खेलकुदको कुम्भमेला मानिने राष्ट्रिय खेलकुद प्रतियोगिताको दशौं संस्करण कर्णाली प्रदेशमा आयोजना हुन लागेको छ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनको अवसर पाउनु कर्णालीका लागि आफैमा गौरवको विषय हो । राष्ट्रियस्तरका ठुला खेलकुद गतिविधि सञ्चान गर्ने अवसर नपाएको कर्णालीका लागि प्रतियोगिता क्षमता प्रदर्शन गर्ने अवसर पनि हो । यो प्रतियोगिता आयोजना गरेर विकासमा पछाडी पारिएको कर्णालीले पनि राष्ट्रलाई योगदान दिन सक्छ भन्ने तथ्यको उजागर गर्ने अवसरका रुपमा यसलाई लिन सकिन्छ । तर ठुला खेल पूर्वाधार अभाव रहेको कर्णालीका लागि यो विषय अवसरसँगै ठुलो चुनौतीको विषय भने हो । प्रतियोगिताका लागि तय भएको मिति आउन अब ५१ दिन मात्रै बाँकी छ । आगामी मंसिर २ देखि ९ गतेसम्म कर्णालीमा प्रतियोगिता सञ्चालन गर्ने तयारी छ । तर तोकिएकै समयमा खेलकुद हुने वा नहुने विषयमा भने अन्यौलता सिर्जना भइरहेको छ ।
खेलकुदको मुख्य आयोजक संघीय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले तोकेकै मितिमा खेलकुद प्रतियोगिता सञ्चालन गर्न नसकिने अभिव्यक्ति दिँदै आएका छन् । प्रतियोगिता सञ्चालन हुने मुख्य पूर्वाधार प्रदेश रंगशाला निर्माणको काम सम्पन्न नभएको तथा बास व्यवस्थापनको विषय उठाएर मन्त्री चौधरीले तोकिएकै मितिमा प्रतियोगिता सञ्चालन गर्न नसकिने बताउँदै आएका छन् । कर्णाली प्रदेश सरकारको रिपोटिङ्गका आधारमा संघीय सरकारले पूर्वाधारलाई कारण देखाउँदै प्रतियोगिताको मिति नै सार्ने तयारी गरेको छ । तर कर्णाली खेलकुद विकास परिषद् भने मन्त्री चौधरीले भने अनुसार पूर्वाधार र बास व्यवस्थापनलाई लिएर प्रतियोगिता सार्नुपर्ने कुनै कारण नरहेको दावी गर्दै आएको छ ।
प्रतियोगिता आयोजना गर्ने तालुकदार मन्त्रालय र खेलकुद विकास परिषद्को बिचको यो मदभेदले कतै दशौं खेलकुद प्रतियोगितालाई राजनीतिक मुद्दा बनाउन त खोजिएको होइन भन्ने प्रश्नहरु उब्जन थालेका छन् । प्रतियोगिता आउन ५० दिन मात्रै बाँकी रहदा रंगशालाको काम सम्पन्न भएको छैन । अब चाडपर्वको समय सुरु भएकाले निर्माण र व्यवस्थापनको काम प्रभावित हुने देखिन्छ । जसले गर्दा पनि प्रतियोगिता तोकिएको समयमा हुने वा नहुनेमा अन्योल कायमै छ । दुई वर्षअघि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशको पोखरामा सम्पन्न भएको थियो । प्रतियोगिता सम्पन्न भएसँगै दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने जिम्मा कर्णालीले लिएको थियो । प्रतियोगिता गर्ने जिम्मा लिएसँगै प्रदेश गौरवको आयोजनाका रूपमा लिइएको वीरेन्द्रनगर नगरपालिका–८, सुर्खेतमा बन्दै गरेको रंगशालाको काम अन्तिम चरणमा रहेको दावी गरिँदै आएको छ । निर्माण कम्पनीले म्याद थप गर्दा पनि तोकिएको समयमा रंगशाला निर्माणको काम सम्पन्न हुनेमा संका छ । तोकिएको समयमा सम्पन्न नभएपछि थप गरिएको समयमा पनि काम सम्पन्न हुन सकेको छैन ।
सरकारले चाहेमा निर्धारित समय मंसिरमै प्रतियोगिता गर्न सक्छ । मन्त्री चौधरीले खेल पूर्वाधार पूर्ण नभएपनि आवसामा उठाएको प्रश्न भने गलत छ । प्रतियोगितामा सहभागिता जनाउन आउने खेलाडी तथा पाहुनालाई राख्नका लागि आवासको अभाव छ भन्नु आफैमा हल्ला फैलाउने काम हो । कर्णालीले दशौं राष्ट्रिय प्रतियोगितामा दुई अंकको पदक लिनेगरी तयारी गरिरहेको छ । कर्णालीको खेलकुद विकासको जिम्मेवारी पाएको खेलकुद विकास परिषद्ले प्रतियोगिता आयोजना गर्न कुनै पनि समस्या नभएको बताइरहदा प्रदेश सरकार र मुख्य आयोजक संघीय सरकारको अग्रसरता नदेखिनु दुखद् पक्ष हो । यो अरु नभई विशुद्ध राजनीतिक खेल हो । सरकारले चाहने हो भने प्रदेश रंगशालाको कामलाई युद्धस्तरमा अगाडि बढाएर सम्पन्न गराउन सक्छ । प्रतियोगिता सञ्चालनको जस अरुलाई नै जान्छ भनेर लगभग तयारी पुरा भएको अवस्थामा प्रदेश र संघ सरकार जिम्मेवारीबाट पन्छिन खोजेका हुन् भन्दा फरक नपर्ला । यसले सिङ्गो कर्णालीको खेल क्षेत्रमा निराशा बढाएको छ । लामो समयदेखि तयारीमा रहेका खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्न नपाइने हो कि भन्ने चिन्तामा पारेर गरिने कुनै पनि निर्णय स्वीकार्य हुँदैनन् । कर्णालीका लागि पहिलो पटक जुरेको अवसरलाई गुम्न नदिएर समयमै प्रतियोगिता सञ्चालन गर्नतर्फ सरकारले ध्यान दिन आवश्यक छ । होइन भने कर्णालीको क्षमतामाथी हुँदै नभएको प्रश्न उठाएर प्रतियोगितालाई गिजोल्ने राजनीति बन्द गर ।
युग संवाददाता । सुर्खेत । १५ आश्विन २०८१, मंगलवार १०:५०