जुम्ला चन्दननाथ नगरपालिका–८ निवासी स्याउ किसान धर्मसिंह कठायतले यस वर्ष आफूले साढे ६ लाख रुपैयाँ नगद स्याउबाट आम्दानी गरेको बताए । उनले यस वर्ष स्याउ उत्पादन र बजारीकरण राम्रो भएकाले खुसी पनि व्यक्त गरे ।
उनले झन्डै पाँच सय कार्टोन स्याउ बिक्री गरे । धर्मसिंह जस्तै सयौँ किसानले लाखौँ रुपैयाँ आम्दानी गरिरहेका छन् । कार्यालयले ७९१ जना व्यापारीले स्याउ ढुवानी गर्न नाम दर्ता गरेका थिए । स्याउबाटै १० लाखसम्म आम्दानी गर्ने किसान पनि रहेका कृषि विकास कार्यालयले जनाएको छ ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा पाँच हजार ८६२ टन स्याउ निर्यात गरेको छ । कार्यालयले वार्षिक समीक्षा कार्यक्रम राखेर स्याउ निर्यातको प्रतिवेदनसमेत सार्वजनिक गरेको छ । कार्यालयले आव २०८०/८१ को प्रगति र आव २०८१/८२ को कार्यक्रमका विषयमा सार्वजनीकरण कार्यक्रम सम्पन्न गरेको हो । कार्यालयल गरेको समीक्षामा ढुवानीबाट पाँच हजार ५५० मेट्रिक टन, हवाई जहाजबाट २४ मेट्रिक टन, हाइस र जिपबाट २५८ मेट्रिक टन, बसबाट सिधै जुम्ला–काठमाण्डौँ ३० टन स्याउ पठाइएको छ । यो तथ्याङ्क अनुसार स्याउबाट मात्रै ४३ दिनमा जुम्लाले ३८ करोड १० लाख ३० हजार आम्दानी गरेको छ ।
जिल्ला कृषि विकास कार्यालयका बागवानी अधिकृत राज्यलक्ष्मी खत्रीका अनुसार यस वर्ष १५ हजार मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान रहेको छ । उनका अनुसार स्थानीय स्याउ पाँच हजार ८६२ मेट्रिक टन २०८१ साउन २९ देखि २०८१ असोज ८ गतेसम्मको हो ।
गुठीचौर गाउँपालिका–४ का गोविन्दप्रसाद पाण्डे र मित्रप्रसाद अधिकारीले संयुक्त रूपमा ११ गाडी बिक्री गरेका छन् । सात गाडी कैलाली टीकापुरमा र तीन गाडी सुर्खेतमा बिक्री गरेका हुन् । एक गाडी स्याउ करिब आठदेखि १० लाखमा बिक्री गरेका हुन् । स्याउ सिजनमा सानोतिनो आम्दानी नभएको घर करिब कमै रहेको छ । स्याउ रोपेका हरेक घरले यसबेला १० हजार देखि १० लाखसम्मको आम्दानी गर्ने गरेका छन् । कृषि विकास कार्यालय जुम्लाका अनुसार जनगणना २०७८ अनुसार एक लाख १९ हजार ३७७ जुम्लाको जनसङ्ख्या छ । ३८ हजार ४८६ हेक्टर खेतीयोग्य जमिनमा दुई हजार ६६७ हेक्टर स्याउ रहेको छ ।
स्याउ किसान गोपाल रोकायाले किसानलाई आएका कार्यक्रमहरू फ्रिज नजाने गरी काम गर्न सुझाव दिए । उनले स्थानीय तहले पनि कृषि क्षेत्रमा बजेट प्राथमिकता दिनुपर्ने बताए । जिल्ला समन्वय अधिकारी सङ्गीता धितालले आफू पनि कृषि क्षेत्रमा आएका कारण चासो राखेको बताउँदै आगामी दिनमा राम्रो गर्नका लागि कदम चाल्नुपर्ने बताए ।
युग संवाददाता । जुम्ला । १५ आश्विन २०८१, मंगलवार १२:२८