किन लगाउने पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एचपीभी खोप ?

सुर्खेतमा २५ हजार बढी किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एचपीभी (हृयुमन प्यापुलोना भाइरस) खोप लगाइने भएको छ । जिल्लाका नौ वटै स्थानीय तहमा विद्यालय जाने र नजाने नौ देखि १४ वर्षका किशोरीहरुलाई उक्त खोप लगाउन लागिएको हो । जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार सुर्खेतका नौ वटा स्थानीय तहका २५ हजार पाँच सय १७ किशोरीहरु खोप अभियानमा समावेश हुनेछन् ।

जसमा २४ हजार नौ सय ७५ विद्यालय जाने छात्रा र पाँच सय ५७ जना विद्यालय बाहिर रहेका किशोरी रहेका छन् । उक्त खोप अभियान आगामी २२ माघदेखि ६ फागुनसम्म सञ्चालन हुनेछ । महिलाहरूको पाठेघरको मुखमा हुने क्यान्सरको रोकथाम गरी मृत्युदर घटाउने उद्देश्यले खोप अभियान सञ्चालन गर्न लागिएको जनाइएको छ ।

विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने ११ देखि १४ वर्षसम्मका किशोरीहरूलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एचपीभी खोप लगाउन लागिएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले जानकारी दिए ।

गौतमका अनुसार पहिलो चरण २२ माघबाट वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, लेकवेशी नगरपालिका, बराहताला गाउँपालिकामा खोप अभियान सुरु हुनेछ । यस्तै, दोस्रो चरण अन्तर्गत २७ माघबाट चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका, सिम्ता गाउँपालिका र गुर्भाकोट नगरपालिकामा खोप अभियान सञ्चालन हुने गौतमले बताए । पहिलो पटक अभियानका रुपमाकिशोरीहरुलाई खोप लगाउन लागिएको जनाउँदै गौतमले यसपछि नियमितरुपमै खोप सेवा सञ्चालन हुने बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार खोप अभियानमार्फत गुर्भाकोट नगरपालिकाका ४२ विद्यालयमा रहने खोप केन्द्रबाट तीन हजार पाँच जना किशोरीहरुलाई खोप लगाइने छ । पञ्चपुरी नगरपालिका १८ विद्यालय र १० अन्य खोप केन्द्रमार्फत दुई हजार दुई सय ६ जना किशोरीले खोप सेवा प्राप्त गर्नेछन् । यस्तै, भेरीगंगा नगरपालिकाका ४४ विद्यालयमा रहने खोप केन्द्रबाटदुई हजार आठ सय ५८, लेकवेशी नगरपालिकाका २८ विद्यालयका खोप केन्द्रबाट एक हजार सात सय ४९, वीरेन्द्रनगर नगरपालिकाका ६७ विद्यालयका केन्द्रबाट दश हजार सात सय १३ किशोरीलाई खोप लगाइने कार्यालय प्रमुख गौतमले बताए ।

चिङ्गाड गाउँपालिका १७ विद्यालय र चार अन्य खोप केन्द्रमार्फत नौसय आठ, चौकुने गाउँपालिकाका २० विद्यालय र ११ अन्य खोप केन्द्रबाट एक हजार दुई सय ८२, बराहताल गाउँपालिकाका ३९ विद्यालयका खोप केन्द्रबाट एक हजार तीन सय ९८, सिम्ता गाउँपालिकाका १७ विद्यालय र १० अन्य खोप केन्द्रमार्फत एक हजार तीन सय ९८ जना किशोरीहरुलाई खोप लगाइने जनाइएको छ ।

त्यस्तै, खोपअभियान अन्तर्गत कर्णाली प्रदेशभरकाएक लाख २० हजार किशोरीलाई खोप लगाइने छ । खोप अभियानअन्तर्गत मुगुका चार हजार तीन सय ७९ किशोरीलाई एचपीभी खोप लगाइने छ । त्यस्तै, डोल्पा दुई हजार ६ सय ४१, हुम्लाका तीन हजार सात सय ३६, जुम्लाका आठ हजार आठ सय २९, कालीकोटका ११ हजार ९ सय २३, रुकुम पश्चिमका १२ हजार एक सय ६, सल्यानका १४ हजार पाँच सय १३, सुर्खेतका २५ हजार पाँच सय १७, जाजरकोटका १५ हजार पाँच सय ९२ र दैलेखका १८ हजार ९१ जना किशोरीलाई पाठेघरमा हुने क्यान्सर रोगविरुद्धको खोप लगाउन लागिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका सूचना अधिकारी नवराज कँडेलले जानकारी दिए ।

