हटारु हराए तर भारी बिसाउने, बाबियाचौर बन्दैछ सहरिकरणको हब


कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरदेखि ४५ किलोमिटर दुरीमा छ बाबियाचौर बजार । पञ्चपुरी नगरपालिकामा पर्ने बाबियाचौर सुर्खेत पश्चिम क्षेत्रको प्रशासनिक केन्द्र पनि हो । ५० को दशकसम्म दैलेख, कालिकोट, जुम्ला, मुगु, हुम्ला, बाजुरा र अछामका नागरिकहरु कैलालीको चिसापानी र बर्दियाको राजापुर पुग्ने हटारु मार्ग थियो । कल्यानकाँध लखरपाटा हुँदै ब्यूरेनी र जंगलाघाटबाट जानेहरु गुटु भएर पुग्ने मिलनविन्दु जामु (तिखाकुना) थियो । भेरी नदी वारपार गर्न उ बेला पुल थिएनन् ।

काठको डुंगा चढेर जामुबाट कुइने जानुपथ्र्यो । अहिले गाउँमा नुन, तेल, खाद्यान्नलगायत आवश्यक बजारिया सामान किन्न धेरै टाढा जानै पर्दैन । तर राजापुर, कट्टासे र चिसापानी हाट हुँदाको हाम्रो चल्तीको वाणिज्य मार्गमा हाम्रा अघिल्ला पुस्ताहरुले पैत्तला खियाएका छन् । लामो मार्गका पैदलमार्ग सडक सुविधाले बन्द भइरहँदा पुर्खाहरु ओहोर दोहोर गरेको बाबियाचौर जुरमुराउन थालेको छ । ‘२०२२ सालतिर बाबियाचौर क्षेत्र पूरै जंगल थियो । औलामा गन्न सकिने अवस्थामा केहीले जग्गा पास गरेका थिए,’ स्थानीय ७४ वर्षीय अम्मरबहादुर खड्का बाल्यकाल सम्झिदै भन्छन्, ‘त्यो समयमा त्यहाँ कुनै वस्ती थिएन् । हिँडेर जाने हटारु बाटो थियो । हाल बनेको विद्युतको सवस्टेशन क्षेत्रमा एक दुई जना घर निर्माण र खेतीका लागि ठाउँ बनाउँदै थिए ।’ विद्यापुर, गुटुदेखि पश्चिमबाट आउनेहरु बाबियाचौर बजार भएर सदरमुकाम वीरेन्द्रनगर पुग्थे । हटारु र देश गएकाहरु चिसापानीबाट बाबियाचौर आसपासबाट पहाड र हिमाली जिल्लाहरुका लागि पैदल यात्रा तय गर्थे ।

२०५१ पछि विस्तारै सडकको ट्र्याक बड्डीचौर हुँदै बाबियाचौर गुटु छिचोलियो । २०५७ सालसम्म बाबियाचौरमा साना पसल र केही घरहरु निर्माण गरिए । बाबियाचौरको बाँकी क्षेत्रमा खेती गरिन्थ्यो भने सडक किनारामा आँखाले गणना गर्न सकिने घरहरु बनेको स्थानीय खड्का बताउँछन् । ‘छिटपुट घरहरु बनेपनि विस्तारै बस्तीमा रुपान्तरण भएको २०५१ पछि हो,’ स्थानीय जीवन ढुंगाना भन्छन्, ‘बाजे र बुवा (महेन्द्रप्रसाद ढुंगाना) २०२४ सालमै बाबियाचौर झरिसक्नु भएको हो । पातलो बस्ती त्यति बेला नै बसेको थियो ।’ पहिलो चरणमा २००४ साल र २०२८ सालमा नापी भएको रेकर्डमा छ ।

