लघुकथा

सहिदको सपना

गणेश गौतम

मन्त्रीजीको फोनको घण्टी तारन्तार बज्यो । सायद फोनको घण्टीकै कारण मन्त्रीजी बाथरूमबाट हतार हतार बाहिर  निस्कनु भयो र फोन समातेर हलो  भन्नुभयो ।फोन लाउडस्कीपर मुडमा त नहुनुपर्ने हो तर पनि उताबाट बोलेको स्पष्टै सुनिन्थ्यो,यताबाट बोलेको त सुनिने नै भयो । नचाहँदा नचाहँदै पनि  हामीले उताबाट बोलेको पनि सुन्नै पर्ने भयो । उताकै आवाज सुनियो,’हलो मन्त्रीज्यु लालसलाम म शहिद बोलेको ।’

“एऽऽ जय नेपाल जयनेपाल” भन्दै मन्त्रीजी केहि झस्कनु भयो र सोध्नुभो “को रे सहिद बोलेको रे?”

शहिद बोलेको भन्ने सुन्दा मत झसङ्गै भएँ,त्यहाँ बसिरहेका अरु पनि मुखामुख गरे। उताबाट आवाज आयो ‘ चिन्नु भएन कि क्या हो म के सहिद बहादुर खत्री मन्त्रीजीले भुल्नुभो कि क्या हो ?’

” ए हो हो मैले चीने नि किन नचिन्नु हाम्रो सहिदजी बोल्नु भाको हैन।” यति भन्दै गर्दा मन्त्रीजीले हामीलाइ हेरेर मुसुक्क हाँस्न पनि भ्याउनुभयो ।कुरो नसकिदै सायद फोन कट्यो कि क्या हो हलो हलो भन्दै मन्त्रीज्यु अर्को कोठातिर लाग्नुभयो । इसारा बुझे झैँ गरी मभन्दा अगाडी देखि त्यहाँ कुरिरहेको एउटा टिम मन्त्रीजीलाइ पछ्याउँदै गोप्य कोठातिर लाग्यो ।

अव आफ्नो पालो नआउन्जेल बाहिर कुरेर बस्नु नै पर्ने भयो । समय कटाउन पाकेटबाट मोबाइल निकालेर कोट्याउन खोज्दै थिएँ । ठ्याक्कै मेरो दिमागमा अघिको कुरा याद आयो । भर्खरै मन्त्रीजीलाइ फोन गर्ने सहिदजीलाइ मैले पनि कस्तो बिर्सेछु !अहिले पो याद आयो । उनी गैह्रागाउँका काउले खत्रीका छोरा त हुन्नि। सहिद दिवसको दिन जन्मेको हुनाले उनको नाम सहिद राखिएको रे । अरु मरे पछि सहिद बन्छन् तर उनी चाहि जन्मे पछि सहिद बनेका ।

 नामै सहिद भैसके पछि नाम सुहाउँदो व्यवहार भैदिए हुन्थ्यो, तर उनको चरित्र भने नाम सुहाउँदो पटक्कै थिएन । उनी सत्ता र सत्तासिनको चाकरी गरी आफ्नो दुनो सोझ्याउनमा खप्पीस मानिन्थे । दलाली फट्याइ ठगी आदी काममा उनी नामुद थिए । उनी आवश्यकता अनुसार सबै पार्टीमा जान्थे र सबै पार्टीकाले पनि उनलाइ आवश्यकता अनुसार प्रयोग गर्न भ्याउथे । उनका कर्तुतहरु एक पछि अर्को मेरो स्मरणमा तरङ्गीन थाले । गोप्य कोठामा पसेको टोली ठूलो ठूलो स्वरमा हाँस्दै बाहिर निस्के पछि म सहिदजीको जीवन गतिविधीको तरङ्गबाट व्युझे झैँ भएँ ।

