सुर्खेत, १ माघ ।
पश्चिम नेपालमा आफुलाई वनका राजा भन्न रुचाउने राउटे समूदायको एक असाधारण र पृथक जीवनशैली छ । दक्षिण एसियामा लोपोन्मुख अल्पसंख्यक आदिवासी जातीको शिर्ष स्थानमा रहेको राउटे समूदाय परापूर्वकालदेखि जंगलकै बासमा बस्न रुचाउँछन । राउटेको बसोबास सुदूरपश्चिम प्रदेशको अछाम, कर्णाली प्रदेशको जाजरकोट, दैलेख, सल्यान र सुर्खेत तथा लुम्बिनी प्रदेशको दाङसम्म हुनेगर्दछ ।
उनीहरुको भाषा, सांस्कृति रितिरिवाज, भेषभुषा, परम्परागत मान्यमूल्यता, रहनसहनसँगै जीवनशैली आधुनिक मानवभन्दा धेरै भिन्न छन् । उनीहरु आफ्नै नियममा बाधिएका छन् । आदिमकालदेखि छुट्टै पहिचान धारण गरेर जंगलको बासमा रहेका राउटे समुदायको जिविकोपार्जनको मुख्य पाटो जंगली वनस्पतीको उपभोगसँगै वनपैदावारमा आधारित घरेलु प्रयोजनका सामाग्रीसँग दैनिक उपभोग्य वस्तु साट्नु हो ।
धेरै समय एकै ठाउँमा नबस्ने उनीहरु बसाइँ सरिरहन्छन् । खेती, किसानी गर्न यो समुदायले उहिलेदेखि सिक्यो न त अहिलेको पुस्ताले नै सिकेको छ । कपडाले छाएको, बारेको, जंगली काठपातले बारेको अस्थायी प्रकृतिको झुपडीमा बास बस्नु यो समूदायको परम्परा हो । कपडा वा पातपतिङ्गर ओछ्याएर चिसो÷तातो भुईंमा सुत्नु उनीहरूको दैनिकी बन्ने गर्दछ । यस्तै–यस्तै अव्यवस्थित बसोबास तथा अस्वस्थ खानपानका कारण भने यो समूदायको अस्तित्व पछिल्लो समय संकटमा पर्दै गएको छ ।
यो समूदायले सिल्भर, आल्मुनियम, काठका भाँडाकुँडा र पातपतिङ्गर खाना पकाउन तथा पानी संकलन गर्न प्रयोग गर्छ, जुन मानव स्वास्थ्यका दृष्टिकोणले निकै हानिकारक मानिन्छ । हरेक नागरिकको स्वस्थ जीवनको ग्यारेण्टी राज्यले गर्नुपर्ने हो । तर, राज्यको यथोचित ध्यान नपुग्नु, कमजोर जनस्वास्थ्य, अस्वस्थ खानपानका कारण कुपोषण, उपचारमा पहुँच नहुनु÷नराख्नु, प्रजनन् स्वास्थ्य अभाव, गुणस्तरहीन परम्परागत आवासमा बसोबास, मौसमअनुकूल लत्ताकपडा अभाव, स्वच्छ खानेपानी तथा सरसफाइको कमीजस्ता कारणले राउटे समूदायको अस्तित्व नामेट हुने खतरा बढ्दै गएको छ ।
अर्को कुरा बजारमा पाइने गुणस्तरहिन मदिराको लतले झन चुनौती थपेको छ । यो समूदायका अधिकांश ठुलादेखि बालबालिकाले समेत मदिरा सेवन गर्ने गरेको बताईन्छ । राउटेहरुलाई जीवन निर्वाहका रुपमा दिइने नगद रकमका कारण मदिरा सेवनले थप प्रश्रय पाइरहेको छ ।
फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय यतिबेला सुर्खेतको बराहताल गाउँपालिका–२ र वीरेन्द्रनगर नगरपालिका–२ को सिमा क्षेत्र गिरीघाट खोला किनारमा बस्दै आएका छन् । यसअघि दैलेखको गुराँस गाउँपालिकामा बस्दै आएको राउटे समुदाय केही समयअघि मात्रै गिरीघाट खोला किनारमा बसाइँ सरेको थियो । झारपातले बेरेको झुप्रोमा लगाइएको प्लाष्टिकको पालले जसोतसो घामपानी छेक्छ । तर पुस–माघको कठ्याङ्ग्रिने जाडोमा भने उनीहरुको बास कस्टकर छ ।
