बैतडी–काठमाडौं बस सञ्चालनको माग,गृहमन्त्रीलाई ध्यानाकर्षण


दुई वर्षदेखि बन्द रहेको बैतडी–काठमाडौं बस सेवा पुनः सञ्चालनको माग गरिएको छ । नेपाल विद्यार्थी संघले बैतडी–काठमाडौं सिधा बस सेवा सञ्चालन गर्न माग गरेको हो ।

दशैँ तिहारलाई लक्षित गरेर बस सेवा सञ्चालन गर्नुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रीलाई ध्यानाकर्षण गराइएको छ । नेविसंघका जिल्ला उपाध्यक्ष अमरबहादुर टेरको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मामार्फत गृहमन्त्रीलाई ज्ञापन पत्रमार्फत ध्यानाकर्षण गराइएको हो ।

दशैँको समयमा काठमाडौंमा अध्ययनरत विद्यार्थीहरू जिल्ला फर्कने भएपनि बस सेवा नहुँदा समस्या भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । विद्यार्थीहरूको समस्यालाई ध्यानमा राखेर आफूहरूले ज्ञापनपत्र मार्फत गृहमन्त्री ध्यानाकर्षण गराएको उपाध्यक्ष टेरले बताए ।

दशैँको समयमा काठमाडौंबाट बैतडी फर्कने विद्यार्थीहरूले यातायातका साधनको समस्या झेल्न नपरोस भन्ने आफूहरूको माग रहेको उनले बताए । विद्यार्थीमात्रै नभएर काठमाडौंबाट बैतडी फर्कने अन्य यात्रुहरूलाई समेत समस्या भएकोले यो बिषयमा सरोकारवालाहरूको ध्यान जानु आवश्यक रहेको उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी शर्माले प्राप्त ज्ञापनपत्र गृहमन्त्रालय पठाइसकेको बताए । उनले भने,’ज्ञापनपत्रमा माग गरिअनुसार नै गृहमन्त्रालयलाई पठाइकेका छौ । माग सम्बोधन हुन्छ होला ।’

महाकाली यातायात बहुउद्देश्यीय कम्पनी प्रालिले वि स २०७३ असोजदेखि पहिलोपटक बैतडी–काठमाडौं एसी बस सेवा सुरु गरेको छ । छ वर्षपछि यात्रु अभावमा बस सेवा बन्द भएको थियो । वि स २०७९ मंसिरदेखि बन्द रहेको बस सेवा हालसम्म पनि सञ्चालन हुन सकेको छैन् ।

यता बस सेवा पुनः सञ्चालन गर्न भने तत्काल सम्भव नरहेको यातायात व्यवशायीले जनाएका छन् । महाकाली यातायात बहुउद्देश्यीय कम्पनी प्रालिका उपाध्यक्ष विष्णु कडेँलका अनुसार यात्रु नपाउँदा सेवा बन्द भएको हो । उनले भने,’ यात्रु नपाएर छ वर्ष सञ्चालन भएको बस सेवा बन्द भएको हो । पुनः सञ्चालनका लागि सम्भव छैन ।’

यात्रुहरूको मर्कालाई ध्यानमा राखेर बस सेवा गरेको भएपनि पछि गएर यात्रु नै पाइन छोडेपछि सेवा बन्द भएको उनले बताए । दशैँ तिहारलाई मात्रै लक्षित गरेर बस सेवा सञ्चालन गर्नका लागि पनि अन्य रूटमै बस जान रूचाउने भएकोले यहाँ सम्भव हुदैन् । उनले भने,’ बैतडी–काठमाडौं बस सेवा पुनः सञ्चालनका लागि सूचना आह्वान गर्छाै,तर यात्रु नै नपाइने समस्या रहेकोले सम्भव हुन मुस्किल छ ।’

तपाईको प्रतिक्रिया