कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका शिक्षक तथा कर्मचारी आन्दोलित भएका छन् । आफूहरूको लामो समयदेखि बढुवा नभएको भन्दै ५८ जना बढुवाका योग्यता पुगेका शिक्षक र कर्मचारी आन्दोलित भएका हुन् ।
उनीहरुले कालोपट्टी बाँधेर कार्यालयको कामकाज गर्दै प्रतिष्ठान परिसरमा पत्रकार सम्मेलनमार्फत माग सार्वजनिक गरेर आन्दोलन घोषणा गरेका हुन् । उनीहरुले कात्तिक २७ गते मंगलबार पेनडाउन गर्ने, बुधबार प्रक्रिया पुगिसकेकालाई बढुवा गर्न नसकेको बारे सर्वदलीय बैठक बोलाइदिन जिल्ला समन्वय समितिसँग आग्रह गर्ने र बिहीबारसम्म पनि पदाधिकारीले कुनै सुनुवाइ नगर्ने स्थिति भए अस्पताल बाहेकका सबै सेवा ठप्प पार्ने र नियमित आन्दोलन जारी राख्ने लगायतका कार्यक्रम सार्वजनिक गरेका छन् ।
लामो समयदेखि प्रतिष्ठानमा कार्यरत स्थायी कर्मचारीलाई स्तरोन्नतिको प्रक्रिया अगाडी बढाउन नखोज्नु बिडम्बना भएको विज्ञप्ति मार्फत जनाएका छन् । यसअघि पनि प्रतिष्ठानका बढुवाको योग्यता पुगेका १० जना कर्मचारीहरुलाई पदाधिकारीले बढुवा गर्न नमान्दा अदालतमा मुद्दा परेको थियो । उच्च अदालत सुर्खेतको जुम्ला इजलासले कर्मचारीहरुको पक्षमा आदेश दिएको थियो । अदालतको फैसला कार्यन्वयन गर्न समेत पदाधिकारीले नमानेपछि कर्मचारीले फेरि आन्दोलन थालेका थिए ।
त्यसपछि २०८० भदौ २१ गते दुई पक्षीय सम्झौता भइ असोज ८ गते बढुवाको पत्र दिइएको थियो । अहिले पनि त्यही अवस्था दोहोरिएको कर्मचारीहरुको भनाइ छ । उतिबेला बाँकी सबै स्थायी कर्मचारीको बढुवा प्रक्रिया २०८० असोज १ गतेबाट अगाडि बढाउने र बढुवा नहुन्जेलसम्मका लागि योग्यता र प्रक्रियाका आधारमा थप जिम्मेवारी दिने लगायतका ६ बुँदामा प्रतिष्ठानका कर्मचारी र पदाधिकारी बीच सम्झौता भएको थियो । अहिले प्रक्रियागत रुपमा ५८ जना शिक्षक तथा कर्मचारी बढुवाको सुचीमा परेका छन् । तर पदाधिकारीहरु बढुवा गर्न मानिरहेका छैनन् ।
भदौ २६ गते अदालतले कर्मचारीको पक्षमा फैसला सुनाएको थियो । अदालतको पूर्णपाठ आइसकेपछि असोज १६ र कात्तिक ९ गते कर्मचारीहरुले लिखित रुपमै फैसला कार्यन्वयनका लागि पदाधिकारी समक्ष निवेदन दिए पनि कुनै प्रतिक्रिया नआएको उनीहरुको गुनासो छ । कात्तिक २३ गते ५८ जना शिक्षक तथा कर्मचारीको बैठकले भोलिपल्ट गते दबाबमूलक कार्यक्रम गर्ने पदाधिकारीलाई जानकारी दिएका थिए । त्यही दिन पदाधिकारी र कर्मचारीको वार्ता समेत भएको थियो ।
वार्तामा कात्तिक २८ गते कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीमा हुने प्रतिष्ठानको सभा बैठक र दीक्षान्त समारोहमा तथा कार्यकारी परिषद्को निर्णय मार्फत सभाबाट अनुमोदन हुने गरेर प्रस्ताव लैजाने सहमति भएको थियो । सहमतिमा पदाधिकारीको तर्फबाट शिक्षाध्यक्ष डा. डबलबहादुर धामी र रजिष्टार नृपेन्द्र महत समेतले हस्ताक्षर गरेका थिए । तर प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले हस्ताक्षर नगर्ने भन्दै सहमति भंग गरेको प्रतिष्ठानका लेखा अधिकृत इन्द्र डाँगीले बताए ।
‘कार्यालय प्रमुखनै संस्था र कर्मचारीप्रति नकरात्मक बन्नु आफैँमा बिडम्बनाको विषय भएको ठहर हामी शिक्षक कर्मचारीले गरेका छौं,’ उनले भने । २०६८ मा स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ शय्याको अस्पताल छ । स्नातक र स्नातकोत्तर तहका शैक्षिक कार्यक्रम चलिरहेको यो संस्थामा ४ सय भन्दा बढी शिक्षक तथा कर्मचारी कार्यरत छन् । ती मध्ये ७५ जना स्थायी र अन्य करार तथा ज्यालादारी कर्मचारी हुन् । प्रतिष्ठानका शिक्षाध्यक्ष डा. डबलबहादुर धामीले अदालतको फैसला अनुसार लोक सेवा आयोगसँग परामर्श लिने काम भइरहेको बताए । ‘अदालतले लोक सेवासँग परामर्श गरेर पक्रिया अघि बढाउन भनेको छ । पदाधिकारी मात्र बसेर बढुवा प्रक्रिया अघि बढाउँदा मुद्दाहरु झेल्नुपर्ने भएकाले परामर्श लिने काम भइरहेको छ,’ उनले भने ।
गाेल्डेन बुढा । जुम्ला । २७ कार्तिक २०८१, मंगलवार १६:००