बराहताल गाउँपालिका–१ सिरिचौरका ५१ वर्षीय लोकबहादुर सुनार विगत दुई वर्षदेखि पिटौली (बाटो सफा) को काम गर्छन । २०७४ यता उनका अन्य तीन जना साथीहरु पनि बाटो सफा गर्ने काममा संलग्न छन् । ती मध्येका लोकबहादुर र उनका साथी नगेन्द्र ढेङ्गामगर शुक्रबार साँझ करिव साढे पाँच बजेको समयमा सडकका खाल्डाखुल्डी पुरेर घर फर्किदै थिए ।
बराहताल गाउँपालिका–२ रानिघाट हुँदै सिरिचौर–तेलपानीसम्मको सडक मर्मत गर्नु उनीहरुको दैनिकी हो । सधैं चर्चाको शिखरमा रहने तर नबन्ने भुुरीगाउँ–तेलपानी सडकको वास्तविक अवस्थाका बारेमा स्थलगत रिपाटिङका क्रममा भेटिएका थिए उनीहरु ।
बर्खाको समयमा पूर्णरुपमा बन्द हुने यो सडकमा रानिघाटदेखि सिरिचौर, मगराह, तेलपानी, हर्रेकाँडा लगायतका वस्तीमा खाद्यान्न, निर्माण सामाग्री तथा स्थानीयस्तरमा उत्पादन हुने कृषिवस्तु ढुवानी गर्न तीन वटा ट्याक्टर गुड्ने गर्दछ । प्रदेश राजधानी वीरेन्द्रनगरबाट रानीघाटसम्म नियमित गाडी गुड्छन् । रानीघाटसम्म ल्याइएका सामाग्रीहरु झोलुङ्गेपुलको सहायताबाट मजदुरहरुले भेरी नदी तराउँछन् । यो बाध्यता अहिलेको भने होइन । साँझ परेपछि प्रदेश राजधानी वीरेन्द्रनगर झलमल्ल हुन्छ । उत्तरी पानी ढलो सुर्खेत र दक्षिणी पानी ढलो बर्दिया पर्दछ । वीरेन्द्रनगर विकासको पथमा लम्किरहदा लोकबहादुरको गाउँ अझै पनि अविकासको कहरमा छ ।
जीवनको उर्जाशिल उमेर पिठ्युमा घरायसी प्रयोजनका सामाग्री बोकेर उकाली ओराली गर्दै बिताएका लोकबहादुरका साथी नगेन्द्रलाई सुविधा सम्पन्न सडकमा हिँड्ने रहर नभएको होइन । नगेन्द्रले सडक विस्तारको एजेण्डा बोेकेर आउने धेरैलाई जनप्रतिनिधि बनाइसकेका छन् । तर, उनका अपेक्षा भने अझै पुरा भएका छैनन् । बुवाको पालाबाट सुरु भएको तेलपानी–भुरीगाउँ सडक नगेन्द्रले आफ्नो पालामा पनि पुरा हुने छाट देखेका छैनन् ।
सडककै कारण वीरेन्द्रनगरको आगनमै भएको नगेन्द्रको गाउँ निकै टाढाको वस्ती बनेको छ । ‘उहिलेदेखि सडक निर्माणको चर्चा सुरु भएको थियो,’ उनी भन्छन्, ‘६० वर्ष पुग्न लागियो त पनि बाटोको अवस्था सुध्रेको छैन ।’ नगेन्द्रका अनुसार २०४६ सालदेखि उक्तबाटोबाट आवतजावत सुरु भएको थियो ।
आर्थिक वर्ष २०६४/०६५ बाट भुरीगाउँ–तेलपानी खण्डमा सरकारले बजेट विनियोजन गर्न थालेको स्थानीय बताउँछन् । २०६९ सालसम्म यो सडकमा एक करोड ७६ लाख खर्च भएको भएपनि सडकको अवस्था उस्तै छ । उती बेला भेरी नदीबाट डोजर तराएर रानिघाटदेखि तेलपानीसम्म १८ किलोमिटर सडकको नयाँ ट्याक खोलिएको थियो ।
सडक निर्माणले गति लिएको बेला बर्दिया राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्रमा सडक विस्तार गर्न रोकेपछि अहिले यो सडक स्थानीयलाई सास्ती खेप्ने मार्ग बनेको छ । राष्ट्रिय निकुञ्जको अवरोधपछि सर्वोच्च अदालतले सडक विस्तारको बाटो खोलिदिएको भएपनि अहिले निकुञ्जको मध्यवर्ती क्षेत्रमा रुख कटान, जग्गा भोगाधिकार र भेरी नदीमा पुल निर्माणको काम हुन नसक्दा सडक विस्तारको काम हुन नसकेको तेलपानीका स्थानीय पदमबहादुर बडुवाल बताउँछन् ।
