१३२ केभी कोहलपुर–सुर्खेत–दैलेख प्रशारण लाइन

अदालतबाट सुल्झियो विवाद निकुञ्जमा रुख कटान तिव्र


बहुप्रतिक्षित १३२ केभी कोहलपुर–सुर्खेत प्रसारण लाइनको बाँके क्षेत्रमा देखिएको विवाद अदालतले सुल्झाएको छ । विद्युत लाइन प्रशारणको सुरुवाती बिन्दु बाँकेको बाँनियाभार क्षेत्रको विवाद अदालत पुगेको थियो । टावर निर्माण गर्ने क्षेत्रमा जग्गा अधिकरणको विषयमा विवाद बढेपछि स्थानीयले उचित मुआब्जाको माग राख्दै गत ३२ जेठ २०८१ मा उच्च अदालत तुलसीपुर इजलास नेपालगञ्जमा रिट दर्ता गरेका थिए । अदालतका न्यायाधीसद्वय पुनम सिंह चन्द र श्यामजी प्रधानको संयुक्त इजलासले माग दावी पुग्न नसक्ने भन्दै रिट निवेदन खारेज भएको उच्च अदालत तुलसीपुर इजलास नेपालगञ्जका निमित्त रजिष्ट्रार सरोजनिधि वाग्लेले जानकारी दिए ।

उनकाअनुसार रिट अदालतले खारेज गरेपछि विद्युत प्रशारण लाइन निर्माणको काममा अवरोध गर्न मिल्ने छैन् । बाँकेको बैजनाथ गाउँपालिका–१ को गाभरमा पाँच र ४ नम्बर वडाको बाँनियाभार क्षेत्रमा तीन वटा टावर निर्माण गर्नुपर्नेछ । विद्युत पोलको फाण्डेसन निर्माणमा स्थानीयले लामो समयदेखि अवरोध गर्दै आएका छन् । अदालतले नै विवाद किनारा लगाइदिएपछि निर्माण प्रक्रिया सुरु गर्ने तयारी गरिरहेको कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाका प्रमुख रवि चौधरी बताउँछन् । अदालतले रिट खारेज गरेकाले पूर्णपाठको पर्खाइमा आफूहरु रहेको प्रमुख चौधरीले बताए । ‘दशैंपछि पूर्णपाठ अदालतबाट उपलब्ध हुने भएकाले त्यो बेलासम्म थप काम अघि बढाउँदैनौं,’ चौधरी भन्छन्, ‘विवाद अदालतले सुल्झाइ दिएको छ यद्यपी फैसलामा के समावेश छ हेरर हामी अघि बढ्छौं ।’

सुख्खा महिनामा विद्युतको लो भोल्टेजले वर्षौदेखि कर्णालीका नागरिक आजित छन् । प्रयाप्त विद्युतको भोल्टेज नआउँदा गर्मी सिजनमा नागरिकका पंखा नचल्दा सास्ती मात्रै व्यहोरेका छैनन्, उद्योग स्थापना गरेर आम्दानी गर्ने सोचमा रहेका व्यवसायीहरुले उद्योग नै सञ्चालन गर्न सकिरहेका छैनन् । वर्षौंदेखि कोहलपुर–सुर्खेत १३२ केभी विद्युतको प्रशारण लाइन निर्माणको कामले अपेक्षाकृत गति नलिँदा कर्णालीबासीमा झनै निराशा छाएको थियो । स्व. राजा वीरेन्द्रको ठाडो आदेशमा २०४५ सालमा नेपाल विद्युत प्राधिकरणले सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरमा विद्युत लाइन विस्तार गरेको थिए । ३६ वर्ष पहिला निर्माण गरेको पुरानै विद्युतका संरचनाले सुर्खेत मात्रै हैइन विद्युत विस्तार भएका कर्णालीका अन्य जिल्लाका नागरिकहरुले लो भोल्टेजको समस्या झेलिरहेका छन् ।

निकुञ्जमा रुख कटान र फाउण्डेशन निर्माण सुरु
२२ असार २०७६ बाट कोहलपुर–सुर्खेतको १३२ केभी विद्युत प्रशारण लाईन निर्माणका लागि सम्झौता गरिएको थियो । भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टले यो आयोजना निर्माणको जिम्मा पाएको छ । विवाद नभएको भए यो आयोजना सम्झौता मितिदेखि दुई वर्ष अर्थात् २३ असार २०७८ मै सम्पन्न भइसक्नु पर्ने हो ।
बर्दिया राष्ट्रिय निकुञ्ज र बाँकेको बाँनियाभार क्षेत्रमा देखिएको विवादका कारण १३२ केभीको लाइन थप तीन वर्ष धकेलिएको हो । विवाद नभएको क्षेत्र हर्रे–छिन्चु–वीरेन्द्रनगर प्रशारण लाइनको टावर निर्माणदेखि तार तान्ने काम एक वर्षअघि नै सम्पन्न भइसकेको छ ।

