व्यवसायीले पाएनन् दुई वर्षदेखिको भुक्तानी


राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सामग्री आपूर्ति गरेका व्यवसायीले रकम पाउन सकेका छैनन् । रकम पाउन नसक्दा समस्या भएको उनीहरूको भनाइ छ ।

प्रतिष्ठानबाट रकम पाउन नसक्दा व्यवसायी मारमा परेको रसायन तथा मेडिकल आपूर्ति संघ दाङका अध्यक्ष बालकुमार घर्ती मगरले जानकारी दिए । उनले प्रतिष्ठानलाई सामग्री दिएको ६ करोड ११ लाख रुपैयाँ पाउन नसकेको बताए । एक वर्षभन्दा बढीदेखिको रकम पाउन नसकेको उनको भनाइ छ । उधारोमा आफूहरूले सामग्री नपाउने र जसरी भए पनि प्रतिष्ठानलाई सामग्री उपलब्ध गराउनुपर्ने बाध्यता आफूहरूको रहेको उनले बताए । ‘बैंकबाट ऋण लिएको तिर्न सकिएको छैन । श्रीमतीको गहना बिक्री गरेर समेत सामग्री उपलब्ध गराएको छु,’ उनले भने, ‘हाम्रो समस्याको समाधान कहिले हुन्छ ? हामीले कसरी व्यवसाय सञ्चालन गर्ने ?’ प्रतिष्ठानलाई सामग्री प्रदान गर्नुपर्ने तर रकम पाउन नसक्दा व्यवसाय नै संकटमा परेको व्यवसायी बताउँछन् ।

प्रतिष्ठानलाई औषधि, प्रयोगशालाको सामग्री, एक्सरे सामग्री, सर्जिकल, केमिकल दैनिक आवश्यक पर्ने सामग्री, डाइलासिस सामग्रीलगायत सामग्री उपलब्ध गराएका व्यवसायीले रकम पाउन नसकेको मगरले जानकारी दिए । पटक–पटक रकम माग गरे पनि पाउन नसकेको उनको भनाइ छ । लामो समयदेखि रकम पाउन नसकेपछि रकम माग गर्दै रसायन तथा मेडिकल आपूर्ति संघ दाङ र नेपाल औषधि थोक व्यवसायी संघ दाङले पटकपटक लिखित तथा मौखिक रूपमा जानकारी गराएका थिए । ‘समयमै भुक्तानी हुन नसके हामी प्रक्रियागत रूपमा आन्दोलित हुन बाध्य हुँदै स्वास्थ्य सामग्री उपलब्ध गराउन नसक्ने जानकारी गराउँछौं,’ ज्ञापनपत्रमा भनिएको छ । रकम नपाएपछि बैंकको ब्याज र घर भाडा तिर्न नसकेको व्यवसायीको भनाइ छ । ‘पहिलेको रकम उद्योग तथा डिलरलाई नपठाउँदा सामग्री मगाउनसमेत सकिएको छैन,’ मगरले भने ।

खरिद नियमावली २०६३ अनुसार बिल पेस गरेको ३५ दिनभित्र रकम दिनुपर्ने व्यवस्था रहेको उनी बताउँछन् । तर, व्यवसायीले दुई वर्षसम्म पनि रकम पाउन सकेका छैनन् । सामग्री उपलब्ध नगराएमा व्यवसायीलाई कारबाही गर्ने व्यवस्था भए पनि समयमै भुक्तानी नगर्नेलाई के कारबाही गर्ने भन्नेबारेमा केही उल्लेख नभएको उनको भनाइ छ । ‘हामीले सामग्री उपलब्ध नगराउँदा हामीलाई कारबाही हुन्छ तर रकम लामो समयसम्म नदिनेलाई कुनै कारबाही हुँदैन,’ उनले भने । यस प्रकारको अवस्थाले व्यवसायबाटै पलायन हुने अवस्था आएको मगरको भनाइ छ ।

प्रतिष्ठानले भने बीमा बोर्डबाट रकम नआउँदा व्यवसायीलाई भुक्तानी गर्न समस्या भएको बताएको छ । प्रतिष्ठानमा बोर्डबाट ११ करोड ८६ लाख रुपैयाँ आउन बाँकी रहेको प्रतिष्ठानका रजिष्ट्रार श्याम लम्सालले जानकारी दिए । त्यसैगरी डायलासिस तथा सिकलसेल एनमियाको पाउनुपर्ने रकम २९ लाख ७८ रुपैयाँ पाउन बाँकी छ । प्रतिष्ठानले १२ करोड १५ लाख रुपैयाँ पाउनुपर्ने उनको भनाइ छ । प्रतिष्ठानले भने १३ करोड ४२ लाख रुपैयाँ तिर्न बाँकी छ । ‘बीमा बोर्डबाट रकम नआउँदा व्यवसायीलाई दिन सकिएको छैन,’ उनले भने, ‘प्रतिष्ठानले दायित्व थेग्न नसक्ने अवस्थामा पुगेको छ ।’

बीमा बोर्डले रकम आउने काम जारी रहेको जनाएको छ । बोर्डका जिल्ला संयोजक वसन्त लामिछानेले २०८० साउनदेखि २०८१ असारसम्म ६ करोड ८४ लाख रुपैयाँ आएको बताए । त्यसैगरी २०८१ भदौ १४ गते एक करोड ९९ लाख रुपैयाँ आएको र दशैंअगाडि थप रकम आउने उनले जानकारी दिए । बीमाका लागि कागजपत्र पठाएमा रकम आउने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया