थारु परम्परा र काष्ठकलाः गाभर होमस्टेको अनुपम पहिचान


सरला सुवेदी ।
बाँके जिल्लाको गाभर गाउँमा अवस्थित गाभर होमस्टे थारु समुदायको परम्परागत कला, सिप, र ज्ञानको संरक्षणमा अनवरत योगदान पु¥याउँदै आएको छ । थारु समुदायको जीवनशैली, सांस्कृतिक धरोहर, र हस्तकला झल्काउने थलोको रूपमा यो होमस्टे परिचित छ । विशेषगरी यहाँ निर्माण गरिने काष्ठकलाका सामग्रीहरूले केवल स्थानीय संस्कृति उजागर गर्दैनन्, पर्यटकहरूको आकर्षणको केन्द्र पनि बनिरहेका छन् ।

गाभर होमस्टेले थारु समुदायको सांस्कृतिक सम्पदालाई काष्ठकलाको माध्यमबाट संरक्षण गर्ने महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यो होमस्टेले परम्परागत थारु जीवनशैलीसँग सम्बन्धित काष्ठकलाका सामग्रीहरू उत्पादन र बिक्री गर्दछ । होमस्टेका सञ्चालक कृष्ण चौधरीका अनुसार, थारु परम्परा झल्कने हस्तकला सामग्रीहरू विदेशी र स्वदेशी पर्यटकहरूका लागि विशेष आकर्षण बनेका छन् ।

यहाँका काष्ठकलाका सामग्रीहरू बबुर, कुसुम, सिसम, साधन सिसम, सतिसाल, र बिजयसाल जस्ता परम्परागत काठहरूबाट निर्माण गरिन्छन् । यी काठहरूले टिकाउपन र सौन्दर्य दुवै दिन्छन् । परम्परागत थारु शैलीमा बनाइने ओखल, किस्टि, गिलास, बेल्नाचौका, डोकनि, ठेकी आदि सामग्रीहरू पर्यटकहरूको सम्झना स्वरूप लिने प्राथमिकतामा पर्छन् ।

गाभर होमस्टेले आफ्नो हस्तकलालाई मात्र बिक्री गर्दैन, यसलाई संग्रहालयका रूपमा पनि विस्तार गरेको छ। यो संग्रहालयमा थारु समुदायको काष्ठकलाको परम्परागत वस्तुहरू प्रदर्शित छन्। यी वस्तुहरूले थारु जीवनशैली र परम्पराको झलक दिन्छन् । पर्यटकहरू यी वस्तुहरू अवलोकन गरेर थारु संस्कृतिको गहिराइ बुझ्न सक्छन् ।

संग्रहालयमा राखिएका सामग्रीहरूलाई परम्परागत स्वरूपमा तयार गर्न कारीगरहरूको विशेष योगदान रहेको छ । थारु काष्ठकलाको विशेषता भनेको स्थानीय र प्राकृतिक स्रोतहरूको उच्चतम प्रयोग हो, जसले यसको मौलिकता झल्काउँछ ।

गाभर होमस्टेले भारत लगायतका विभिन्न देशबाट आउने पर्यटकहरूलाई आकर्षित गरेको छ । थारु काष्ठकलामा आधारित सामग्रीहरू विदेशी पर्यटकहरूका लागि विशेष रुचिको विषय बनेका छन् । विशेषगरी भारतीय पर्यटकहरूले यहाँका सामग्रीहरू किन्नमा धेरै चासो देखाउने गरेका छन् । थारु काष्ठकलाको सौन्दर्य र टिकाउपनले पर्यटकहरूलाई आकर्षित गरिरहेको हो ।

कृष्ण चौधरीका अनुसार, पर्यटकहरू यी सामग्रीहरू केवल किनमेलका लागि मात्र होइन, थारु जीवनशैली र परम्पराको झलक पाइने थलोका रूपमा पनि गाभर होमस्टे आउँछन् । गाभर होमस्टेको प्रयासले थारु समुदायका युवाहरूलाई हस्तकला र काष्ठकला तर्फ आकर्षित गराएको छ । स्थानीय युवाहरू काष्ठकलामा आधारित उद्यम सञ्चालन गर्न प्रेरित भएका छन् । यो होमस्टेले युवाहरूलाई तालिम, रोजगारी, र सीप विकासमा योगदान पु¥याएको छ ।

थारु समुदायको परम्परागत ज्ञान र सिपमा आधारित काष्ठकलालाई आधुनिक बजारसँग जोड्न गाभर होमस्टेको भूमिका महत्वपूर्ण छ । युवा पुस्ताले परम्परागत कलालाई आधुनिक शैलीमा प्रस्तुत गर्ने अवसर पाएको छ । यसले न केवल थारु समुदायको पहिचान बलियो बनाएको छ, तर रोजगारीका अवसर पनि सिर्जना गरेको छ ।

थारु काष्ठकलाको संरक्षण गर्नका लागि स्रोतको सही व्यवस्थापन, कारीगरहरूको सम्मान, र बजार विस्तारको आवश्यकता छ । गाभर होमस्टेले परम्परागत ज्ञान र आधुनिक प्रविधिको संयोजनमार्फत यी चुनौतीहरू सामना गरिरहेको छ ।

थारु समुदायको जीवनशैली, परम्परा, र कलालाई उजागर गर्ने यो होमस्टेले न केवल बाँके जिल्लाको विकासमा योगदान पु¥याएको छ, तर नेपालभरका अन्य समुदायहरूका लागि प्रेरणा पनि बनेको छ । गाभर होमस्टे थारु परम्परागत काष्ठकलाको संरक्षण र प्रवर्द्धनको एक ज्वलन्त उदाहरण हो । यो केवल होमस्टे मात्र नभएर थारु जीवनशैलीको एक प्रतिविम्ब हो । यसले थारु समुदायको सांस्कृतिक पहिचानलाई जोगाउनुका साथै आर्थिक रूपमा सशक्त बनाउन पनि महत्वपूर्ण योगदान पु¥याएको छ ।

थारु समुदायको परम्परागत ज्ञान, कला, र सिपलाई संरक्षण गर्दै यसको व्यापारिक सम्भावनालाई पहिचान गर्नु नेपालका अन्य ग्रामीण क्षेत्रहरूका लागि पनि प्रेरणादायी अभ्यास बन्न सक्छ । गाभर होमस्टेको यो प्रयासले थारु समुदायको हस्तकला र परम्परालाई नयाँ उचाइमा पु¥याउनेमा कुनै शंका छैन ।

तपाईको प्रतिक्रिया