‘मुसोम’ गुणस्तर सुनिश्चितता एवं प्रत्यायन प्रमाणित हुने कर्णाली प्रदेशकै पहिलो शैक्षिक संस्था


मध्यपश्चिम विश्वविद्यालयको स्वायत्त संस्था ‘मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम)’ ले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता एवं प्रत्यायन प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ ।

विश्वविद्यालय अनुदान आयोगद्वारा आयोजित एक समारोह बीच आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारीले मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम) लाई उक्त प्रमाणपत्र हस्तान्तरण गरे ।

कार्यक्रमको अध्यक्षता विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारीले गरेको थियो, भने कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतम, विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा. शंकर प्रसाद भण्डारी, मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेल, आयोगका गुणस्तर सुनिश्चितता एवं प्रत्यायन निर्देशक प्रा. डा. रेजिना मास्के, आयोगका पदाधिकारीहरु, मध्यपश्चिम विश्वविद्यालयका पदाधिकारी, मुसोमका डाइरेक्टर तथा प्राध्यापक लगायतको उपस्थिति रहेको थियो ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति एवं पीआरटी संयोजक प्रा. डा. केशर जंग बराल सम्मिलित समितिले गरेको मुल्यांकन र विश्वविद्यालय अनुदान आयोगद्वारा निर्धारण गरेका विभिन्न मापदण्ड तथा सुचाङ्कहरु पुरा गर्दै विशेषज्ञहरूको टोलीले विस्तृत मूल्यांकन गरे पश्चात मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट लाई उक्त प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारीले आफ्नो मन्तव्यका क्रममा प्रमाणपत्र प्राप्त गर्न सफल भएकोमा मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट परिवार लाई बधाई ज्ञापन गर्दै आगामी दिनमा थप गुणस्तर वृद्धि गर्दै जानेमा विश्वस्त रहेको उल्लेख गरेका थिए ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमले मन्तव्यका क्रममा मुसोम, गुणस्तर सुनिश्चितता एवं प्रत्यायन प्रमाणपत्र प्राप्त गर्न सफल कर्णाली प्रदेशकै पहिलो शैक्षिक संस्था भएकोमा मध्यपश्चिम विश्वविद्यालय, कर्णाली प्रदेश र समग्र देशकै ऐतिहासिक एवं गौरवको विषय भएको उल्लेख गरेका थिए, भने समग्र मध्यपश्चिम विश्वविद्यालयनै प्राप्त गर्न तर्फ अगाडी बढिरहेको उल्लेख गरेका थिए ।

त्यसै गरी मुसोमका निर्देशक डा. सुशील कुमार शाहीले मुसोमलाई गुणस्तरीय शैक्षिक संस्था बनाउन स्कुल संग सम्बन्धित सम्पूर्ण महानुभावहरुको सामूहिक प्रयास र मेहेनतले उक्त सफलता हासिल गरेको उल्लेख गर्दै आगामी दिनमा समेत विद्धमान गुणस्तर कायम गर्दै यसलाई थप परिस्कृत गर्दै अगाडी बढ्ने कुरा उल्लेख गरे ।

तपाईको प्रतिक्रिया