रुख कटान, जग्गा भोगाधिकार तथा भेरी नदीमा पक्की पुल निर्माणको टुङ्गो नलाग्दै निर्माण थालिएको सडक मर्मतमा प्रदेश र स्थानीय तहले ध्यान नदिएको यहाँका स्थानीयहरुको गुनासो छ । तेलापानी, सिरिचौर, हर्रेकाँडा लगायतका क्षेत्रमा उत्पादन हुने कृषिवस्तुहरु विशेष गरी आलु ढुवानीका लागि श्रमदानबाट सडक मर्मतको काम गर्दै आएको स्थानीयको दावी छ । उनीहरुलाई दैनिक घरायसी उपभोग्य समाग्री नुन, तेल, चामलसमेत लैजान समस्या छ । तेलपानीका स्थानीय देविराम ओलीले गत वर्ष २५ क्वीन्टल आलु उत्पादन गरेका थिए ।
गाउँमा उत्पादन भएको आलु रानीघाटसम्म पु¥याउन वर्षेनी सडक मर्मत गर्दै आएको ओली बताउँछन् । यति मात्रै होइन तेलपानीबाट अविकासकै कारण वर्षेनी बसाइसराई तीव्र बन्दै गएको बडुवाल बताउँछन् । यहाँका स्थानीयलाई सडकले मात्रै होइन बर्दिया राष्ट्रिय निकुञ्जका जनावरलेसमेत दुख दिइरहेका छन् । ‘बादर र बदेलले लगाएको बाली खाइदिन्छन्,’ ओली भन्छन्, ‘बर्खामा सुत्न पाइदैन । मकैको सिजनमा बादर र बदेलले सताउँछ ।’
अन्य समय बाघ र चितुवाले सताउने गरेको उल्लेख गर्दै उनले गएको कार्तिकको महिनामा मात्रै ३० वटा बाख्रा चितुवाले खाएको बताए । ‘२५ देखि ३० हजार मूल्य पर्ने पशुवस्तुको राहत मूल्य आठदेखि १० हजार मात्रै पाइन्छ,’ उनले भने, ‘निकुञ्जले दिने राहतमा पनि समानता छैन ।’ उनका अनुसार तेलपानीबाट बार्षिक पाँचदेखि ६ घरका दरले बसाई सरिरहेका छन् । २०७४ मा एक सय १५ घरधुरी रहेको तेलपानीमा २०८१ सम्म आइपुग्दा अविकासकै कारण बसाइसराई तीव्र बनेको छ । हाल यहाँ ८५ घरधुरीको बसोवास रहदै आएको ओलीले सुनाए ।
अविकासकै कारण विरामी पर्दा पिठ्युमै बोकेर बर्दिया तथा सुर्खेत लैजानु पर्ने बाध्ययता रहेको उनले सुनाए । मर्नुभन्दा बौलाउनु जाती भनझै निकुञ्ज क्षेत्रमा जनावरबाट हुने आक्रमणको जोखिम मोलरै भएपनि अस्पतालसम्म पुग्ने गरेको ओलीले दुखेसो पोखे । यहाँका विद्यार्थी कक्षा आठपछि माथिल्ला कक्षाहरुमा अध्ययन गर्न प्राय जसो बर्दिया र बाँकी वीरेन्द्रनर धाउनुपर्ने बाध्ययतामा रहेको ओलीले बताए ।
आर्थिक अवस्था कमजोर भएकाहरुको पढाई आठमा गएर टुङ्ग्निे गरेको उनी बताउँछन् । भेरी नदीमा पुल बनेर यो क्षेत्रमा सडक विस्तार नहुने हो र जंगली जनावरको जोखिम यसैगरी बढ्दै जाने हो भने यो क्षेत्र पुरै खाली हुने चिन्तामा छन् ओली । सुर्खेत–तेलापानी–भुरीगाउँ सडकले पूर्णता पाएको खण्डमा यो क्षेत्रको पर्या–पर्यटनको विकाससँगै स्थानीय उत्पादनले बजार पाउँदा पुनः बस्ती फर्काउ सकिने ओलीको तर्कको छ ।
