बर्दियामा बाघको आक्रमणमा महिलाको मृत्यु


सरला सुवेदी ।
बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका–७ सुन्दरपुर गाउँकी ४० वर्षीया पदमकला थापाको बाघको आक्रमणमा मृत्यु भएको छ । बकुवा सामुदायिक वनछेउमा बाख्रा चराउने क्रममा बाघले थापालाई आक्रमण गरी जङ्गलभित्र पु¥याएको थियो ।

घटनापछि स्थानीयवासी, प्रहरी, सेना, र निकुञ्जको टोली घटनास्थलमा पुगेका थिए। टोली पुगेपछि बाघ शवलाई छाडेर जङ्गलतर्फ भागेको बताइएको छ । यद्यपि, स्थानीयवासीले बाघ नियन्त्रण र उचित क्षतिपूर्तिको माग गर्दै मृतकको शव उठाउन अस्वीकार गरेका छन् ।

बाघ नियन्त्रणका लागि प्राविधिक टोली खटाइएको छ । घटना सामुदायिक वन क्षेत्रमा भएकाले क्षतिपूर्ति दिने प्रक्रिया अझै अन्योलमा रहेको जनाइएको छ । यस घटनाले वन्यजन्तु संरक्षण र मानवीय सुरक्षाबीचको द्वन्द्वलाई पुनः उजागर गरेको छ ।

गएको साउनयता बर्दियामा हात्ती, गैंडा र पाटेबाघको आक्रमणबाट तीन जनाले ज्यान गुमाइसकेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषका बर्दिया प्रमुख अजित तुम्बाहाम्फेका अनुसार यस क्षेत्रका वन्यजन्तु र मानवीय क्रियाकलापबीचको बढ्दो संघर्षले जनजीवनलाई त्रसित बनाएको छ ।

स्थानीय बासिन्दाले वन्यजन्तु नियन्त्रण र सुरक्षा प्रणाली सुधार गर्न माग गरेका छन् । यस्तै, मृतकका परिवारले उचित क्षतिपूर्ति पाउनुपर्नेमा जोड दिएका छन् । वन्यजन्तु संरक्षणलाई कायम राख्दै मानवीय सुरक्षाको उचित व्यवस्थापनका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ ।

तपाईको प्रतिक्रिया