आइतबारदेखि जुम्लामा सुपथ मूल्य पसलबाट चामल वितरण भइरहेको छ । सदरमुकाम खलंगामा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखाबाट वितरण भइरहेको हो ।
नजिकिदै गरेको नेपालीहरुको वडा दसैँ–तिहारलाई लक्षित सुपथ मूल्य पसल संचालनमा ल्याइएको शाखा कार्यालय प्रमुख सन्तोष तिवारीले बताए । सुपथ मूल्य पसल सञ्चालन पश्चात् चामल लिनेको भिड बढ्दो छ । अहिलेसम्म १ सय ७० बढी उपभोक्ताले चामल लिइसकेका थिए । प्रतिव्यक्ति दुई बोरा (५०) केजी दिइने प्रवन्ध मिलाइएको छ ।
उपभोक्ताको पहिचान खुल्ने नेपाली नागरकिताको आधारमा चामल उपलब्ध गराउने मापदण्ड तोकिएको छ । प्रतिकेजी पाँच रुपैयाँ र प्रतिबोरामा १ सय २५ रुपैयाँ छुटमा चामल पाएपछि उपभोक्ता बाक्लो लाइन देखिन्छ । सहुलियत मूल्य पसल सञ्चालन गर्न पाँच हजार क्विन्टल चामल छुट्याइएको हो ।
तिला गाउँपालिकाको जुम्लाकोट डिपो,सिंजा गाउँपालिकाको धाँपा डिपो, तातोपानीको बिक्री केन्द्र पाथरखोला, पातारासीको लुम र हिमाको बाजागाड वितरण केन्द्रका छ । अन्य डिपोमा स्थायी कर्मचारी नहुदा सदरमुकाम शाखाबाट चामल बिक्रीवितरण गर्नुपर्ने बाध्यता छ।चामल बजारमा महंगो छ ।
यता सस्तो भएपछि उपभोक्ताको भिडभाड हुनु स्वभाविक भएको खाद्य व्यवस्था शाखाले जनाएको छ । शर्माले भने, ‘सुपथ मूल्य पसल सञ्चालन आगामी माघ २ गतेसम्म हुनेछ । दसैँ–तिहार अवधिभर जुम्लामा चामल अभाव हुनेछैन ।’ माघ २ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन हुने भएकाले अभाव भएको खण्डमा पनि थप कोटा माग गरिने लेखा अधिकृत लक्ष्मण शर्माले बताए । शर्माका अनुसार ५ हजार क्विन्टल चामल मध्ये आइतबारका दिन मात्रै २ सय ६४ क्विन्टल गएको छ ।
असोज २३ गतेसम्म चामल वितरण गरिनेछ । खाद्य व्यवस्था कार्यालयबाट अहिले स्ट्रिम जिरा मसिनो, अरुवा मोटा र सोना मन्सुली चामल बिक्री भइरहेको शर्माले बताए । सहुलियत मूल्य पसल सञ्चालनपछि छुट दिँदा दुई हजार चार सय पर्ने स्ट्रिम जिरा चामल प्रतिबोरा छुटपछि दुई हजार २ सय ७५ बिक्री भइरहेको छ ।
१ हजार ६ सय ७५ रुपैयाँ पर्ने अरुवा मोटा छुटपछि १ हजार ५ सय ५० र १ हजार ७ सय ५० रुपैयाँ पर्ने सोना मन्सुली छुटपछि १ हजार ६ सय २५ रुपैयाँमा बिक्री भइरहेको छ । यता तातोपानी गाउँपालिका–लितकोटकोट गाउँका स्थानीय रामकृष्ण न्यौपानेले सधैंभरिका लागि सुपथ पसल आवश्यकता रहेको बताए ।
दसैं – तिहारमा मात्रै नभइ निरन्तर हुनुपर्ने बताउँछन् । चामल प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म वितरण भइरहेको छ ।
गाेल्डेन बुढा । जुम्ला । १५ आश्विन २०८१, मंगलवार १५:५१