बिहिबार (१८ पुस) मा तेलपानीकै गंगादेवी रखालको गोरु बाघले मा¥यो । पानी खुवान लगिएको गंगादेवीको गोरु बस्तीसँगै जोडिएको निकुञ्ज क्षेत्रमा बाघको आक्रमणमा परेको थियो । बाघले गोरु मारे निकुञ्जबाट राहत पाइने भएपनि त्यो पर्याप्त नरहेको बताउँदै गंगादेवीले सोलोडोलोमा राहत दिने परिपाटी ठिक नरहेको बताउँछिन् ।
अबदेखि निकुञ्ज क्षेत्रभित्र क्षति पुगेको खण्डमा राहत नपाईने नियम लागु हुँदैछ भन्ने थाहा पाएकी उनले आगनमै जोडिएको निकुञ्ज क्षेत्रमा जानै नपाइने स्थिती आए बस्ती नै छोड्नुको विकल्प नरहेको बताइन । १० वर्षअघिसम्म यस क्षेत्रमा हिंस्रक जंगली जनावरको आतङ्क त्यति हुँदैन थियो जो अहिले भइरहेको छ । ‘१० वर्षअघिसम्म जनावरले खासै दुख दिदैन थिए,’ उनी भन्छिन, ‘अहिले त दिनदिनै बाघ लगायतका हिंस्रक जनावर दैलोमै पुग्छन् ।’
उल्लेखित पात्रहरु कर्णाली प्रदेशको राजधानीसँग सटिएको भएपनि अविकासको कहरमा जीवनयापन गर्न बाध्य नागरिकका उदाहरणहरु हुन् । जो वर्षौदेखि विकासको भोको पेटसँग संघर्ष गरिरहेका छन् । प्रदेश राजधानीसँगै जोडिएको पालिका भए पनि यहाँ अझैसम्म विकासका प्रमुख पूर्वाधारहरू सडक, बिजुली तथा खानेपानीको सहज पहुँच विस्तार हुन सकेको छैन । शिक्षा र स्वास्थ्यमा पनि पिछडिएका छन् यी बस्ती । बाह्रै महिना चल्ने गतिलो सडक पूर्वाधार नहुँदा स्थानीयस्तरमा उत्पादन हुने कृषिवस्तुले बजार पाउँदैनन् ।
तेलपानी आलु उत्पादनका हिसावले ठुलो सम्भावना बोकेको क्षेत्र हो । यहाँका अधिकांश स्थानीयले आलु खेती गर्दै आएका छन् । पर्या–पर्यटनसँगै कृषिको सम्भावना राम्रो भएपनि सडककै कारण यहाँको आलुले उचित मूल्यसहितको बजार पाउन सकेको छैन । अर्कोतर्फ महंगो भाडामा कृषिजन्य उत्पादन ढुवानी गर्नुपर्ने बाध्यता छ । रानिघाटदेखि तेलपानीसम्म ट्याक्टरले १२ हजारसम्म ढुवानी भाडा लैजाने गरेका छन् ।
सडक नहुँदा स्थानीय कृषिवस्तुहरु बोकेर सुर्खेत र बर्दियासम्म लैजानुपर्ने बाध्ययता यहाँका किसानलाई छ । बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गतको सुर्खेत मध्यवर्ती क्षेत्रको आर्थिक वर्ष २०७५/०७६ को घरधुरी र जनसंख्या विवरण अनुसार भेरीगंगा नगरपालिका र बराहताल गाउँपालिकाको दक्षिण क्षेत्रमा एक हजार आठ सय ३३ घर धुरीमा नौ हजार नौ सय २५ जनसंख्या छ ।
यो जनसंख्या कुनै न कुनै कारणबाट जंगली जनावरको आतंकसँगै अविकासको कहर व्यहोर्न बाध्य बनिरहेको स्थानीयको गुनासो छ । सुर्खेतका दुई पालिकाका सातवटा वडामा चारवटा मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति गठन भएका छन् । जसमा बराहतालका १ र ३ तथा भेरीगंगाका १, २, ३, ४ र ५ नम्बर वडा मध्यवर्ती क्षेत्रभित्र पर्दछन् । यी क्षेत्रमा २०२३–२०२४ सालतिरबाट बस्ती थालिएको थियो । यो क्षेत्रमा अधिकांश वन पैदावारमा आश्रित सिमान्तकृत गरिब समुदायको बसोबास छ ।
रुख कटान र जग्गा भोगाधिकारकै अल्झन
