दाङमा ६४ लाखका खसीबोका खरिद


यस वर्ष दशैंको लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले करिब ६४ लाख रुपैंयाँको खसीबोका खरिद गरेको छ । उक्त मूल्यका ३ सय ८६ वटा खसीबोका खरिद गरी काठमाडौं पठाएको हो । जिल्लाका विभिन्न स्थानबाट खसीबोका खरिद गरेर काठमाडौं पठाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय तुलसीपुरका प्रमुख तिलक सुनारले जानकारी दिए ।

व्यापार कम्पनीले ३ सय ४६ वटा खसी र ४० वटा बोका खरिद गरेर पठाएको उनले बताए । ४ सय वटा खरिद गर्ने भनिए पनि ३ सय ८६ वटा खरिद गरेर पठाइएको प्रमुख सुनारले जानकारी दिए । ‘यस वर्ष दशैंका लागि थप खसीबोका खरिद सकिएको छ’ प्रमुख सुनारले भने । दशैंका लागि मात्र व्यापार कम्पनीले किनेको खसीबोका बिक्रीबाट जिल्लामा ६३ लाख ७१ हजार रुपैंयाँ भित्रिएको छ । यो बाहेक व्यापारीहरुले पनि खसीबोका खरिद गरेर पठाउने गरेका छन् ।

हरेक वर्ष व्यापार कम्पनीले खसीबोका खरिद गरेर काठमाडौं पठाउने गरेको छ । यस वर्ष जिल्लामा खसीको मूल्य वृद्धि गरिएको थियो भने बोकाको मूल्य घटाइएको थियो । यस वर्ष जिउँदो खसीको मूल्य प्रति केजी ५६० रुपैयाँ र बोकाको मूल्य जिउँदो प्रति केजी ५४० निर्धारण गरेर खरिद गरिएको हो । सम्रगमा खसीको मूल्य पाँच रुपैयाँ वृद्धि भएको र बोकाको मूल्य दुई रुपैयाँले घटाइएको थियो । अघिल्लो वर्ष किलो अनुसार मूल्य निर्धारण गरिएको थियो ।

यस वर्ष खसी २० देखि ४० केजीसम्म र बोका १८ देखि ३० केजीसम्मका मात्र खरिद गरिएको प्रमुख सुनार बताउँछन् । अघिल्लो वर्ष जिउँदो खसी २५ केजीभन्दा माथिको प्रतिकेजी ५६२ रुपैयाँ प्रतिकेजी तोकिएको थियो । यस्तै खसी २० देखि २५ केजीसम्मको प्रतिकेजी ५४५ रुपैयाँ निर्धारण गरिएको थियो । बोका १८ केजीभन्दा माथि प्रतिकेजी ५४२ रुपैयाँ निर्धारण गरेर खरिद गरिएको थियो । गत वर्ष जिल्लाबाट ७५६ वटा खसी बोका खरिद गरिएको थियो ।

केन्द्रले यस वर्ष चार सय खरिदका लागि परिपत्र गरेको उनले बताए । ‘हामीलाई दिएको कोटा अनुसार हामीले खरिद गर्ने हो,’ प्रमुख सुनारले भने । अघिल्लो वर्ष खरिद गरिएका खसी, बोका बिक्री गर्न समस्या भएको कारण यस वर्ष कोटा घटाएको बताइएको छ । यस वर्ष खसीबोका खरिदका लागि व्यापार कम्पनी आफ्नै कार्यालय तथा गढवागाउँपालिकामा पुगेको थियो । अघिल्ला वर्षमा विभिन्न क्षेत्रमा पुगेर खरिद गर्ने गरिएको उनी बताउँछन् । जिल्लामा व्यावसायिक रूपमा बाख्रापालन गर्ने भएकाले खाद्यले हरेक वर्ष जिल्लाबाट खसीबोका खरिद गर्ने गरेको छ ।

खाद्यले जिल्लाका तुलसीपुर, रिहार, सुनडवरी, बनघुसी लगागतका स्थानबाट खसीबोका खरिद गर्दै आएको थियो । खाद्यलाई खसीबोका खरिद गर्न कुनै समस्या नभएको कार्यालय प्रमुख सुनार बताउँछन् । घर आगनमै गएर खाद्यले खसीबोका खरिद गरिदिँदा कृषकलाई सहजता हुने गरेको कृषकले बताउँदै आएका छन् । खसीबोका बिक्रीका लागि टाढा जान नपर्ने भएकाले आफूहरूलाई सहजता भएको उनीहरूको भनाइ छ । यस प्रकारको कार्यले कृषकलाई प्रोत्साहन गरेको छ ।

सरकारले चाडपर्वको समयमा व्यवसायीबाट मूल्य वृद्धि रोक्नका लागि खसीबोका खरिद गरी छुट दिएर बिक्री गर्दै आएको छ । यसले मासुको मूल्य वृद्धि रोक्न सहयोग पु¥याउँदै आएको छ । जसले नागरिकलाई सहजता हुने सरकारको अपेक्षा छ । दशैँ तिहारमा खसीबोकाको कारोबार धैरै हुने र आफूखुसी मूल्यमा बिक्री वितरण हुने भएकाले सरकारले हरेक वर्ष खसीबोका खरिद गरेर बिक्री गर्ने गरेको छ । चाडपर्वमा बढी मात्रामा मासु खपत हुने भएकाले मूल्य बढाउन नदिनका लागि बजार मूल्य नियन्त्रण गर्न सरकारले नै खरिद गरेर बिक्री गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया