नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई ३ विकेटले हराएको छ ।
कर्णालीले दिएको १ सय ५० रनको लक्ष्य काठमाडौं गुर्खाजले ३ बल बाँकी छँदा ७ विकेट गुमाएर भेटायो । काठमाडौंका सुमित महर्जनले नटआउट ४०, गेरहार्ड इरस्मसले ३८, कप्तान करण केसीले २८ रन बनाए । कर्णालीका कप्तान सोमपाल कामी, नन्दर यादव, गुल्सन झा, जीशान मक्सूद र विपिन शर्माले १÷१ विकेट लिए ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४९ रन बनायो । कर्णालीका शिखर धवनले नटआउट ७२ रन बनाए । प्रतियोगिताको पहिलो अर्धशतक बनाउने क्रममा धवनले ५१ बलमा ५ छक्का र ४ चौका प्रहार गरे । काठमाडौंका गेरहार्ड इरस्मसले २ विकेट लिए ।
प्रतियोगितामा काठमाडौंको यो पहिलो जीत हो । काठमाडौं पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो । कर्णालीले भने लगातार दोस्रो हार बेहोरेको छ । कर्णाली पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।
युग संवाददाता । काठमाडौं । १९ मंसिर २०८१, बुधबार १३:४३