सुर्खेतका २५ हजार बढी किशोरीलाई एचपीभी खोप दिइदैँ

सुर्खेतमा २५ हजार बढी किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एचपीभी (हृयुमन प्यापुलोना भाइरस) खोप लगाइने भएको छ । जिल्लाका नौ वटै स्थानीय तहमा विद्यालय जाने र नजाने नौ देखि १४ वर्षका किशोरीहरुलाई उक्त खोप लगाउन लागिएको हो ।

जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार सुर्खेतका नौ वटा स्थानीय तहका २५ हजार पाँच सय १७ किशोरीहरु खोप अभियानमा समावेश हुनेछन् । जसमा २४ हजार नौ सय ७५ विद्यालय जाने छात्रा र पाँच सय ५७ जना विद्यालय बाहिर रहेका किशोरी रहेका छन् । उक्त खोप अभियान आगामी २२ माघदेखि ६ फागुनसम्म सञ्चालन हुनेछ । महिलाहरूको पाठेघरको मुखमा हुने क्यान्सरको रोकथाम गरी मृत्युदर घटाउने उद्देश्यले खोप अभियान सञ्चालन गर्न लागिएको जनाइएको छ । विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने ११ देखि १४ वर्षसम्मका किशोरीहरूलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एचपीभी खोप लगाउन लागिएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले जानकारी बताए ।

गौतमका अनुसार पहिलो चरण २२ माघबाट वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, लेकवेशी नगरपालिका, बराहताला गाउँपालिकामा खोप अभियान सुरु हुनेछ । यस्तै, दोस्रो चरण अन्तर्गत २७ माघबाट चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका, सिम्ता गाउँपालिका र गुर्भाकोट नगरपालिकामा खोप अभियान सञ्चालन हुने गौतमले बताए । पहिलो पटक अभियानका रुपमा किशोरीहरुलाई खोप लगाउन लागिएको जनाउँदै गौतमले यसपछि नियमितरुपमै खोप सेवा सञ्चालन हुने बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार खोप अभियानमार्फत गुर्भाकोट नगरपालिकाका ४२ विद्यालयमा रहने खोप केन्द्रबाट तीन हजार पाँच जना किशोरीहरुलाई खोप लगाइने छ । पञ्चपुरी नगरपालिका १८ विद्यालय र १० अन्य खोप केन्द्रमार्फत दुई हजार दुई सय ६ जना किशोरीले खोप सेवा प्राप्त गर्नेछन् । यस्तै, भेरीगंगा नगरपालिकाका ४४ विद्यालयमा रहने खोप केन्द्रबाट दुई हजार आठ सय ५८, लेकवेशी नगरपालिकाका २८ विद्यालयका खोप केन्द्रबाट एक हजार सात सय ४९, वीरेन्द्रनगर नगरपालिकाका ६७ विद्यालयका केन्द्रबाट दश हजार सात सय १३ किशोरीलाई खोप लगाइने कार्यालय प्रमुख गौतमले बताए । चिङ्गाड गाउँपालिका १७ विद्यालय र चार अन्य खोप केन्द्रमार्फत नौ सय आठ, चौकुने गाउँपालिकाका २० विद्यालय र ११ अन्य खोप केन्द्रबाट एक हजार दुई सय २, बराहताल गाउँपालिकाका ३९ विद्यालयका खोप केन्द्रबाट एक हजार तीन सय ९, सिम्ता गाउँपालिकाका १७ विद्यालय र १० अन्य खोप केन्द्रमार्फत एक हजार तीन सय ९८ जना किशोरीहरुलाई खोप लगाइने जनाइएको छ ।

तपाईको प्रतिक्रिया