दलित महिलाको सशक्तिकरण र नेतृत्व विकासमा कोहलपुरको पहल

सरला सुवेदी ।

कोहलपुर नगरपालिका वडा नं. १३ मा दलित महिलाहरूको नेतृत्व विकास र सशक्तिकरणका लागि तीन दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ। संगम मिडिया हबको आयोजनामा सम्पन्न यस तालिमले महिलाहरूलाई आत्मनिर्भर, आत्मविश्वासी र नेतृत्वदायी बनाउने उद्देश्यका साथ कार्यक्रम अघि बढाएको थियो।

तालिमको उद्घाटन गर्दै वडा नं. १३ का अध्यक्ष डम्बर खड्काले महिलाहरूको सशक्तिकरणले समाजको समग्र विकासमा ठूलो योगदान दिने बताए। उनले भने, “महिलाहरूलाई सशक्त बनाउन यस्ता तालिमले महत्त्वपूर्ण भूमिका खेल्छ। यो केवल तालिम मात्र होइन, यो उनीहरूको अधिकारप्रति सचेत बनाउने र नेतृत्वदायी भूमिकामा स्थापित गर्ने बाटो हो।”

तालिममा वडा सदस्य रुद्रकली विश्वकर्माले आफ्नो अनुभव साझा गर्दै महिलाको आर्थिक, सामाजिक, र राजनीतिक सशक्तिकरणका लागि निरन्तर प्रयास गर्नुपर्नेमा जोड दिइन्। उनले भनिन्, “तालिमले महिलाहरूलाई आफ्नो क्षमता चिन्न र समाजमा आत्मनिर्भर बन्न उत्प्रेरित गर्छ। यसले महिला नेतृत्वको लागि बलियो जग तयार गर्छ।”

महिला सदस्य गोमा खनालले यस्ता तालिमहरूले महिलाहरूलाई न केवल आत्मविश्वास जगाउने तर आफ्ना समस्या पहिचान गरी समाधान गर्न सक्षम बनाउने बताइन्। उनले भनिन्, “हाम्रो समाजमा दलित महिलाहरूले धेरै चुनौतीहरूको सामना गर्दै आएका छन्। यस्ता कार्यक्रमहरूले उनीहरूको आवाज बुलन्द बनाउन सहयोग गर्छ।”

तालिमका मुख्य प्रशिक्षक रुपा गहतराजले महिलाको सशक्तिकरण केवल व्यक्तिगत लाभका लागि नभई समग्र समाजको प्रगतिका लागि महत्त्वपूर्ण रहेको बताइन्। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशकी सचिव सरला सुवेदीले तालिमको सहजीकरण गर्दै महिलाको नेतृत्व विकासका लागि यस्ता कार्यक्रमहरूको निरन्तरता आवश्यक रहेको धारणा राखिन्। उनले भनिन्, “यो तालिम महिलाहरूको सीप र क्षमतामा वृद्धि गर्न महत्त्वपूर्ण छ। यस्तो प्रकारको सहभागिताले समाजमा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्दछ।”

संगम मिडिया हबका सञ्चालक हेमन्त विकले कार्यक्रमको महत्त्वबारे प्रकाश पार्दै भने, “महिलाहरूको सशक्तिकरणले केवल उनीहरूको व्यक्तिगत विकास मात्र होइन, समाजको आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणमा पनि योगदान पु¥याउँछ।”

कार्यक्रममा वडा भित्रमा ५० जना दलित महिलाहरू सहभागी थिए। सहभागीहरूले यस्ता कार्यक्रमले उनीहरूको समस्या उठान र समाधानको उपाय पहिचान गर्न प्रेरित गरेको अनुभव व्यक्त गरे। महिलाहरूले भने, “हामीले विगतमा शिक्षाको अभाव, आर्थिक असुरक्षा र सामाजिक विभेदका कारण धेरै समस्या झेल्यौं। यस्ता तालिमहरूले हामीलाई हाम्रो आवाज उठाउन र समाधानका उपायहरू खोज्न सक्षम बनाउँछ।”

सहभागीहरूले सिपमूलक, आयआर्जनमूलक तालिमहरू, र शिक्षामा पहुँचका कार्यक्रमहरूको माग गरे। सामाजिक रूपान्तरणका लागि दलित महिलाहरूले सुझाव दिएका समाधानहरूमा समुदाय स्तरमा सचेतना कार्यक्रम, उद्यमशीलता तालिम, महिला समूह गठन, र स्थानीय सरकारसँग समन्वय गरी आयआर्जनका अवसरहरू सिर्जना गर्न जोड दिए।

कार्यक्रमको सन्चालन धना केसी र पवित्रा परियारले गरेका थिए। तीन दिनसम्म सञ्चालन भएको तालिमले महिलाहरूको आत्मनिर्भरता र नेतृत्व क्षमतामा सकारात्मक योगदान गरेको विश्वास गरिएको छ। सहभागीहरूले व्यक्त गरेका सुझाव र मागहरूलाई आधार मानेर आगामी दिनमा अझ बढी प्रभावकारी कार्यक्रमहरू सञ्चालन गरिने आयोजकहरूले बताएका छन्।

यस प्रकारका तालिमहरूले न केवल दलित महिलाहरूलाई सशक्त बनाउँछन्, तर समग्र समाजलाई नै समानतामूलक र न्यायपूर्ण दिशातर्फ अघि बढाउन प्रेरणा प्रदान गर्छन्।

तपाईको प्रतिक्रिया