बस्ती नजिकै भेरी नदी र गिरीघाट खोलाको पानीले बोकेर ल्याउने हावाको चिसो झोकाले उनीहरुलाई निकै कस्ट झेल्नु परेको छ । यसको मारमा महिला, बालबालिका तथा जेष्ठ नागरिक परेका छन् । जाडो मौसममा त्रिपाल र खुल्ला चौरमा आगो तापेर रात कटाउनु पर्ने बाध्यता रहेको बताउँछन् राउटे मुखिया सुर्यनारायण शाही । परम्परागत भेषभुषाका कारण पनि उनीहरु चिसोको मारमा परेका छन् ।
उनीहरु आधुनिक मानवले लगाउने कपडा लगाउँन चाहन्छन् तर, मौलिक परम्पराका कारण बानी भने परेको छैन । पछिल्लो समय आधुनिकतामा प्रवेश गर्न खोजेका राउटे युवा दीपक शाही कतिपय अवस्थामा आफ्नो मौलिक पहिचाहनले आधुनिक कपडा लगाउने बानी नपरेको बताउँछन् । आफूहरुले लगाउने लुगा विगतभन्दा केही परिवर्तन भएपनि समूदायका सबै मानिसले स्वीकार भने नगरिसकेको उनले बताए । पुरुषमा केही परिवर्तन देखिएपनि महिलामा यसको प्रभाव कमै रहेको शाहीले बताए ।
उनीहरुका लागि न्यानो कपडाको बन्दोवस्त नभएको पनि होइन । सरकारी तथा विभिन्न संघसंस्थाले न्यानो कपडाको व्यवस्थापन गरिदिने भएपनि उनीहरुमा सहजै लगाउने बानी भने अझै परेको छैन । जसले उनीहरु चिसोका कारण रुघाखोकी, निमोनिया लगायतका संक्रमणको सिकार बनिरहेका छन् ।
राउटे समुदायले नियमित स्वास्थ्य जाँच नगराउँदा गम्भीर प्रकारका रोग नदेखिएपनि चिसोका कारणले विभिन्न संक्रमणहरु देखिएको उपचार संग्लन चिकित्सकहरु बताउँछन् । अव्यवस्थित बसोवास, अस्वस्थ खानपान तथा चिसोका कारण मौसमी रुघाखोकी, निमोनिया, छाला रोग, ग्याष्टिक, उच्च रक्तचाप, महिलामा पाठेघरको समस्या, ढाड दुख्ने, शारीरिक चोटपटक लगायतका समस्या देखा परेको कर्णाली प्रदेश अस्पतालका डा. सुजन सोपकोटाले बताए ।
माघी खल्लो भएको गुनासो
सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षावापतको रकम नपाउँदा यस पटकको माघी खल्लो भएको गुनासो राउटे समूदायको छ । राउटे समुदायलाई दैलेखको गुराँस गाउँपालिकाले अस्थायी परिचय–पत्र उपलब्ध गराएर सामाजिक सुरक्षावापतको रकम वितरण गर्दै आएको छ ।
नागरिकता लिन नमान्ने राउटे समुदायले विगत केही वर्षदेखि गुराँस गाउँपालिकाले अस्थायी परिचय–पत्रका आधारमा उनीहरुलाई सामाजिक सुरक्षा भत्ता दिने गरेको छ । यसपालिको माघी (माघे संक्रान्ति) मा गाउँपालिकाले भत्तावापतको रकम उपलब्ध नगराउँदा समस्या परेको राउटे मुखिया सूर्यनारायण शाहीले बताए ।
सामाजिक सुरक्षा भत्ता नपाइएपछि माघीमा नुन, तेल, चामल, खसी, कुखुरा तथा नयाँ लुगाका किन्न नपाएको राउटे मुखिया शाहीले गुनासो गरे । ‘राउटेका लागि माघी ठूलो चाड हो । माघीमा धेरै रमाउने राउटे समुदायलाई चामल, दाललगायत खाद्यान्न समस्या परेको छ,’ उनले भने, ‘चाड आयो कसरी मनाउने माघी पर्व समस्या भएको छ ।’
माघीमा दैलेखको गुराँस गाउँपालिकाका लेखापालको सरुवा भएपछि आफुहरुले भत्ता नपाएको मुखिया शाहीले गुनासो गरे । ‘सामाजिक सुरक्षा भत्ता दिन्छु भनेका लेखापालको सरुवा भएछ,’ उनले भने, ‘यी लेखापाल उस्तै हुन् कि सरकार हो ? जहिल्यै हामीलाई धोका दिन्छन् ।’ गुराँस गाउँपालिकाले लेखापाल सरुवा भएपछि सामाजिक सुरक्षावापतको भत्ता उपलब्ध गराउँन समस्या भएको जानकारी आफूले पाएको उनले बताए ।
निरन्तर ओरालो लाग्दै जनसंख्या
नेपालमा लोपोन्मुख फिरन्ते जातिका रूपमा रहेको राउटे समुदायको जनसंख्या पछिल्ला वर्षमा तीव्र गतिमा घट्दै गइरहेको छ । राष्ट्रिय मानवअधिकार आयोगले घुमन्ते–फिरन्ते राउटेको मानवअधिकार अवस्थाका विषयमा गरेको अध्ययन प्रतिवेदन २०८१ ले राउटेको जनसंख्या प्रत्येक वर्ष घट्दै गएको देखाएको छ ।
आयोगले पछिल्लो ६ वर्षको अवधिमा राउटे समुदायमा गरेको तुलनात्मक अध्ययनमा जन्मदरभन्दा मृत्युदर बढेको पाइएको छ ।२०७५ सालमा एक सय ४९ रहेको राउटेको जनसंख्या अहिले घटेर एक सय ३४ मा झरेको छ । यस अवधिमा राउटे समुदायका १२ जनाको मृत्यु भएको तथ्यांकले पुष्टि गर्छ । २०७५ सालमा एक सय ४९ रहेको राउटेको संख्या एक जनाले घटेर २०७६ मा एक सय ४८ झरेको थियो । २०७७ मा पुनः तीन जना घटेर एक सय ४५ मा झ¥यो ।
त्यस्तै, २०७८ मा एक जना घटेर एक सय ४४ भएको राउटेको संख्या २०७९ मा फेरि एक जनाको मृत्यु भएर एक सय ४३ मा सीमित भएको थियो । २०७९ देखि १५ पुस २०८१ सम्म घुमन्ते–फिरन्ते राउटेको जनसंख्या ६ जनाले घटेर एक सय ३४ भएको छ । राउटे समुदायमा ४७ प्रतिशत नागरिक १८ वर्षमुनिका छन् । घुमन्ते–फिरन्ते राउटे समुदायमा तीन जना अपाङ्गता लिएर बाँचिरहेका छन् भने १६ जना एकल महिला (श्रीमान् गुमाएका) छन् । यो संख्या कूल महिलाको १८ प्रतिशत हो ।
राउटेभित्रको जनसंख्या सन्तुलनमा नहुँदा पनि जनसंख्या घट्ने समस्या भइरहेको छ । यो समुदायमा तीन वटा समूह छन् । जसमा रास्कोटी, कल्याल र शोवंशी समूह छन् । अरू दुई समूहभन्दा रास्कोटी समूहको जनसंख्या झण्डै दोब्बरले बढी छ । यी तीन समूहको आ–आफ्नो समूहभित्र वैवाहिक सम्बन्ध हुँदैन । जसले गर्दा जन्मदरभन्दा मृत्युदर बढी भइरहेको छ ।
कार्यान्वयन भएनन् आयोगका सिफारिस
राष्ट्रिय मानवअधिकार आयोगले गरेको राउटेको मानव अधिकार अवस्था अध्ययन प्रतिवेदन, २०८१ ले तीनै तहका सरकारलाई विभिन्न सिफारिस गरेको छ । राउटेको मानवअधिकार अवस्थाको स्थलगत अनुगमन, अध्ययन, राज्यको नीति तथा कार्यक्रमको समीक्षा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको नेपालमा कार्यान्वयन अवस्थाको समीक्षाअनुसार घुमन्ते–फिरन्ते राउटेका सन्दर्भमा आयोगले संघ, प्रदेश र स्थानीय तहलाई छुट्टाछुट्टै कर्तव्य पूरा गर्न सिफारिस गरेको छ । तर, आयोग गरेका सिफास