जाजरकोटमा एमाले उम्मेदवार चढेको गाडीमा ढुंगा प्रहार


जाजरकोट, नलगाड नगरपालिका–१, चिउरीमा बिहीबार अज्ञात समूहले एमाले उम्मेदवार चढेको गाडीमाथि आक्रमण गरेका छन् । नलगाड नगरपालिकाको उपमेयर पदकी उम्मेदवार सुनिता बोहरा चढेको गाडीमा ढुंगा प्रहार भएको एमालेका केन्द्रीय सदस्य चन्द्रप्रकाश घर्तीले जानकारी दिएका छन् । नलगाड नगरपालिकाको १ नम्बर सो वडा ७९ को निर्वाचनमा नेकपा माओवादी केन्द्रले जित हासिल गरेको थियो ।

उक्त गाडी (लु २च ६२२४) दल्लीबाट चिउरीतर्फ जाँदै गर्दा नलगाड–१, सिमपानी भन्ने ठाउँमा आक्रमण भएको थियो । ढुंगा प्रहारबाट जिपमा सामान्य क्षति पुगेको र आक्रमणकारी समूह भागेको जनाइएको छ ।

गाडीमा एमाले पोलिटब्युरो सदस्य भैरवसुन्दर श्रेष्ठ, केन्द्रीय सदस्य चन्द्रप्रकाश घर्ती, उम्मेदवार सुनिता बोहरा, अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष नारायण घर्ती, र प्रेस चौतारी जाजरकोटका अध्यक्ष विनोदकुमार घर्ती सवार थिए ।

जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम पाण्डेका अनुसार गाडीको अगाडिको भागमा क्षति भएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

उम्मेदवार सुनिता बोहराले घटनाबारे प्रहरीलाई खबर गरिएको र आफूहरूले चुनावी प्रचारका क्रममा यस्तो घटना भोग्नुपर्दा चिन्ता व्यक्त गरेकी छिन् । निर्वाचन सुरक्षा व्यवस्थामाथि प्रश्न उठाउँदै एमालेले दोषी पत्ता लगाएर कारबाही गर्न माग गरेको छ ।

तपाईको प्रतिक्रिया