किन लगाउने खोप?
एचपीभी यौन सम्पर्कबाट फैलने संक्रमण हो । प्रायः सबै यौनजन्य क्रियाकलापमा सक्रिय व्यक्तिहरु कुनै न कुनै समयमा यो भाइरसबाट सक्रमित हुन्छ्न, तर अधिकांशमा कुनै पनि लक्षण देखा नपर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।नेपालमा हरेक वर्ष दुई हजार एक सय ६९ जना महिलालाई पाठेघरको मुखमा क्यान्सर हुने गरेको अनुमान छ ।

हरेक वर्ष एक हजार तीन सय १३ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको सरकारी तथ्यांक छ । जसमा औसतमा प्रत्येक दिन चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने सरकारी अनुमान छ ।पाठेघरको मुखको क्यान्सरको मुख्य कारण एचपीभी भाइरसको संक्रमण हुनु हो । एचपीभी भाइरस दुई सयभन्दा धेरै प्रजातिका हुन्छन् । तर, मानव शरीरमा क्यान्सर गराउने प्रजाति १२ प्रकारका हुने स्वास्थ्यकर्मीहरू बताउँछन् ।
ती प्रजातिहरू १६, १८, ३१, ३३, ३५, ३९, ४५, ५१ ५२, ५६, ५८ र ५९ हुन् । यीमध्ये सबैभन्दा बढी जोखिम १६ र १८ प्रजातिको हुने गरेको छ । नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर १६ र १८ प्रजातिबाट हुने गरेको कर्णाली प्रदेश अस्पताल सुर्खेतका स्त्री तथा प्रशुती रोग विशेषज्ञसमेत रहेका अस्पताल निर्देशक डा.केशर ढकालले बताए ।

खोप अभियानमा प्रयोग हुने खोपले एचपीभी प्रजातिका १६ र १८ का कारणबाट संक्रमण हुने पाठेघरको मुखको क्यान्सर हुनबाट सुरक्षित बनाउने उनले बताए । खोप शतप्रतिशत प्रभावकारी रहेको उल्लेख गर्दै उनले १० देखि १४ वर्ष उमेरका किशोरीलाई एक मात्रा लगाएपछि यसको पूर्ण मात्रा हुने बताए । विगतमा एक मात्रा एचपीभी खोप लगाएका किशोरीहरूले अर्को मात्रा लगाउन नपर्ने डा ढकालले बताए ।नेपाली महिलाको सबैभन्दा बढीमा देखिने स्वास्थ्य सम्बन्धी समस्यामध्ये एक पाठेघरको मुखको क्यान्सर रहेको उल्लेख गर्दैडा ढकालले खोपबारे जनचेतना फैलाउनु पर्ने बताए ।

किन तोकियो निश्चित उमेर समूह?
यो खोप ९ देखि १४ वर्ष उमेर समूहका बालिकाहरुलाई लक्षित गरिएको छ । यसरी निश्चित उमेर तोकिनुको कारण यौन क्रियाकलापमा सहभागी हुनुभन्दा अगाडि नै यो खोप दिनुपर्ने भएकाले उमेर समूह तोकिएको हो । किनभने यो भाइरस यौन क्रियाकलापबाट सर्छ । तर,यौन क्रियाकलाप नगरेको अवस्थामा २६ वर्ष उमेर सम्मका युवतीलाई खोप लगाउन सकिन्छ ।

विकसित राष्ट्रहरुमा छिट्टै यौन क्रियाकलापमा सहभागी हुने सम्भावना भएकाले खोप लगाउने उमेर समूह नौ देखि १४ वर्ष तोकिएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका बाल रोग विशेषज्ञ डा. सुवास शर्मा बताउँछन् । ‘यो खोप नेपाल मात्रै नभई विश्वका बालिकहरुलाई लक्षित गरेर उत्पादन गरिएको हो । विकसित राष्ट्रहरुमा चाँडै यौन क्रियाकलापमा सहभागी हुने सम्भावना भएकाले नौ वर्षदेखि १४ वर्ष तोकिएको हो,’शर्माले भने ।

नेपालमा आपूर्ति हुने खोपहरु विश्वस्वास्थ्य संगठनबाट गुणस्तरयूक्त प्रमाणित भएर आउने उल्लेख गर्दै एचपीभी खोप पनि सुरक्षित रहेकाले ढुक्क भएर लगाउन उनकोसुझाव छ । खोप लगाएपछि सुइ लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुने, ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, रिंगटा लाग्ने, मांसपेशी दुख्ने, थकाई लाग्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुनेलगायतका सामान्य लक्षणहरु एकाधमा देखिन सक्ने उल्लेख गर्दै त्यस्ता समस्या आफै निको हुने उनले बताए । खोप लगाउँन जाँदा विद्यालय नजाने १० देखि १४ वर्षसम्मका किशोरीहरुले उमेर खुल्ने प्रमाणपत्र लिएर जानुपर्नेछ, भने विद्यालय जाने छात्राहरुले विद्यालयको परिचयपत्र साथमा लिएर जानुपर्नेछ ।

तपाईको प्रतिक्रिया