मन्त्रीजीसँग भेट्ने अव मेरो पालो आयो होला भनेर म भित्र पसेँ । ठिक त्यहि बेला फेरि मन्त्रीजीको फोनको घण्टी बज्यो ।मलाइ साइडको सोफामा बस्ने इसारा गर्दै मन्त्रीजी फोनमै कुरा गर्न थाल्नुभोः “हेलो ए ए सहिदजी अँ भन्नुस् त तपाइले बिहानदेखि हो फोनमा कुरा गर्न खोजेको के भो के भो कटेको कट्यै भइराछ । केहि इमर्जेन्सी थियो कि ? उताको आवाज सुनियोः “नाइ त्यस्तो इमर्जेन्सी त केहि थिएन,आज राती सपनामा हजुरलाइ देखेको थिएँ ।” मन्त्रीजी पुलुक्क मतिर हेरेर केहि मुस्कुराउनु भो । “ए सपनामा मलाइ देख्नु भएको ? ए ! हो र ? अनि अरु के देख्नु भयो त? के गरेको रैछु मैले?” केहि रसिक पारामा मन्त्रीजीले सोध्नुभयो।

चेपारे स्वरमा उता बाट आवाज आयोः”अनि हजुर ठूलो धरहरा भन्दा पनि अग्लो घरको माथि कौशीमा बसेर तल हेरिरहनु भएको थियो, पछि हेर्दा हेर्दै त्यो माथि कौशीबाट उड्न खोज्नु भएछ। कसो कसो उड्न नसकेर तल खस्दा त अऽऽऽऽ ठूलै स्याउलै स्याउला जस्तो केको पो हो रासमा खस्नु भएछ । हेर्दा हेर्दै त्यो त पैसै पैसाको रासमा पो परिरणत भएछ । ए मेरी आमै हेर्दा हेर्दै हजुर त त्यहि रासमा कता हो कता पो हराउनु भएछ । यता हेर्छु देख्दैन, उता हेर्छु देख्दैन। हजुरलाइ नदेखेर म त आत्तिन थालेछु;सासै थुनिएला जस्तो भयो!म त झसङ्ग व्युझिएँ। त्यतिखेरै फोन गर्न मन लागेको थियो । रातीको दुइ बजेको रहेछ । त्यति खेर के फोन गर्नु भनेर विहान उठ्ने वित्तिकै देखि ट्राइ गरेको कटेको कट्यै भइराछ ।”

“ए हो र? अचम्मको सपना देख्नु भएछ त है?” भन्दै मन्त्रीजी ठूलो ठूलो स्वरले हाँस्नु भयो ।कुरो टुङ्याउन खोज्दै “अनि अरु केहि काम थियो कि?” भनेर मन्त्रीजीले सोध्नु भयो । “नाइ नाइ केहि काम थिएन । त्यहि सपना देखेको थिएँ त्यहि भएर हेँ हेँ हेँऽऽऽऽ” उताबाट आवाज आयो । “एऽऽऽ ल ल धन्यवाद।” भन्दै मन्त्रीजी म तिर हेरेर मुस्कुराउनु भयो ।

यत्तिकैमा मन्त्रीका निजी सचिव आएर मैले नवुझ्ने गरी मन्त्रीजीको कानै नजिक के हो खस्याक खुसुक गरे । उनको कुराले मन्त्रीजी केही सतर्क भए झै देखिनु भयो र अलि हतारिए झैँ मेरो नजिक आएर मलाइ ढाडमा धाप लगाउदै भन्नुभयो”ल है म एउटा इमर्जेन्सी मिटिङमा निस्कनु पर्ने भयो । तपाइसँग कुरा गर्न पाइएन दिउस अफिस मै भेटौ न है ।” उहाँ हतारिदै निस्कनु भयो । मैले आफ्नो कुरा राख्ने मौकै पाइन । उहाँहरु गाडीमा बसेको हेरिरहेँ । मेरो मानस पटलमा भने अघि फोनमा सुनेको सहिदको सपना रुमल्लीरह्यो ।

तपाईको प्रतिक्रिया