भुगोल बुझेकाले बस्ती बसाए
ठूलो जंगल र बाह्र बण्डालको परिचय बाबियाचौरको हो । बाबियाचौरमा २०२२ सालसम्म सबैतिर बस्न सकिने अवस्था थिएन् । त्यो समय छिटपुट ठाउँअनुसार विस्तारै बस्ती बसेको थियो । हटारु हिँडेकै बेला आवतजावत गर्दा बाबियाचौरको अवस्था बुझेकाहरुको बस्ती नै अहिले बढी छ ।
दैलेख, अछाम, कालिकोट, जुम्ला जिल्लाका नागरिकहरु बाबियाचौर र सुर्खेत पश्चिमका अन्य ठाउँमा बसोबास गरिरहेका छन् । बसाईको तुलना गर्ने हो भने बाबियाचौरमा दैलेख र अछामकै बाहुल्यता छ । जिल्लाका पुराना बस्ती लाटीकाँडा, चनाली, खमारी, निमारे, बरैचे, माल्हाफे, भावर नै मुख्य गाउँ हुन् ।

विस्तारै सडक सुविधा थपिएपछि पाखाका नागरिकहरु बाबियाचौर झरेको स्थानीय ढुंगाना बताउँछन् । ‘बाबियाचौरमा अहिले धेरै जसो दैलेख जिल्लाको वस्ती छ, त्यसपछि अछामको हो,’ ढुंगाना भन्छन्, ‘हटारु मार्ग भएको बेला भुगोल बुझेकाहरु नै विस्तारै पहाडी र हिमाली जिल्लाबाट सुविधाका लागि बाबियाचौर झरेका हुन् ।’

प्रशासनिक केन्द्रको हब
बाबियाचौरलाई प्रशासनिक केन्द्रको रुपमा विकास गर्न बेला बखत ठूलै राजनीतिक मुद्दा बन्छ । अपेक्षाकृत विकासमा राजनीतिक दल चुकेका छन् । साविकको ११ वटा गाविस पोखरीकाँडा, सालकोट, छाप्रे, बाबियाचौर, विद्यापुर, गुटु, तातापानी, घाटगाउँ, बिजौरा, लगाम र वेतानको केन्द्र हो बाबियाचौर ।

२०७३ सालमा ईलाका प्रशासन कार्यालय स्थापना गरिएको थियो । हाल प्रशासनले नयाँ नागरिकता, प्रतिलिपि, थर र जनजाती प्रमाणित, राष्ट्रिय परिचय पत्रको दर्ता गर्दै आएको छ । चालु आर्थिक वर्षमै राहदानी वितरणका लागि स्वीकृत पाएकाले सञ्चालनको तयारी गरिएको छ । प्रशासनभन्दा पहिला नै ‘क’ श्रेणिको ईलाका प्रहरी कार्यालय स्थापना छ ।

प्रहरीलाई मुद्दा दर्ता गर्न र चलाउनेसम्मको अधिकार छ । तर, सडक असहजताका कारण गम्भीर प्रकृतिका मुद्दाको म्याद थप गरेर थुनुवा २४ घण्टामा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पु¥याउनु पर्ने बाध्यता छ । नापी र मालपोत कार्यालय स्थापनामा राजनीतिक नेतृत्व लागेको देखिदैन् । यी दुई कार्यालय स्थापना भएमा प्रशासनिक केन्द्र बाबियाचौर बन्ने निश्चित छ ।

ओझेल तर पर्यटनमा धनी
वीरेन्द्रनगरपछि धार्मिक र प्राकृतिले भरीपूर्ण पर्यटकीयस्थलको गन्तव्य हो पञ्चपुरी । प्रशिद्ध, धार्मिक, ऐतिहासिक तथा मनमोहक डाँडामा रहेको साविक छाप्रे गाविसमा पर्ने माइको मन्दीर पञ्चपुरीबाट नामाकरण गरिएको नगरपालिका हो । तर कतिपयले ऊ बेला पञ्च भलाद्मीहरु महत्वपूर्ण निर्णय गर्दा सबै जम्मा भएर निर्णय लिने गरेकाले त्यसैबाट पञ्चपुरी रहेको बताउँछन् ।

