बाँकेमा पुल र सडकका एक सय ३२ आयोजना

जिल्लामा लुम्बिनी प्रदेश तथा स्थानीय स्तरका पुल र सडकसम्बन्धी एक सय ३२ आयोजना सञ्चालन हुने भएका छन् । चालु आर्थिक वर्ष २०८१÷८२ मा तीमध्ये ५३ को सम्झौता भइसकेका, ५७ आयोजना मूल्याङ्कनको चरणमा र २२ आयोजनाको बोलपत्र आह्वान भइसकेको हो ।

सडक पूर्वाधार विकास कार्यालय नेपालगञ्जका प्रमुख दीपक खड्काका अनुसार चालु आवमा निर्माण सुरु गर्ने गरी २२ आयोजनाको बोलपत्र आह्वान भएको छ । रु. छ करोड ४३ लाख बराबरको सडक तथा पुलका आयोजना जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिकामा रहेका उनले जानकारी दिए ।

जिल्लामा सञ्चालित पुल र सडकका आयोजनालाई प्रदेश स्तरका प्रमुख राजमार्ग एवं प्रदेशका गौरवका योजना, प्रदेश पूर्वाधार विकास कार्यक्रम, प्रादेशिक सडक, साना सडक, स्थानीय तह पहुँच मार्ग, पर्यटन स्थल पहुँच मार्ग भनेर नामाकरण गरिएको सडक पूर्वाधार विकास कार्यालय नेपालगन्जले जनाएको छ ।

साथै सीमा सुरक्षापोष्ट सडक सञ्जाल कार्यक्रम, सीमा क्षेत्र विकास कार्यक्रम, कृषि सडक, सडक पुल क्रमागत, सडक पुल नयाँ र अधुरा ठेक्का व्यवस्थापनलगायत रहेका प्रमुख खड्काले बताए। सडक मर्मत, सुधार एवं सुरक्षा कार्यक्रमअन्तर्गत आवधिक मर्मतका साथै नियमित मर्मत भइरहेको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया