विक्रम बुढाक्षेत्री ।
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५, ललहीका कलीराम थारु ७० वर्षका भए पनि उनीमा खेती गर्ने जागर कम भएको छैन । त्यसैमा पनि ललैही गाउँभरिमा सबैभन्दा धेरै बगर खेती गर्ने किसानमा उनी पर्दछन् । थारुले गत वर्षमात्रै १० कट्ठामा खरबुजाको खेती गरेका थिए ।
ललही गाउँमा करिब ६० घरहरु रहेका छन् । जसमा अधिकतम घरहरुले राप्ती नदीमा बगर खेती गर्छन् । ललहीका किसानले अहिले समूह नै बनाएका छन्, ललही कृषि खेती समूह । जसको अध्यक्षमा छन्, ४६ वर्षका टेकराज थारु । ‘हुनत यो गाउँका धेरैजसोले बगर खेती गर्छन् । तर सबै समूहमा हुनुहुन्न । धेरैले आफ्नो–आफ्नो खेती गर्छन्,’अध्यक्ष थारु भन्छन् । अध्यक्ष थारु अन्य खेतीभन्दा बगर खेतीमा धेरै आम्दानी हुने भएकाले ललहीका किसानहरु बगर खेतीतर्फ आकर्षित भएको बताउँछन् ।
थारुको परिवार कृषि पेसामा आवद्ध छ । थारु वर्षभरि अन्नबाली, तरकारी र बगर खेतीगरी तीन प्रकारको खेती गर्दछन् । तर सबैभन्दा बढी आम्दानी बगर खेतीमा हुने गरेको थारुको बताउँछन् । उनले गत वर्ष ३ कट्ठामा खरबुजा र १० धुरमा मुमफलीको खेती गरेका थिए भने १५ क्वीन्टल खरबुजा र ५० किलो मुमफली उत्पादन गरेका थिए ।
ललहीका किसानले बगर खेती गर्न लागेको करिब ८÷१० वर्ष भइसकेको राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल बताउँछन् । ‘बगर खेतीमा लगानी कम लाग्ने, लगानीअनुसार आम्दानी बढी हुने र अर्को कुरा भनेको बगरखेती ३÷४ महिनामात्रै गर्नु पर्ने भएकाले पनि राप्ती सोनारीमा बगर खेतीको क्षेत्रफल बढ्दै छ,’ अध्यक्ष पौडेलले भने ।
राप्ती सोनारी कृषि शाखा प्रमुख चन्द्राकुमारी शाही गत वर्ष करिब एक सय कट्ठाभन्दा बढी क्षेत्रफलमा बगर खेती गरिएको बताउँछिन् । उनी बगर खेतीको अनुगमन पनि बेला–बेलामा भइरहको बताउँछिन् । ‘राप्ती सोनारीमा संचालित बगर खेती कार्यक्रम पालिकाको महत्वपूर्ण कार्यक्रम हो । बगर खेतीमा लहरे तरकारी र बढी मात्रामा खरबुजा उत्पादन हुने गर्छ,’ शाही भन्छिन् । बगर खेती गर्ने किसानलाई उनीहरुको आवश्यकताका आधारमा गत वर्ष पालिकाले विभिन्न सामग्रीसमेत वितरण गरेको उनको भनाइ छ ।
बगर खेती सुख्खा समयमा हुने भएकाले ललहीका किसान अब बगर खेती गर्ने चटारोमा जुट्दै छन् । ‘पहिला पहिला धेरैजसोले माघी मानेर बगर खेती सुरु गर्ने चलन थियो । अहिले पुषको अन्तिमबाटै बगर खेती सुरु गर्ने गरेका छौं,’ थारुले भने ।
ललहीका किसानले लगाएको बगर खेतीले बैशाख महिनाबाट उत्पादन दिने गर्दछ । उत्पादन सुरु भएपछि किसानहरुको बास नै बगर खेती लगाएको स्थानमा हुने गरेको छ ।
युग संवाददाता । बाँके । १९ मंसिर २०८१, बुधबार १६:३८