कार्यान्वयनमा भने तीन तहका सरकारले चासो दिएका छैनन् । संविधानको धारा ५६ (५) मा उल्लेख भएअनुसार संघीय कानुनबमोजिम सामाजिक सांस्कृतिक संरक्षणका लागि संरक्षित क्षेत्र घोषणा तथा कार्यान्वयन गर्न आयोगले संघीय सरकारलाई सिफारिस गरेको छ । राउटेलाई संरक्षण, सुरक्षा र उनीहरूको प्रथाजनित अभ्यासको निरन्तरताका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले पृथक् कानुनी व्यवस्था गर्नुपर्ने आयोगको ठहर छ ।
राउटेको बस्ती स्थानान्तरणसँगै स्थानान्तरित हुने गरी घुम्ती प्रहरी चौकी स्थापना गर्नसमेत आयोगले संघीय सरकारलाई भनेको छ । राउटे समुदायका नागरिकलाई प्रशासन, पञ्जीकरण, खाद्यान्न, राहत, स्वास्थ्यलगायत सेवाका लागि राउटेको बस्ती स्थानान्तरणसँगै स्थानान्तरित हुने ‘घुम्ती एकीकृत सेवा केन्द्र’ स्थापना गर्नुपर्ने साथै, राउटे महिला तथा बालबालिकाको पोषणका लागि ‘घुम्ती पोषण गृह’ स्थापना गर्न आयोगले कर्णाली प्रदेश सरकारलाई भनेको छ ।
प्रदेश तथा स्थानीय तहले राउटे समुदायको उत्थान, मूलप्रवाहीकरण तथा सशक्तीकरणका लागि एकीकृत आवधिक कार्ययोजना तर्जुमा गरी कार्यान्वयन गरी राउटेका विषयमा काम गर्न कुनै खास निकायलाई जिम्मेवारी तोक्ने गरी अगाडि बढ्न आयोगले प्रदेश सरकारलाई सुझाएको छ । राउटेले नै स्वपहिचान गरेबमोजिम राउटेको स्थानान्तरणसँगै स्थानान्तरण गर्न मिल्ने गुणस्तरीय बसोबासको व्यवस्था, राउटे समुदायको गोपनीयताको अधिकार संरक्षणका लागि राउटेको स्वतन्त्र पूर्वसुसूचित सहमतिबिना कुनै पनि श्रव्यदृश्य सामग्री तयार, सङ्कलन र प्रसारणमा नियमन, राउटे महिलाहरूमा प्रजनन् स्वास्थ्य जनचेतना अभिवृद्धिजस्ता कार्यक्रमहरू प्रदेश सरकारले अगाडि सार्नुपर्ने आयोगको ठहर छ ।
सामाजिक सुरक्षा भत्ता दिइरहेको दैलेखको गुराँस गाउँपालिकाले तत्काल ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र उपलब्ध गराउन आयोगले सिफारिस गरेको छ । राउटे समुदायलाई आयातीत मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा नियमन, मातृभाषासहित विशिष्टिकृत (व्यावहारिक, श्रव्य, दृश्य आदि) पाठ्यक्रम विकास गरी ‘घुम्ती विद्यालय’ (अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ को दफा ३४) स्थापना गरी शिक्षाको प्रवद्र्धन स्थानीय तहले गर्नुपर्ने आयोगले सिफारिसमा भनेको छ ।
त्यस्तै, राउटे बस्तीमा स्वच्छ खानेपानी उपलब्ध तथा सरसफाइ सम्बन्धी जनचेतना अभिवृद्धि गर्न पनि आयोगले स्थानीय तहलाई भनेको छ । राउटे समुदायका नागरिकलाई गैरसरकारी क्षेत्रबाट वितरण हुँदै आएको राहत सामग्री एकद्वार प्रणालीमार्फत वितरण गर्ने गरी सेवा प्रदान आयोगले स्थानीय सरकारलाई सिफारिस गरेको भएपनि कार्यान्वयको पाटो भने ओझलमा छ ।
रमेश रावल । सुर्खेत । ११ माघ २०८१, शुक्रबार १०:५७