रवि लामिछानेले सभामुख घिमिरेलाई भेटेर बुझाए निलम्बन फुकुवाका लागि निवेदन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेलाई भेटेर आफ्नो निलम्बन फुकुवा गरिदिन आग्रह गरेका छन् ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर लामिछानेले आफ्नो निलम्बन फुकुवाका लागि निवेदन समेत दिएका छन् ।

भेटमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू पनि सहभागी थिए । लामिछानेले आजको बैठकबाटै निलम्बन फुकुवा गरिदिन आग्रहसहित सभामुखलाई निवेदन दिएका छन् ।

निवेदनमा रविले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ बमोजिम आफूलाई गरिएको निलम्बन कानुन सम्मत नभएको भन्दै आजकै बैठकबाट निलम्बन फुकुवा गरिदिन आग्रह गरेका छन् ।

निवेदन बुझेपछि जवाफमा सभामुख घिमिरेले आफूले कसैको दबाबमा नभइ विद्यमान कानुन, संसद् नियमावली, अभ्यास बमोजिम निलम्बनको निर्णय गरेको बताए ।

सभामुख घिमिरेले आज संसद् सुरु हुनै लागेकाले समय नभएको भन्दै लामिछानेको निवेदनबारे आफूले थप छलफल र परामर्श गर्ने बताएका थिए ।

तपाईको प्रतिक्रिया