पञ्चपुरीमा चमेरे गुफा, जाजुरा दह, शिव धाम, कुण्डलीनी गुफा, पञ्चपुरी माइको मन्दिर, कर्णाली–भेरी नदीको संगमस्थल, पाण्डप गुफा, मुली दह, हात्ती सुडे जस्ता ऐतिहासिक, धार्मिक र प्राकृतिक क्षेत्रहरु छन् । पर्यटनमा धनी पञ्चपुरीले पूर्वाधार विकासमा ध्यान दिए आम्दानीको स्रोत बढ्नेछ । बाबियाचौर शहरमा रुपान्तरण भइरँदा यी क्षेत्रको विकासका लागि नगरपालिका गम्भीर बने वीरेन्द्रनगरपछि दोस्रो ठूलो पर्यटनमा सम्पन्न पालिका हुनेमा दई मत छैन ।

छोइ सक्नु छैन जग्गाको मूल्य
बाबियाचौर भएर नै चिसापानी–अछाम र पूर्व पश्चिम मदन भण्डारी राजमार्गले छोएको छ । लिंक रोडका कारण भविष्यमा वीरेन्द्रनगरपछिको तेस्रो ठूलो शहरको रुपरेखा तय बाबियाचौरले गरिसकेको छ । कच्ची र परम्परागत घर रहेको बाबियाचौरमा विस्तारै आरसीसी ढलान घर निर्माण धमाधम भइरहेका छन् ।

चिसापानी–कुइने, बाबियाचौर–जंगलाघाट अछाम सडक र बड्डीचौर–बाबियाचौर–विद्यापुर सडक कालोपत्रे सम्पन्न भएमा दैलेख, कालिकोट, मुगु, जुम्ला, हुम्ला र बाजुराका नागरिकहरु बाँके–बर्दिया तथा कैलाली र कञ्चनपुर आवतजावत गर्ने छोटो दुरीको केन्द्रविन्दु बाबियाचौर हुनेछ ।

वर्षातको समयमा बाहेक सुख्खा मौसममा कच्चि सडकमा सवारी बाबियाचौर भएर नै कैलालीको चिसापानी पुग्ने गरेका छन् । खेतीको उर्भरभूमी बाबियाचौर उपत्यका यतिबेला धमाधम खण्डिकरण भइरहेको छ । जग्गाको मूल्य आकाशिएको छ । रोपनीमा बिक्री हुने जज्जा अहिले प्रति मिटर तीन÷चार लाखमा किनबेच भइरहेको छ ।

बढ्दो जनसंख्या, शिक्षामा अपेक्षाकृत सुधार
पछिल्लो १० वर्षको जनसंख्या हेर्ने हो भने पञ्चपुरी नगरपालिका जनसंख्या बढ्दो क्रममा छ । सुर्खेतका नौं स्थानीय तहमध्य जनसंख्या वृद्धि हुने नगरपालिकाको तेस्रो सूचीमा पञ्चपुरी छ । २०६८ सालमा ६ हजार तीन सय चार घरधुरी रहेको पञ्चपुरीमा ३२ हजार दुई सय ३१ जनसंख्या थियो ।

१० वर्षपछि अर्थात् २०७८ को जनगणनामा १.०२ प्रतिशतले वृद्धि भएर १७ हजार दुई ३० पुरुष र १८ हजार ६ सय नौ महिला गरी ३८ हजार आठ सय ३९ पुगेको छ । बढेको जनसंख्याको ठूलो हिस्सा बाबियाचौरमै बढी रहेको छ । जनसंख्या वृद्धि हुने पालिकाको पहिलो सूचीमा वीरेन्द्रनगर र दोस्रोमा भेरीगंगा छ । पञ्चपुरीमा सात हजार आठ सय तीन घरधुरी, औसत परिवारको आकार ४.५९ प्रतिशत र साक्षरता ७८.५१ प्रतिशत छ ।

सुविधाहरु थपिँदै जानु र आवतजावतका लागि तराई, सदरमुकाम र पहाडी जिल्लामा सहज बनेपछि बर्षेनी बसाइँसराई बढ्दो क्रममा छ । बाबियाचौरमा उच्च माध्यमिक तहसम्म पढाइ हुने सामुदायिक विद्यालय छन् । बाबियाचौरदेखि पाँच किलोमिटरको दुरीमा रहेको विद्यापुरमा जनता बहुमुखि क्याम्पस छ । यो मध्यपश्चिम विश्वविद्यालयको आंज्ञिक क्याम्पस हो । बाबियाचौरमा नीजि क्षेत्रले बोर्डिङ स्कुल सञ्चालन गरिरहेका छन् । शिक्षाको सुधारका लागि नगरपालिकाले आवश्यक ध्यान पु¥याइरहेको दावी गरिरहेको छ ।