मुलपानी–रानिघाट–भुरीगाउँ–तेलपानी सडक विस्तारको मुद्दा अहिलेको भने होइन । १६ असार २०७७ मा पूर्वाधार निर्देशनालय सुर्खेत र थोदुङ्ग÷जागृती जेभी बिच ठेक्का सम्झौता भई अघि बढेको सडकले सम्झौता मिति समाप्त हुन लाग्दा १० प्रतिशत भौतिक प्रगति गरेको छ ।
२२ माघ २०८२ सम्म निर्माण सम्पन्न गर्ने गरी १३ करोड २६ लाखमा सम्झौता भई १८ किलोमिटर सडकको काम अघि बढेको भएपनि हाल रुख कटान र जग्गा भोगाधिकारको अनुमति प्राप्त नहुँदा काम अघि बढ्न सकेको छैन ।
बराहताल गाउँपालिका–१ का वडाध्यक्ष बमबहादुर बडुवालले रुख कटान तथा जग्गा भोगाधिकारका लागि प्रभावित क्षेत्रमा लगत संकलन भएपनि काम अघि बढ्न नसकेको बताए । भेरी नदीमा पुल नहुँदा बाटो मर्मत गर्न डोजर लैजान समस्या हुनेभएपछि वडाले चार जना पिटौलीमार्फत बाटोको मर्मत गर्दै आएको उनले बताए ।
प्रदेश सरकार स्थापना भए पश्चात कर्णाली प्रदेश सरकारले भुरीगाउँ–तेलपानी सडकलाई अन्तरप्रदेश जोड्ने सडकका रूपमा प्राथमिकतामा राख्दै आएको जनाउँछ । सोही अनुसार चालु आर्थिक वर्षमा पनि यहीँ सडकका लागि प्रदेशले ५० लाख रुपैयाँ वजेट व्यवस्थापन गरेको छ । तर, सडकले पूर्णता पाउने विषयको टुङ्गो भने लाग्न नसकेको वडाध्यक्ष बडुवालले बताए ।
मुलपानी–रानिघाट–तेलपानी भुरिगाउँ सडक खण्ड अन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका–२ को रानिघाटस्थित भेरी नदीमा बन्ने भनिएको पुल १२ वर्षदेखि अलपत्र अवस्थामा छ । ६ असार २०६९ मा पप्पु कस्ट्रक्सन÷मल्ल जेभीसँग २८ पुस २०७२ मा पुल निर्माण सम्पन्न गर्नेगरी १४ करोड २९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । तर, १२ वर्षसम्म उक्त पुलका २ वटा पिलर मात्रै ठडिएका छन् । उक्त स्थानमा चट्टान भेटिएको भन्दै बन्द गरिएको निर्माणको काम त्यसयता अलपत्र अवस्थामा छ ।
पाँच दशकअघि चिठीपत्र पु¥याउन खनिएको भुरीगाउँ–तेलपानी सडक सुदूरपश्चिम र कर्णाली प्रदेशको लाइफलाइनका रूपमा विस्तार हुने भनिएको थियो । भुरीगाउँबाट कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको दूरी ५१ किलोमिटर छ । यो सडक विस्तार भएको खण्डमा भुरीगाउँबाट वीरेन्द्रनगर एक घण्टाभित्रै पुग्न सकिन्छ ।
बर्दियाको ठाकुरबाबा नगरपालिका–२ भुरीगाउँको अम्रेनीदेखि कर्णाली प्रदेशको बरहाताल गाउँपालिका तेलपानी हुँदै कर्णालीसम्म चिठीपत्र पु¥याउन तत्कालिन जिल्ला पञ्चायतले २०२५ सालमा हुलाकी सडकको रुपमा ट्याक खोलेको थियो । सुर्खेत–भुरीगाउँ जोड्ने यो सडक स्तरोन्नति हुन सके यहाँको बजार विस्तार हुनुका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेश कर्णालीसँगको छोटो दुरीमा जोडिने स्थानीहरु बताउँछन् । हाल कर्णालीका नागरिकलाई बर्दिया तथा सुदूरपश्चिम जान बाँकेको कोहलपुर पुग्नुपर्ने बाध्यता छ ।
ओम शाही । सुर्खेत । २३ पुष २०८१, मंगलवार १३:५८