श्यामानन्द बृहत एकल कला प्रदर्शनी आजदेखि नेपालगञ्जमा सुरु

सरला सुवेदी
बाँके, २२ कार्तिक ।
नेपालगञ्जका वरिष्ठ कलाकार श्यामानन्द सिंह ठकुरीद्वारा सिर्जित हस्तकला, मूर्तिकला र चित्रकलासहितको निःशुल्क प्रदर्शनी सुरु हुने भएको छ । “श्यामानन्द बृहत एकल कला प्रदर्शनी’’ विहिबार कार्तिक २२ गतेबाट मंसिर १ गतेसम्म बागेश्वरी मन्दिर पार्क परिसरमा सञ्चालन हुने भएको छ ।

श्यामानन्द कला संस्कृति प्रतिष्ठान, बाँकेद्वारा आयोजित यो प्रदर्शनी हरेक दिन बिहान ७ः३० बजे देखि साँझ ७ बजेसम्म सर्वसाधारणका लागि खुला रहने छ । कलाकार श्यामानन्द सिंह ठकुरीले विभिन्न परित्यक्त सामग्रीहरू जस्तै प्लास्टिक, दफ्ती, कागज, र कोकका बोतलहरूलाई पुनःप्रयोग गरी कलात्मक र आकर्षक हस्तकला सिर्जना गर्नुभएको छ ।

आफ्नो कला संग्राहलय स्थापना गरी कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न उहाँको यो एकल प्रयास प्रशंसनीय रहेको छ । यस प्रदर्शनीमा सहभागी हुन बाँकेका सम्पूर्ण बासिन्दाहरू, विशेष गरी विद्यालयका शिक्षक, विद्यार्थीहरूलाई प्रदर्शनी अवलोकन गर्न र कला तथा कलाकारप्रतिको सम्मान दर्शाउन प्रतिष्ठानका अध्यक्ष सागर सिंह ठकुरीले अपिल गर्नुभएको छ ।

प्रदर्शनीमा ठकुरीद्वारा निर्मित हस्तकला, मूर्तिकला, र चित्रकलाका विभिन्न उत्कृष्ट सिर्जनाहरू राखिएका छन्, जसले खेर गएका वस्तुहरूको सृजनात्मक पुनःप्रयोग र वातावरणीय सन्देशलाई उजागर गर्छ ।

तपाईको प्रतिक्रिया