी सबैले प्रहरीलाई सहयोग गर्न आवश्यक छ ।

सम्पादकीय : दोषीलाई कानुनी दायरामा ल्याउ !

दाङमा सात सय ३० हेक्टरमा व्यावसायिक केराखेती

Leave a comment

Your email address will not be published. Required fields are marked *