गएको वैशाखमा रोल्पाको रुन्टीगढी गाउँपालिका–३ का वीरबहादुर घर्ती भनेर चिनिने काले घर्ती मजदुरीका लागि जाजरकोटको थलह गएका थिए । खोटो संकलन गर्ने मजदुरका रूपमा जाजरकोट गएका घर्तीलाई एक्कासि पेट दुख्ने समस्या देखा प¥यो । आइतबार खोटो संकलन गर्न जंगल गएका वीरबहादुरलाई सामान्य पेट दुख्ने समस्या देखा परेको थियो । निरन्तर पेट दुख्ने समस्या बढ्दै गएपछि घर्तीका साथीहरूले डेरामा गएर आराम गर्न सुझाए । साथीहरूको सल्लाहबमोजिम घर्ती डेरामा फर्किए ।
तर, पेट दुख्ने समस्या ठीक भएन । पेट दुखेर असह्य पीडा हुन थालेपछि घर्तीलाई धामीझाँक्रीकहाँ उपचार गरियो । तर, झन् समस्या बढ्दै गयो । घरेलु विधिबाट निको नभएपछि घर्तीलाई छेडागाड नगर अस्पताल जाजरेकाट पु¥याइएको थियो । छेडागाड नगर अस्पतालमा आवश्यक जाँच गराउँदा उपचार सम्भव नहुने देखिएपछि उनलाई नेपालगन्ज लैजान सुझाइयो । अस्पतालले उपचार सम्भव नहुने भनेपछि सोमबार घर्ती उपचारका लागि लुम्बिनी प्रदेशको राजधानी दाङको यात्रामा निस्किए । उपचारमा संलग्न स्वास्थ्यकर्मीका अनुसार घर्तीमा भएको समस्या आन्द्रा बटारिए वा भित्री चोटका कारण हुन सक्ने भन्दै दुखाइ कम गर्ने सुई लगाएर तत्काल नेपालगञ्ज लैजान सुझाइएको थियो ।
दाङमा आफ्ना आफन्त भएकाले उपचार गर्न सहज हुने अपेक्षासहित घर्ती जाजरकोटबाट दाङ जाने गाडी चढेका थिए । अस्पतालले दिएको दुखाइ कम हुने सुई लगाएर पीडा अलि कम भएको थियो । उनी फोर्स गाडीको अन्तिम सिटमा बसेका थिए । असह्य पीडा बोकेर अस्पताल यात्रा गरिरहेका घर्ती सवार गाडी सल्यानको धारापानी आइपुग्यो । खाल्डाखुल्डी परेको बाटोका कारण गाडी हल्लिएर एक्कासि सहनै नसक्ने गरी समस्या बल्झियो । पीडा सहन नसकेका घर्तीले सोही ठाउँमा प्राणत्याग गरे । अन्ततः उनको अस्पताल यात्रा त्यहीँबाट टुङ्गियो । घर्तीको मृत्युमा सुविधासम्पन्न अस्पताल नहुँदा समयमै उपचार नपाउनु एकातिर छँदै छ, अर्कोतर्फ ज्यानमारा सडक पनि जोडिएका छन् । स्तरोन्नतिको अभावमा जताततै खाल्डाखुल्डी परेका उफार्ने सडक पनि घर्तीको मृत्यका कारण हुन् ।
रुन्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुनका अनुसार घर्तीकी श्रीमतीको चार÷पाँच वर्षअघि निधन भइसकेको छ । घर्तीका दुई छोरा र एक छोरी छन् । जेठो छोरा रोजगारीका लागि दुबईमा छन् भने कान्छा छोरा काठमाडौं बस्दै आएका छन् । घर्तीकी १५ वर्षीया छोरी घरमा बस्दै आएकी छन् । अध्यक्ष पुनले रोजगारीका सिलसिलामा जाजरकोट गएको र उपचार गर्न फर्कंदै गर्दा बाटोमै उनको मृत्यु भएको जानकारी दिए । पुनका अनुसार वीरबहादुर छ महिनाअघि मजदुरीका लागि जाजरकोट गएका थिए । ‘रोजगारीका लागि जाजरकोट पुगेका रुन्टीगढी गाउँपालिका– ३, जुरका वीरबहादुर घर्ती भनेर चिनिने काले घर्तीको यात्रारत अवस्थामै दुःखद निधन भएको हो,’ अध्यक्ष पुनले भने ।
घर्तीको शव पोस्टमार्टमका लागि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा राखिएको छ । घर्तीका कान्छा छोरा काठमाडौंबाट हिँडेका छन् । उनी आएपछि पोस्टमार्टमको प्रक्रिया अगाडि बढ्नेछ । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण ठाउँठाउँमा आएको पहिरोले सडक अवरुद्ध भएपछि घर्तीका छोरा बाटोमै अलपत्र परेका छन् । उपचारमा ढिलाइ हुँदा अनाहकमै मृत्युवरण गरेका घर्ती अपवाद मात्रै हुन् । कर्णालीमा अझै पनि गुणस्तरीय र सुविधासम्पन्न अस्पताल नहुँदा बिरामीहरूले बाटोमै ज्यान गुमाउँछन् । कतिपय बिरामीले त अस्पताल नदेखेरै मृत्युवरण गर्नुपर्ने बाध्यता कर्णालीमा छ । राज्यले यसतर्फ ध्यान पु¥याउनै नसकेको नागरिकको गुनासो छ ।
युग संवाददाता । सुर्खेत । १५ आश्विन २०८१, मंगलवार १४:११