सम्पादकीय : वीरेन्द्रनगरलाई व्यवस्थित बनाउँन ढिला नगर

सुर्खेतको वीरन्द्रनगर नगरपालिकाले शहरी योजना तथा भवन निर्माण मापदण्ड, २०८१ को मस्यौदा तयार पारेको छ । वीरेन्द्रनगर नगरपालिकालाई व्यवस्थित शहर बनाउनका लागि शहरी योजना तथा भवन निर्माण मापदण्ड, २०८१ तयार पारिएको हो । नगरपालिकाले शहरीकरण र भू–उपयोगको तीव्र परिवर्तनलाई व्यवस्थापन गर्दै नगरलाई सुरक्षित, स्वच्छ र आकर्षक बनाउन नगर क्षेत्रमा निर्माण हुने नयाँ भवनहरुको सुरक्षित, भूकम्प प्रतिरोधोत्माक, प्रविधियुक्त र भरपर्दो तथा सडकहरु निर्माण कार्यलाई व्यवस्थित र योजनाबद्ध सुरक्षित बसोबास सुनिश्चित गर्न मापदण्ड तयार पारिएको दावी गरिएको छ ।

‘शैक्षिक, प्रशासनिक, पर्यटकीय, शहर, स्वच्छ, सम्मुन्नत वीरेन्द्रनगर’ मूल नारालाई साकार पार्ने उद्देश्यका साथ व्यवस्थित र सुन्दर नगरपालिका निर्माण गर्न दीर्घकालिन सोंचसहितको शहरी योजना तथा भवन निर्माण मापदण्ड तयार गरी स्थानीय सरकारको शहरी योजना तथा भवन निर्माण सम्बन्धी कामकाजलाई पारदर्शी, जवाफदेही, जनउत्तरदायी र मापदण्डमा आधारित सेवा प्रवाह गरी वीरेन्द्रनगर व्यवस्थित बनाउने गरी योजना अघि सारिएको छ । नगरपालिकाको यो कदम स्वागत् योग्य भएपनि मापदण्ड कार्यान्वयन गर्न भने ढिलाई भइरहेको छ ।

पश्चिम नेपालमा व्यवस्थित गुरु योजना अनुसार निर्माण भएको शहर हो वीरेन्द्रनगर । वीरेन्द्रनगर अहिले पनि स्व. राजा वीरेन्द्रले निर्माण गर्न लगाएको गुरु योजना अनुसार नै अघि बढि रहेको छ । तत्कालिन मध्यपश्चिमाञ्चल क्षेत्रको क्षेत्रीय सदरमुकामसमेत रहेको वीरेन्द्रनगरमा तीव्र गतीमा जनसंख्या वृद्धि भइरहेको छ । प्रदेश राजधानी भएसँगै पछिल्लो पाँच वर्ष यता वीरेन्द्रनगरको जनघनत्व निकै बढेको छ । भौगोलिक रुपमा सुगुम हुन, राजनीतिक, प्रशासनिक, आर्थिक तथा शिक्ष तथा स्वास्थ्यको हब बनेपछि वीरेन्द्रनगरको शहरीकरण अहिले अव्यवस्थित र अस्तव्यस्त बन्दै गएको छ । ५० को दशकमा निर्माण भएको गुरु योजनाले अहिलेको जनसांख्यिक चापलाई थेग्न नसक्ने अवस्था छैन । बढ्दो शहरीकरणले कृषि योग्य जमिनमा कंङक्रिटका संरचनाहरु नगदेवाली जसरी फैलाइरहेका छन् । नगर क्षेत्रभित्र रहेका खोलानालाहरु अतिक्रमणको चपेटामा पर्दा प्राकृतिक प्रकोपको जोखिम पनि उत्तिकै बढ्दै गएको छ । नगर क्षेत्रभित्र जथाभावी बनाइने भौतिक संरचनाका कारण वीरेन्द्रनगरको सन्दरता कुरुपतातर्फ बढ्दै गएको छ । अव्यवस्थित बसोवासका कारण भूमिगत पानीका स्रोतहरु मासिएका छन् । जसले खानेपानीको संकट पनि वीरेन्द्रनगरका लागि टट्कारो बन्ने स्थिती सिर्जना हुँदै गएको छ । वीरेन्द्रनगर बहुपर्कोपको जोखिम रहेको क्षेत्र पनि हो । वीरेन्द्रनगरको भुवनोट अनुसार यहाँ भूकम्पको जोखिम पनि उत्तिकै छ । पश्चिम नेपालमा पाँच सय बर्ष यता ठुलो भूकम्प गएको छैन । विभिन्न अध्ययनहरुले वीरेन्द्रनगरको भूधरातलिय अवस्थाले ठुलो भूकम्प थेग्न नसक्ने देखाइसकेका छन् ।

यसको उच्च जोखिम पछिल्ला बर्षहरुमा नगर क्षेत्रमा आफूखुशी जग्गाको प्लटिङ गर्ने, मापदण्ड विपरितका निजि तथा सरकारी भौतिक संरचना निर्माण गर्नुले थपिरहेका छन् । यसतर्फ नियामक निकायले ध्यान पु¥याउनै सकेका छैनन् । वीरेन्द्रनगरको उत्तरी जलाधार क्षेत्र नजिक बिस्तार भएको शहरीकरणले तल्लो तटिय क्षेत्र डुवानको जोखिममा परेको छ । माथिल्लो क्षेत्रमा वातावरण अनुकुल भौतिक संरचना नबन्दा भूमिगत पानीको पुनरभरण छेकिएको छ । जसले सानो वर्षातमा समेत वीरेन्द्रनगरका खोलामा आउने बाढीले समस्या निम्त्याउने गरेको छ । यसर्थ, ढिलै भएपनि वीरेन्द्रनगरको शहरी योजना निर्माण हुनु आफैमा स्वागत योग्य छ । हिजोका दिनमा जे सुकै भएपनि भावि दिनहरुमा वीरेन्द्रनगरको अस्तित्वसँगै सुन्दरता जोगाउन नगरपालिकाले कुनै पनि कसरत बाँकी राख्नु हुँदैन । नगर क्षेत्रभित्र रहेका सार्वजनिक स्थलहरुको संरक्षणसँगै अतिक्रमणमा परेका यहाँका सडक, खोला, नाला तथा पानीका स्रोतहरु विनासर्त खोल्नतर्फ वीरेन्द्रनगरले व्यवस्थित योजना थाल्न जरुरी छ । त्यसतर्फ ध्यान नदिएको खण्डमा वीरेन्द्रनगरका दुरदशा सुरु हुन धेरै समय लाग्ने छैन ।

तपाईको प्रतिक्रिया