आमा समूहले सुरु गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम


जिल्लाको खाँडादेवी गाउँपालिका– ३ भिरपानीका स्वास्थ्य आमा समूहले निजी खर्चमा ‘हरेक बार खाना चार’ अभियानअन्तर्गत सुत्केरी तथा गर्भवती महिलाहरूलाई पोषण नाङ्लो कार्यक्रमअन्तर्गत पोषण सामग्री हस्तान्तरण गरेका छन् ।

खाँडादेवी गाउँपालिका– ३ भिरपानीमा रहेको ईश्वर स्वास्थ्य आमा समूह सुनुवार खोकले गाउँकी गर्भवती टिना सुनुवारलाई पोषण नाङ्लो कार्यक्रमअन्तर्गत पोषण सामग्रीहरू हस्तान्तरण गरेको छ । आमा समूहले यसअघि पनि सोही वडामा रहेको लालुपाते स्वास्थ्य आमा समूह कुतुर्षाले सकुन्तला भुजेल, रविना खाती र बबिना खातीलाई जनचेतना स्वास्थ्य आमा समूहले पोषण सामग्री हस्तान्तरण गरेका थिए ।

त्यसैगरी, सोही वडामा रहेको अर्को जनचेतना स्वास्थ्य आमा समूह भिरपानी आँपचौरले स्वस्तिका कार्की, तुलसा विकसमेतलाई पोषण सामग्रीहरू हस्तान्तरण गरेको थियो । त्यस्तै, देवी स्वास्थ्य आमा समूह कम्रातीले गाउँमा रहेका गर्भवती महिलाहरू दिलमाया श्रेष्ठ र रिता श्रेष्ठलाई र जनज्योति स्वास्थ्य आमा समूह सित्खाटारले अस्मिता श्रेष्ठ र गंगा श्रेष्ठलाई पनि पोषण नाङ्लो कार्यक्रमअन्तर्गत पोषण खानेकुरा वितरण गरेका छन् ।

सोही कार्यक्रमअन्तर्गत भिरपानीकै जनसेवा स्वास्थ्य आमा समूह सित्खाले अञ्जना र अस्मी माझी, बगैँचा सेतीदेवी स्वास्थ्य आमा समूहले नानुमाया माझीसहित कुल १३ जना गर्भवतीलाई पनि पोषण सामग्रीहरू हस्तान्तरण गरिएको भिरपानी स्वास्थ्य चौकी आँपचउरका स्वास्थ्यकर्मी नारायणकृष्ण मानन्धरले जानकारी दिए ।

गाउँमा रहेका सुत्केरी तथा गर्भवतीलाई पोषण कार्यक्रममार्फत आफूहरूले निजी खर्चमा पोषण सामग्री हस्तान्तरण गर्दै आएको ईश्वर स्वास्थ्य आमा समूहकी सचिव एवं महिला स्वास्थ्य स्वयंसेविका तेजकुमारी सुनुवारले जानकारी दिइन् । उनले सुत्केरी र गर्भवतीको स्वास्थ्यलाई ख्याल राख्दै गाउँमा सुरुवात गरिएको यस कार्यक्रमलाई निरन्तरता दिँदै जाने बताइन् ।

तपाईको प्रतिक्रिया