सालकोटको पलैटेमा प्राथमिक स्वास्थ्य चौकी छ । एक स्थानीय तह एक अस्पताल निर्माणका लागि २०७७ मा यहीँ स्वास्थ्य चौकीको स्तरोन्नति गर्नेगरी तत्कालिन स्वास्थ्य राज्यमन्त्री नवराज रावतले शिलान्यास गरेका थिए । उनले १५ मंसिर २०७७ मा १५ सैयाको अस्पतालको शिलान्याससमेत गरेका थिए । तर अस्पताल निर्माणले हालसम्म गति लिएको छैन् । यो अस्पताल निर्माण समयमै गरे

‘व्यवस्थित शहर बनाउन आवश्यक कानून बनाइसकेका छौं’

लालबहादुर भण्डारी
प्रमुख पञ्चपुरी नगरपालिका, सुर्खेत
अव्यवस्थित बसोबासका कारण वीरेन्द्रनगरले झेलिरहेको अहिलेको समस्या बारे हामी जानकार छौं । वीरेन्द्रनगर जत्तिकै उपत्यका बाबियाचौरको छैन् तर बस्नका लागि उपयुक्त ठाउँ हो । कुनै बेला बाह्र बण्डाल बाबियाचौर उपत्यकामा अहिले मानव वस्ती बढिरहेको छ । शहरीकरणका लागि जग्गाहरु धमाधम खण्डिकरण भइरहेका छन् । १० वर्ष अघिसम्म प्रति रोपनी ठाउँ हेरेर दुई लाखसम्म पर्ने जग्गा अहिले मिटरमा बिक्री हुन थालेको छ ।

स्थानीय तह लागू भएपछि शहरीकरणसँगै रोजाईको ठाउँ बनिरहेको छ । प्रायः कच्चि घर भएको बाबियाचौर क्षेत्रमा अहिले पक्की ढलान घरहरु बनिरहेका छन् । ऐलानी जग्गाका कारण ढल निकाशको चुनौती छ । पहिलो चरणमा पञ्चपुरी भित्रका आठ सय बढीलाई लालपूर्जा वितरण गरिसकेका छौं । झण्डै १२ सयको जत्तिको नापजाँच गर्न र केही प्रक्रियामा गएकाहरुलाई पूर्जा विवतरण रोकिएको छ ।

भविष्यको शहरतर्फ बाबियाचौर उन्मुख भएपछि हामीले घर नक्शा पास कार्यविधि लागू गरेका छौं । भू–उपयोग नीति कार्यान्वयनमा छ । सघन शहरी विकास लागि बजेटको सुनिश्चितता गर्दैछौं । फोहोरमैला व्यवस्थापन गर्न कानुन बनाएर व्यवस्थित बनाउँदैछौं । खानेपानीको सहज आपूर्ती नै छ । हाल झण्डै १२ सय घरधुरीमा खानेपानी वितरण गरिँदै आएको छ ।

मुख्य राजमार्गमा ३० मिटर, अन्य सडक छेउमा दायाँबायाँ ६÷६ र भित्रि सडक फुटपाथसहित तीन तीन मिटर बनाएर घर बनाउन मापदण्ड लागू गरिसकेका छौं । शहरीकरणमा विकास भइरहेको बाबियाचौरलाई अझै व्यवस्थित शहर बनाउन नगरपालिका गम्भीर भएर लागेको छ ।
क्रुप शहर होइन व्यवस्थित र सुन्दर शहर दीर्घकालिन लाइनको थिति अहिले नै हामीले बसाउन खोजेका छौं । नगरपालिकाले बनाएका कानुनअनुसार सुन्दर शहरको रुपमा विकास गर्नमा सबैको साथ र सहयोगबाट अघि बढिरहेका छौं ।

तपाईको प्रतिक्रिया