सुन्दर नेपाल संस्थाको २८ औं बार्षि साधारणसभा तथा १० औं अधिवेशन शुक्रबार सम्पन्न भएको छ । आफ्नो स्थापना कालदेखी नै कृषि, स्वास्थ्य, शिक्षा, वन वातावरण, नविकरणीय उर्जा, खानेपानी तथा सरसफाई, संस्थागत सुशासन, जलवायू अनुकुलन र विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापनको क्षेत्रमा विभिन्न कार्यक्रमहरु संञ्चालन गर्दै आइरहेको छ ।
हाल ८८ जना समावेशी सदस्य रहेको यस संस्थामा ४० जना नियमित कर्मचारीहरु मार्फत ३३ हजार ९ सय १० लाभान्वित घरधुरीमा आफ्नो सेवा प्रवाह गरेको जनाइएको छ । सुर्खेत जिल्लाको विद्यापुरमा सानो समूहबाट कार्य संचालन गरेको यस संस्थाको हाल नेपालका २२ जिल्लामा आफ्नो कार्यक्षेत्र विस्तार गर्न सफल भएको छ ।
संस्थाले गत आर्थिक वर्षमा विभिन्न कार्यक्रमका लागि तीन करोड उनासी लाख पाँच हजार आठ सय तेह्र रुपैया मात्र खर्च गरेको छ भने आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि बाह्र करोड बयानब्बे लाख आठ हजार नौ सय नौ रुपैया बराबरको प्रस्तावित बजेट साधारण सभाबाट पारित गरेको छ । कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभा सम्पन्न भएको छ ।
त्यसैगरी गुर्भाकोट नगरपालिकाका उप प्रमुख मैना विकले सुन्दर नेपाल संस्थाले गुर्भाकोट नगरपालिकामा विगत ७ वर्ष देखीनै साझेदारीमा काम गर्दै आइरहेको र पालिकाको विकासमा महत्वपूर्ण योगदान पु¥याएको कुरा व्यक्त गरेका थिए । त्यसैगरी संस्थाका प्रमुख सल्लाहकार डा.बुद्धि प्रसाद सापकोटाले सुन्दर नेपाल संस्थाले विगत देखीको शाखलाई थप उचो राख्न नयाँ आउने कार्यसमिति, साधारण सदस्य र कर्मचारीलाई हौसला दिएका थिए ।
त्यसैगरी साधारण सभाबाट आगामी तीन बर्षको लागि २ जना पछि मनोनित गर्ने गरी नयाँ कार्यसमिति छनांैट भएको छ । सस्थाकाे अध्यक्षमा माया कुमारी सापकोटा, उपाध्यक्षमा हिरामणि पौड्याल, सचिवमा उमा कुमारी भट्टराई, सह–सचिवमा लिला गुरुङ, कोषाध्यक्षमा लाल बहादुर खत्री चयन भएका छन् भने सदस्यहरुमा बिमला बुढा र लक्ष्मी कुमारी भूषाल चयन भएका छन् ।
साधारणसभा अध्यक्ष हेम प्रकाश भूषालको अध्यक्षतामा भएको थियो भने सभामा विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, रेडक्रस, उद्योग बाणिज्य संघ, गैसस महासंघ सुर्खेत लगायत सुर्खेत जिल्लामा सकृय गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको संचालन संस्थाका कार्यकारी निर्देशक भूपेन्द्र प्रसाद कँडेलले गरेका थिए । सोही अवसरमा नरेश थापा उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित भएका थिए ।
युग संवाददाता । सुर्खेत । २८ भाद्र २०८१, शुक्रबार १९:१३