वीरेन्द्रनगरको सुब्बाकुनामा सव स्टेशन निर्माणको काम ८० प्रतिशत सकिएको छ । मुख्य विवाद देखिएको बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा रुख कटानको अनुमति पाए लगत्तै अहिले रुख कटान सुरु गरिएको छ । बाँकेको चिसापानी र देउराली बाँके राष्ट्रिय निकुञ्ज तथा बर्दियाको बाँसगढी नगरपालिका–१ चेपाङ (बबई) र सुर्खेतको हर्रे क्षेत्रको प्रशारण लाइन बर्दिया राष्ट्रिय निकुञ्जमा पर्दछ ।

निकुञ्ज क्षेत्रका ६ हजार सात सय साना ठूला रुख कटानका लागि आइतबारदेखि काम सुरु गरिएको प्रमुख चौधरीले बताए । यी रुख काट्न कम्तिमा तीन महिना लाग्नेछ । यो क्षेत्रमा मात्रै ७० टावर निर्माण गर्नुपर्नेछ । अहिलेसम्म खाली क्षेत्रमा ५० बढी टावरको फाउन्डेशन तयार गरिसकिएको छ । ‘रुख कटानसँगै टावरको बाँकी काम पनि सँगसँगै अघि बढाइरहेका छौं,’ चौधरी भन्छन्, ‘चैत महिनासम्म सबै काम सकेर वीरेन्द्रनगरको सुब्बाकुनामा रहेको सव स्टेशनमा विद्युत चार्ज गर्ने लक्ष्यका साथ लागिरहेका छौं ।’

५२ किलोमिटर कोहलपुर–सुर्खेत प्रसारण लाइनमा एक सय ६१ वटा टावर निर्माण गर्नुपर्ने छ । अधिकांश टावरको फाउण्डेशन निर्माण गरिसकिएको छ । सुर्खेत खण्डको हर्रे–छिन्चु–वीरेन्द्रनगर खण्डमा टावर निर्माणसँगै तार तानेर सकिएको छ । सुब्बाकुना सव स्टेशन भित्र ल्याउन लागिएको तार तान्न स्थानीयले नदिएको आयोजनाले जनाएको छ । भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले निर्माण जिम्मा पाएको आयोजना कुल लागत ७० करोड रहेको छ ।

सुर्खेत–दैलेख प्रसारणको काम आरम्भ
कोहलपुर–सुर्खेत–दैलेख १३२ प्रसारण लाइन र सुर्खेत तथा दैलेखमा मा १३२/३३/११ केभी सबस्टेसन निर्माण सम्पन्न भएपछि कर्णाली क्षेत्रको विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुने प्राधिकरणको विश्वास छ । कर्णालीका सुर्खेत–दैलेख हुँदै जुम्लासम्म विद्युत आपूर्तिलाई भरपर्दो गुणस्तरीय बनाउन यो आयोजना अगाडि सारिएको हो ।

त्यस्तै, भेरी, बबई र कर्णाली नदी बेसीनमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न १३२ केभी आयोजना नै उपयोग गरिने छ । सोही बमोजिम सुर्खेत–दैलेख प्रसारण लाइन निर्माणको काम पनि अगाडि बढेको छ । सुर्खेतबाट दैलेखको चुप्रासम्म विद्युतको प्रशारण लाइन विस्तारका लागि सिम्नाकन÷एमएसपीएल जेभीसँग आयोजनाले सम्झौता गरिसकेको छ ।

टावर निर्माण पूर्व सर्बे, माटो परीक्षण र टावर डिजाइनको काम सकिएको छ । सुर्खेतबाट दैलेखको चुप्रा बजारदेखि उत्तरमा रहेको सव स्टेशनसम्मको प्रसारण लाइनकोे दुरी ३० किलोमिटर छ । सव स्टेशनसम्म विद्युत सरदर ३० मिटरसम्मका एक सय एक वटा हाइटेन्सन टावर निर्माण गरिनेछ । ७० करोड रुपैयाँ लागत रहेको यो आयोजनामा अहिलेसम्म कुनै विवाद देखिएको छैन । सम्झौता मितिदेखि दुई बर्षमा दैलेखको चुप्रामा विद्युत चार्ज गर्ने लक्ष्य छ । अहिले चुप्रामा सब स्टेशन निर्माणको जिम्मा महाविर श्री इन्टरनेश्नल प्रालि काठमाडौंले लिएको छ । दशैं लगत्तै सवस्टेशनको कामले गति लिने आयोजना प्रमुख चौधरी बताउँछन् ।

तपाईको प्रतिक्रिया